Saturday, April 21, 2018
Home > breaking > मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीमा

बर्दिवास, फागुन ६ ।
मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी जिल्ला प्रवेश गरेका छन् ।

गत शुक्रबार धनुषाको हनुमाननगरबाट मिथिलाबिहारी (श्रीराम) र किशोरीजी (जानकी, सीता) को डोला (डोली) अघि लगाएर १५ दिने परिक्रमाका यात्री आज तेश्रो दिनको विश्रामका लागि महोत्तरी जिल्लाको मटिहानी आइपुग्ने क्रम एकाबिहानै शुरु भएको हो ।

यसअघि गत बिहीबार धनुषाको ठेराकचुरीबाट मिथिलाबिहारीको डोला जनकपुर हुँदै हनुमाननगर पु¥याइएको थियो । त्यससँगै शुक्रबार बिहान जनकपुरको अग्नीकुण्डबाट किशोरीजीको डोला हनुमानगर पुगेपछि दुवै डोला अघि लगाउँदै माध्यमिकी यात्राको लावालश्कर अघि बढेको हो ।

मिथिला माध्यमिकी परिक्रमामा पहिलो दिन भारतको मधुवनी जिल्लामा पर्ने कलना (कल्याणेश्वर) र दोश्रो दिन पनि मधुवनी जिल्लाकै फूलहर (गिरिजास्थान) रात्री विश्राम गरेका साधुसन्तसहितका हजारौ यात्री आज तेश्रो दिनको विश्रामका लागि मटिहानी आइपुग्ने क्रम शुरु भएको हो । यात्रीहरु नगर प्रवेश गर्नथालेपछि मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, श्री लक्ष्मीनारायण मठ मटिहानीका साधुसन्त, नगरका व्यापारी उद्यमीहरु स्वागतका लागि नेपाल–भारत सीमाक्षेत्र (दशगजा) पुग्नु भएको छ ।

आज मटिहानीमा भव्य परिक्रमाको चहलपहल एकाबिहानैदेखि शुरु भएको छ । परिक्रमाका यात्रीलाई खानपिन, आवास, प्राथमिक उपचार र अन्य सुविधाका लागि नगरवासीले सबै प्रबन्ध मिलाएको प्रमुख मण्डलले जानकारी दिनुभयो ।

नेपालतर्फ महोत्तरीमा २८, धनुषामा ६२ र भारतको मधुवनी जिल्लामा ३० किलोमिटर गरी १५ दिने माध्यमिकी परिक्रमामा १२० किमीको यात्रा तय गरिन्छ । यस यात्रामा महोत्तरी जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित पाँच विश्रामस्थल रहेको छ । कञ्चनवन विश्रामपछि धनुषा प्रवेश गर्ने यात्रीहरु क्रमशः आठौँ, नवौँ, दशौँ र एघारौँ दिनको रात्री विश्राम पर्वता, धनुषाधाम, सतोखर र औरहीमा गर्नेछन् ।

औरहीपछि पुनः भारतको मधुवनी प्रवेश गर्ने परिक्रमाको लावालश्कर बाहौँ र तेहौँ दिनको रात्री विश्राम क्रमशः करुणा र बिसौलमा बसेपछि चौधौँ दिनको विश्रामका लागि पुनः कल्याणेश्वर हुँदै जनकपुरको रंगभूमि मैदान पुग्नेछन् । पन्ध्रौँ दिन बिहान जनकपुरको अन्तर्गृह परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा पूरा हुने परम्परा छ ।

त्रेता युगमा मिथिलाबिहारी श्रीराम र किशोरीजी श्रीजानकी जनकपुर बसाइका क्रममा फागु पर्व पूर्व (फागुन शुक्लपक्ष) वनबिहार गर्दै डुलेका सम्झनामा माध्यमिकी परिक्रमाको परम्परा बसेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । सदचरण, एकछाकमात्र सात्विक भोजन गरेर नाङ्गै गोडाले गरिने यो यात्रा संसारिक दुखःबाट मुक्ति दिने र कल्याणदायक हुने हिन्दू मैथिल जनविश्वास रहँदै आएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: