Saturday, December 15, 2018
Home > breaking > मसालले पार्टीलाई सुदृढीकरण गर्ने

मसालले पार्टीलाई सुदृढीकरण गर्ने

काठमाडौँ, फागुन ६ ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल) को हालै सम्पन्न छैटौँ राष्ट्रिय भेलाले पार्टीलाई अनुशासित र एकतालाई सुदृढ तुल्याएर अघि बढ्ने निर्णय गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव पारित गर्दै भेलाले देशमा प्रभावशाली प्रकारको राजनीतिक भूमिका खेल्नका लागि पार्टीभित्र जनवादी केन्द्रीयतामा आधारित अनुशासन र एकतालाई महत्व दिएको सो पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विगतमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीको नीतिअनुसार कतिपय निर्वाचन क्षेत्रमा पारस्परिक सम्झौताका आधारमा चुनावी तालमेल भएको र त्यहाँ अनुशासनसम्बन्धी कैयौँ कमजोरी देखिएकाले त्यसलाई नियन्त्रित गर्न सबै पार्टी समिति वा सदस्यहरुको ध्यानाकर्षण गराएको छ ।

दुई विषयः चुनावको समीक्षा र पार्टी अनुशासनको मूल्यांकनबारे आयोजना गरिएको मसालको भेला विशेषतः एक वर्षमा हुने पार्टीको आठौँ महाधिवेशनमा पार्टीभित्र स्वस्थ र अनुशासित वातावरणको निर्माण गर्नका लागि भएको जनाएको छ ।

मसालले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता तथा राष्ट्रिय हितमा अहिले पनि गम्भीर आँच पुग्ने खतरा औँल्याउँदै त्यसविरुद्ध उच्च प्रकारको सतर्कता र संघर्ष जारी राख्नुपर्नेमा जोड दिएको छ ।

पूर्व सरकारले गरेका कतिपय निर्णयमा कमजोरी रहेको भन्दै नयाँ सरकारले त्यसबारे छानबिन र आवश्यक कारबाही गर्न माग पनि गरेको छ ।

मसालले देशमा बढ्दो भ्रष्टाचार, महँगी तथा पेट्रोलको मूल्यमा बारम्बार वृद्धिजस्ता कार्यबाट जनताले सास्ती व्यहोर्नुपरेको भन्दै त्यसलाई नियन्त्रण गर्न नयाँ सरकारले विशेष कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

साथै, लामो समय बितिसक्दा पनि भूकम्पपीडितका घरको निर्माण कार्य हुन नसकेकाले त्यसबारे शीघ्र प्रभावशाली कदम उठाउन पार्टीले सरकारसमक्ष अपिल गरेको छ । रासस

%d bloggers like this: