Saturday, November 17, 2018
Home > breaking > स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री थापा

स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ : मन्त्री थापा

भक्तपुर, भदौ २६ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

सोमबार चाँगुनारायण नगरपालिका नगरस्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिले आयोजना गरेको नगरस्तरीय बाल प्रतिभा प्रस्फुटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “स्थानीय सरकारलाई जति बलियो र जनताप्रति जवाफदेही बनाउन सक्यो, त्यति नै लोकतान्त्रिक गणतन्त्रको जग बलियो हुन्छ ।”

जनताको अत्यन्तै नजिक रहेर काम गर्ने सरकारका रुपमा स्थानीय सरकार रहेको चर्चा गर्दै उहाँले लामो समय जनप्रतिनिधि नभएका कारण मौलाउँदै गएको अराजकता, विकृति, विसङ्गति स्थानीय सरकारमा अझै रहेको बताउनुभयो । देशमा बढ्दो महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा बढ्दो हिंसा एवं बलात्कारका घटना रोक्न स्थानीय सरकारले संयन्त्र बनाएर सक्रिय हुनुपर्नेमा मन्त्री थापाले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रजिअ नारायण भट्टलगायतले बालबालिकाको संरक्षण, उनीहरुको हक अधिकारका लागि नगरपालिकाले कार्यक्रमहरु सञ्चालन गर्नु सकारात्मक रहेको चर्चा गर्नुभयो । कार्यक्रममा बालबालिकाले कविता, गीत तथा नृत्य प्रदर्शन गरेका थिए । रासस

%d bloggers like this: