Thursday, November 15, 2018
Home > breaking > पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने : राज्यमन्त्री बाँस्कोटा

पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने : राज्यमन्त्री बाँस्कोटा

बनेपा, बैशाख १३ ।
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भूकम्प पुनःनिर्माणको कार्यलाई सबैको साथ र सहयोगबाट तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ दल्सिङ्गेमा जनता आधारभूत विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले सरकारले विसं २०७६ भित्रमा सबैलाई छानामुनि ल्याउनुपर्छ भनिसकेकाले त्यसमा विद्यालय पनि पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पको काम सरकारले गर्नुपर्ने जस्तो नागरिकको चिन्तन देखिन्छ, त्यसो होइन सरकारले राहत दिने हो बनाउने आफैँले हो ।”

उहाँले भूकम्पले ध्वस्त बनाएको विद्यालय बनाउनका लागि विदेशीले लगानी गर्न सम्झौता गरिएको भए पनि केहीले दिए पनि भनेजतिको नदिएका कारण अब आश गरेर अर्काको बाटो हेरेर विद्यार्थीलाई विद्यालय जानबाट बञ्चित गर्न नसकिने बताउनुभयो ।

उहाँले भर्ना अभियान शुरु भएपछि पनि सरकारले त्यसको अनुगमन गरेर छुटेकालाई पनि नीति बनाएर विद्यालय हाताभित्र ल्याउने उल्लेख गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले शिक्षा, कृषि, पर्यटन र ऊर्जामा आफ्नो क्षमताभन्दा बढी नै लगानी केन्द्रीत गरेर परनिर्भरताको अन्त्य गरी नेपालीले गरेको संकल्पलाई मूर्तरुप दिन सरकार लागिपरेको बताउनुभयो ।

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले निर्वाचनमा गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेरै छाड्ने भन्दै सरकारले समृद्ध नेपालको परिकल्पना गरेकाले अब गीत गाएर होइन, श्रम गरेर समृद्ध राष्ट्र बनाउने अभियानमा लाग्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा एशियाली विकास बैंकको रु दुई करोड ३८ लाख, ४४ हजार १८८ आर्थिक सहयोग तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइको प्राविधिक सहयोग एवं विद्यालय व्यवस्थापन समितिको सक्रियतामा दुई कोठाको तीन वटा भवन र शौचालय निर्माण गरी आज नै समितिलाई हस्तान्तरण गरिएको थियो । ती भवन बालमैत्री र अपांगमैत्री रहेका छन् ।

सोही क्रममा एशियाली विकास बैंकको सोही बराबरको आर्थिक सहयोगमा नमोबुद्ध नगरपालिकाको वडा नं ५ मा निर्मित रक्तकाली आधारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयको भवनको साँचो निर्माण कम्पनी र जिल्ला आयोजना कार्यान्वयन इकाइको समन्वयमा राज्यमन्त्रीबाट विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो ।

काभ्रेपलाञ्चोक जिल्लामा एशियाली विकास बैंकले आधारभूत तह र माध्यमिक तहको गरी २८ वटा विद्यालय निर्माण गर्ने सम्झौता गरिएकामा आधारभूत तहको चार वटा विद्यालयको भवन निर्माण भएर हस्तान्तरण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ काभ्रेपलाञ्चोकका प्रमुख शरद भण्डारीले जानकारी दिनुभयो । रासस

%d bloggers like this: