Thursday, April 26, 2018
Home > breaking > तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब

म्याग्दी फागुन ६  ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातोपानीस्थित तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।

प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दी नदीको किनारमा रहेको सो कुण्डमा बिरामीले स्नान गरे वापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यामिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो ।

‘तातोपानीको कमाईको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ, गुणस्तरीय शिक्षाका लागि तलब बाहेक अन्य शिर्षकमा पनि खर्च गर्ने गरेका छौ’ शाक्यले भन्नुभयो ।

उहाँले सो विद्यालयमा अध्ययनरत् ३०५ जना विद्यार्थीका लागि निजी स्रोतका १० जना शिक्षकको तलबभत्ता २०६६ सालदेखि निरन्तर रुपमा कुण्डको सहयोगमा खुवाउँदै आएको जानकारी दिनुभयो ।

शिक्षकको तलबभत्ता वाहेक खेलकुद मैदान खरिदमा रु २३ लाख र भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताउनुभयो । ‘मावि तहमा सरकारी दरबन्दी छैन, कुण्डको सहयोगले नै अहिलेसम्म विद्यालय सञ्चालन गर्न सहज भएको छ’ प्रअ बानियाँले भन्नुभयो ।

विद्यालयलाई तातोपानी कुण्ड वरदान सावित भएको छ’ प्रअ बानियाँले भन्नुभयो । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालन लगायतका योजनामासमेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको उहाँले बताउनुभयो । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत् सो विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।

जमिन मुनिबाट बिरेनूनको गन्धसहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोलालगायत विभिन्न रोग निको हुने जनविश्वास छ । ती रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न बिरामीहरु यो कुण्डमा आउने गरेका छन् । यहाँ वर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: