Saturday, November 17, 2018
Home > breaking > अधिकारको खोजी गर्न मुख्यमन्त्रीको भेला :मुख्यमन्त्री गुरुङ

अधिकारको खोजी गर्न मुख्यमन्त्रीको भेला :मुख्यमन्त्री गुरुङ

पर्वत, भदौ २६ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय सरकारसँग अधिकार माग्नका लागि मुख्यमन्त्रीहरु एकजुट भएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पर्वतले यहाँ सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पोखरामा हालै भएको ७ वटै प्रदेशका मुख्यमन्त्रीको भेला सङ्घीय सरकारविरुद्ध मोर्चाबन्दी गर्न नभई अधिकारको खोजीका लागि भएको हो ।”

मुख्यमन्त्री गुरुङले भेला भएर अधिकारको खोजी गर्दा त्यसलाई मोर्चाबन्दी भएको भन्नु उपयुक्त होइन भन्दै प्रदेश सकारका लागि आवश्यक कानून, कर्मचारीलगायतका विषय सङ्घीय सरकारले अहिलेसम्म दिन नसकेका कारण हामीलाई काम गर्न कठिनाइ भएको बताउनुभयो ।

“प्रदेशलाई दिनुपर्ने अधिकार र संरचनाहरु छिटो देउ, काम गर्ने वातावरण बनाउनुप¥योभन्दा कसरी मोर्चाबन्दी हुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक कर्मचारी र संरचनाको अभावमा प्रदेश सरकारले काम गर्न नसकेको र यस कार्यमा सङ्घीय सरकार अनुदार बनिदिदाँ समस्या झन जटिल बनेको गएको छ ।”

मुख्यमन्त्री गुरुङले प्रदेशका लागि आवश्यक कर्मचारी पठाउने, आर्थिक स्रोतको बाँडफाँट गर्ने र प्रदेशका लागि अधिकार प्रत्यायोजन गर्ने सङ्घीय कानून संशोधनमा ढिलाइ गरेर सङ्घीय सरकार अनुदार बनेको धारणा व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले काम गर्न थालेको पाँच महीना मात्रै भएकाले अहिले नै परिणाम खोज्नु अनुचित भएको उल्लेख गर्दै उहाँले स्रोतसाधन परिचालन गरेर अधिकतम आम्दानी गर्दा सङ्घीयता बलियो हुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले करको हाउगुजी धेरै बढेकाले लिनै पर्ने शीर्षकमा मात्र कर सङ्कलन गर्न स्थानीय तहलाई आग्रह पनि गर्नुभयो । रासस

%d bloggers like this: