Wednesday, April 24, 2019
Home > breaking > पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी

पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी

चितवन, चैत ५ ।
जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको अन्तिम तयारी गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जिल्लालाई पूर्ण खोप युक्त जिल्ला बनाउनका लागि अभियान शुरु गरेको हो ।

सातवटा स्थानीय तह रहेको जिल्लामा इच्छाकामना गाउँपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा भइसकेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाका अनुसार वैशाख महिनासम्ममा पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने गरी तयारी गरिएको छ । सरकारले सन् २०१७ सम्ममै पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिएको थियो ।

रत्ननगर नगरपालिकाको साविकको पञ्चकन्या र रत्ननगर क्षेत्र, कालिका नगरपालिकाको साविकको पदमपुर र जुटपानी गाविस पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेका छन् । भरतपुर महानगरपालिकाका २९ मध्ये १४ वटा वडा पूर्ण खोपयुक्त घोषणा हुन बाँकी रहेको प्रमुख झाले जानकारी दिनुभयो ।

पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नका लागि जिल्लामा रहेका १२ महिनादेखि २३ महिनामुनिका बालबालिकालाई दिइएको खोपको अनुगमन शुरु गरिएको हो । तेइस महिनामुनिका बालबालिकालाई दिनुपर्ने सबै खोप कसैलाई पनि नछुटाई लगाएको पाइएमा पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरिन्छ ।

पूर्ण खोपयुक्त क्षेत्र घोषणा हुनका लागि बिसिजी, डिपिटी, पिसिभी र दादुरा–रुबेलाविरुद्धको खोपको मात्रा उक्त क्षेत्रका सबै बालबालिकाले पूरा रुपमा लगाएको हुनुपर्ने छ । कुनै पनि क्षेत्रलाई पूर्ण खोपयुक्त क्षेत्र घोषणा गरेरमात्र नहुने भन्दै झाले पूर्ण खोपलाई निरन्तरता दिन सक्नुपर्ने बताउनुभयो ।

आउँदो वैशाखभित्रै चितवन पूर्ण खोपयुक्त जिल्ला हुनुपर्ने झाले बताउनुभयो । वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला भएन भने एक वर्षपछि धकेलिने बताउँदै उहाँले वैशाखभित्र चितवनलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुपर्ने बताउनुभयो ।

पूर्ण खोपयुक्त क्षेत्र घोषणा गर्नु अगाडि सर्वेक्षणदेखि घोषणा अनुमतिसम्मका १० चरण पूरा गर्नुपर्ने झाले बताउनुभयो । उहाँका अनुसार हालसम्म देशका ३५ वटा जिल्ला पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसकेका छन् । रासस

%d bloggers like this: