Friday, June 22, 2018
Home > मनोरञ्जन > मूर्ख राजा, चौपट राजकाज

मूर्ख राजा, चौपट राजकाज


काठमाडौं, जेठ ३।
अंग्रेजको औपनिवेशिक शासनको उत्पीडनविरुद्ध संगठित विदोह र जातीय कट्टरता, धार्मिक संस्कारसँग जोडिएका कुरीति तथा निरर्थक पारम्परिक एवं धार्मिक कृत्यजस्ता घरेलु समस्याबाट आजित भारतीय समाजमा जागरणको दृष्टिले १९ औं शताब्दीलाई अत्यन्त महत्वपूर्ण कालखण्ड मानिन्छ । अंग्रेज शासकविरुद्ध निष्कर्षविहीन तर प्रेरक सिपाही विद्रोह र राजा राममोहन राय, हेनरी विवियन डेराजियो, देवेन्द्रनाथ ठाकुर, ईश्वरचन्द्र विद्यासागर, स्वामी रामकृष्ण परम्हंस, स्वामी विवेकानन्दजस्ता धार्मिक एवं सामाजिक सुधारका प्रवर्तकहरूको युग हो यो शताब्दी।

बुद्धिविवेक र प्रकृत्तिप्रदत्त सत्यभन्दा परका भूतकालीन विश्वास तथा प्रवृतिलाई त्याज्य गर्ने र रणनीतिक कारणले बनाइएका नीति अस्वीकार गर्ने यो समयमा नै भारतेन्दू हरिश्चन्द्रको जन्म भएको थियो । राजनीतिक, सामाजिक र धार्मिक सुधारको यो युगमा भरतीय समाजमा हीनताबोध र यसबाट उत्पन्न परिणामका रूपमा आत्मनिन्दा पनि चरमोत्कर्षमा थियो । यही युग थियो जहाँ अंग्रेज शासकको संवेदनहीन र अहंकारपूर्ण व्यवहारको कहालीलाग्दो परिणति पनि देखिँदै थियो । हो, यही समय थियो, नाटककार हरिश्चन्द्रले ‘अन्धेर नगरी चौपट्ट राजा’ लेखेको ।

अर्थात् तत्कालीन समयको राजनीतिक–सामाजिक परिदृश्यलाई दुरुस्त उतार्ने प्रयत्न पनि । भनिन्छ, विविधताको विशिष्ठताप्रति निरपेक्ष दृष्टिकोणको विसंगत नतिजाको बान्की यो नाटकजति कमैमात्रमा पाइन्छ । क्षयीकृत विवेकबाट उत्पन्न कुपोषित सोच अस्थिर, द्वन्द्वग्रस्त र मुढतापूर्ण हुन्छ ।

शासकमा विद्यमान यस्तो प्रवृत्तिको प्रतिबिम्बन नागरिकमा पर्नु स्वाभाविक हो । राज्यको चरित्रअर्थात् शासन सञ्चालन गर्नेको बाटो नै हो जसमा नागरिकले आफ्ना पाइला चाल्छन् । नाटकले तत्कालीन समयको यथार्थ पस्केको छ जहाँ जनता शासक अर्थात् राजाको सनक, लहड र मूर्खताका कारण उटपट्याङ लोभलालचमा फस्छन् । र, एउटा आत्मघाती हास्यश्रृंखला तयार हुन्छ । संगतिपूर्ण न्यायनिरुपण गर्न असक्षम बौलाहा राजा अर्कालाई झुन्ड्याउन तयार पारेको रस्सीमा आफैं झुन्डिन्छन् र उनका प्रियपात्रहरूबीच सत्ताको लुछाचुँडी सुरु हुन्छ ।

नाटकले तत्कालीन समयको यथार्थ पस्केको छ जहाँ जनता शासक अर्थात् राजाको सनक, लहड र मूर्खताका कारण उटपट्याङ लोभलालचमा फस्छन् । र, एउटा आत्मघाती हास्यश्रृंखला तयार हुन्छ । संगतिपूर्ण न्यायनिरुपण गर्न असक्षम बौलाहा राजा अर्कालाई झुन्ड्याउन तयार पारेको रस्सीमा आफैं झुन्डिन्छन् र उनका प्रियपात्रहरूबीच सत्ताको लुछाचुँडी सुरु हुन्छ ।
परिकल्पनाको स्तर वास्तविक र उच्च भयो भने रचना कालजयी हुन्छ । मानवीय संवेग शाश्वत हो । यसैलाई टेकेर हरिश्चन्द्रले यो नाटक लेख्दा यो काल्पनिक भए पनि यथार्थको जमीन नछोडेको भान हुन्छ । यसै स्वरलाई समाजको मौलिकता र समयको गतिसँगै समाउन खोजेका छन् आशीष घिमिरे र संगीत सापकोटाले । नाटकको भावानुवाद गरेर ‘अँधेरी नगरी चौपट राजा’ नामले निर्देशकद्वय घिमिरे र सापकोटाको दिग्दर्शनमा यो नाटक राजधानीको कुञ्ज थिएटरमा यतिबेला प्रदर्शन भइरहेको छ।

मञ्चमा देखिने फरक–फरक पेसावाल पात्रका माध्यमले धर्माचरण, मर्यादा, इमान्दारी र चुगलीचाप्लुसीसमेत सस्तिएको र यसले समाज झुटफरेब, नाफाखोरी, फट्याइँले प्रश्रय पाएको नाटकको मूलसन्देश छ । गुरुआज्ञाको उपेक्षा गर्दै गोबद्र्धन दास सुविधापूर्ण जीवनयापन गर्न छाडेर अनिच्छित मृत्युवरणको संघारमा पुग्छ ।

तर, सिल्ली राजाको आदेशमा फाँसी चढ्नबाट बल्लतल्ल जोगिन्छ । सत्तान्ध राजा अमूर्त आकांक्षाबाट वशीभूत हुँदै आफ्नै आत्महन्ता र छँटाहा निर्देशबाट मत्र्यलोकबाट बिदा हुन्छ । हो, अन्धेर नगरी विश्वसमाजमा छयाप्छयाप्ती छन् । नेपाली समाजमा पनि अन्धेर नगरी छ । सित्तैमा पाए फलामको च्युरा चपाउन खोज्ने मतिहीन पात्रहरू छन् यसै समाजमा । यही समाजमा हो जहाँ सद्बुद्धिको अभावमा थुप्रै शासकको दुर्गति भएको छ र अन्ततः उनीहरू राजपाठबाट च्युत भएका छन् ।

समाजमा अन्याय छ, अत्याचार छ र सँगैसँगै हुर्केको छ अनाचार र दुराचार । लोभलालच र सनकका भरमा जीवनदशा तय गर्नेहरू जोसुकैलाई बिनाकारण बलीको बोको बनाएको उदाहरण हिंसक र भ्रष्टाचारी समाजमा प्रशस्त पाइन्छन् । वस्तुको भाउसँग दाँजेर नाटककारले जीवनमूल्य नै एकन्नी हुँदै गएको दुरवस्थाको चित्रण गरेका छन् । नाट्यलेखनमा द्वन्द्वात्मक विरोधाभाषी शैलीको यो अनुपम नमुना बिरलै पाइन्छ । यसैगरी कलाकारको शारीरिक स्फूर्तिले पनि दर्शकलाई चकित तुल्याउँछ । नाटक हेरिरहँदा केही कलाकारको ‘फिजिकल एक्टिभिटी’ले तपाईं प्रभावित नभई रहनु सक्नुहुन्न।

मञ्चनको दृष्टिले नाटकको सर्वाधिक बलियो पक्ष हो, परिवेशजन्य तारतम्यता । नाटक हेरिरहँदा दर्शकले आफ्नो वरपरको समाज र पात्र अनभूत गर्ने औसर पाउँछन् । खस, मैथिल, नेवार, शेर्पा, मुस्लिम पात्रहरूका र तिनका लबजमात्र होइन, त्यसअनुसारको वृत्तिले अन्धेरीलाई अँधेरी र चौपट्टलाई चौपट बनाएको छ ।

अर्थात् नाटक आञ्चलिक बनेको छ । यसमा प्रयोग गरिएका गीत र उखानटुक्कायुक्त संवादमा लालीगुराँस र कमल फूलको सम्मिश्रण छ । मैनाको चिरबिर छ भने डाँफेमुनालको गुञ्जन छ । निर्देशकद्वयको प्रारम्भिक सफलता नै यस नाटकको भावानुवाद हो । तर, गीत र उखानटुक्कालाई प्रेक्षागृहबाहिरसम्म दर्शकको ओठमा झुन्ड्याउने सम्प्रेषणीयताको अभाव देखिन्छ । कलाकारले चाँडो चाँडो बोल्दा संवादको मर्म दर्शकसम्म मज्जाले सम्प्रेषण हुन पाएको छैन ।

नाटकमा नयाँपुस्ताका व्यवसायिक कलाकारको उपस्थिति छ । त्यसैले अभिनयमा खोट लगाउने ठाउँ छैन । तर केही चरित्रले जबर्जस्ती हँसाउन खोजेको स्वाभाविक देखिएको छैन । यसका लागि निर्देशकले अझै मिहिनेत गर्नुपर्नेछ । सँगसँगै नाटकको अन्त्य पनि हठा्त भएको छ । अझ जोगीमा आएको आमूल परिवर्तन पनि निर्देशकले स्वाभाविक बनाउन सकेका छैनन्।

नाटकको आयाम ठूलो छ । त्यसका लागि नाटकघरमा उपलब्ध प्रविधि पर्याप्त छैन । नाटकसँगै यात्रा गर्ने गीतसंगीतले यस्ता प्राविधिक कमजोरीमा दर्शकको ध्यानाकर्षित नगरे पनि सुधारको गुञ्जायसप्रति कुञ्जघरको तत्परता आवश्यक छ । क्याप मोसन पिक्चर्स र कलाशी प्रडक्सनको प्रस्तुति रहेको नाटक वैशाख १४ गतेबाट सुरु भएको हो । नाटक जेठ ५ सम्म चल्ने प्रडक्सन म्यानेजर सगुन शर्मा पोखरेलले जानकारी गराइन् । साभार नागरिक दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: