Tuesday, December 11, 2018
Home > पत्रपत्रिकाबाट > पर्यटनमन्त्री रवीन्द्रको योजना : लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा

पर्यटनमन्त्री रवीन्द्रको योजना : लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा

असार २४ ।
नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सुशासनका सवालमा ‘शून्य सहनशीलता’ को नीति अपनाउने घोषणा गरेको सरकारका प्रभावशाली मन्त्रीले नै बहुचर्चित घोटाला प्रकरणका मुख्य आरोपीलाई नै विज्ञ नियुक्त गरेका छन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्डयन विज्ञका रूपमा नियुक्त गरेको छ ।
श्रेष्ठले विशेष अदालतबाट सफाइ पाएको भए पनि उनीविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सरकारवादी मुद्दाका रूपमा हेर्दा सरकारले श्रेष्ठमाथिको भ्रष्टाचारको पुरानो आरोपमा कुनै दृष्टिकोण परिवर्तन गरेको छैन । मन्त्रीले एटीएम तथा हवाई कानुन विज्ञका रूपमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । एकातिर उनीमाथिको सरकारवादी मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अर्कोतर्फ श्रेष्ठले दिएको सल्लाह, सुझाव र राय पर्यटनमन्त्री र मन्त्रालयले ग्रहण गर्नुपर्ने अवस्था बनेको छ ।
शाही नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले ३८ करोड ९७ लाख ६७ हजार ३१ रुपैयाँ बिगो र जरिवाना मागदाबी गरेको थियो । त्यतिबेला तत्कालीन शानेवानिले चाइना साउथ वेस्ट एयरलाइन्सको बोइङ भाडामा लिइरहेको अवस्थामा त्यो फर्कन लागेको भन्दै अर्को जहाज भाडामा लिने निर्णय गरेको थियो । त्यस क्रममा श्रेष्ठले निगमलाई घाटा हुने सर्त मञ्जुर गर्नुका साथै अस्पष्टता राखी सम्झौता गरेको आरोप थियो ।

लाउडा विमान भाडाका कारण निगमलाई ठूलो आर्थिक क्षति भएको थियो । आफ्नो नियमित क्रुले लाउडा विमान सम्हाल्न नसक्दा निगमले लाउडाको एक सेट पाइलटलाई मासिक २१ लाख डलर तिरेर ल्याउनुपरेको थियो । लाउडा सञ्चालन गर्न ५ सेट पाइलट आवश्यक पर्ने भएकाले निगमलाई मासिक एक करोड डलर भार पर्ने देखिन्थ्यो । क्याबिन क्रुबारे सम्झौतामा कुनै उल्लेख नहुँदा पछि लाउडाले ७ हजार ५ सय डलर मासिक मागदाबी गरेको थियो । त्यस क्रममा जहाजको प्राविधिक निरीक्षणसमेत गरिएको थिएन । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

%d bloggers like this: