Tuesday, October 23, 2018
Home > breaking > विपन्न परिवारका लागि घर निर्माण शुरु

विपन्न परिवारका लागि घर निर्माण शुरु

झापा, असार २९ ।
झापाको कनकाई नगरपालिकाका विपन्न १५ परिवारका लागि घर निर्माण कार्य शुरु भएको छ ।
कनकाई नगरपालिकाको ‘प्रमुख आवास कार्यक्रम’ अन्तर्गत कनकाई– ७ रेडक्रस टोलका १५ विपन्न परिवारका लागि रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु भएको हो ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमकाबीच घर निर्माण कार्यको शिलान्यास गर्नुभयो ।

प्रमुख आवास कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाको रू २५ लाख, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको रू १४ लाख र नगरप्रमुख पोखरेलको व्यक्तिगत रू दुई लाख गरी रू ४१ लाखको लागतमा घर निर्माण कार्य शुरु गरिएको हो ।

नगर क्षेत्रमा २०५० साल अघिदेखि बसोवास गर्दै घरबारविहीनलाई प्रमुख आवास कार्यक्रम अन्तर्गत घर निर्माण गरी प्रदान गरिने नगरप्रमुख पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाको नौ वटै वडामा त्यस्ता परिवारको पहिचान गर्न प्रतिनिधि खटाइएको छ ।”

यो कार्यक्रमका लागि आर्थिक वर्ष २०७५/७६ मा समेत नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ । यो कार्यक्रममा सहयोग गर्न चाहने अन्य सामाजिक संघसंस्थालाई पनि सहभागी गराइने र नगरभित्र सुकुम्बासी र घरवारविहीन रहेसम्म कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

यो वर्ष कनकाई– ७ मा तीन कठ्ठा जमिनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडाध्यक्ष लीला कन्दङ्वाले बताउनुभयो । ‘निर्वाचनताका गरिएका बाचा पूरा गर्ने अभियान हो यो’, उहाँले भन्नुभयो, “नगरपालिकामा अब कुनै पनि परिवार घरबारविहीन भएर बस्नुपर्ने छैन ।” रासस

%d bloggers like this: