Sunday, September 23, 2018
Home > breaking > प्रदेश ५ का सभामुखद्वारा शपथ

प्रदेश ५ का सभामुखद्वारा शपथ

बुटवल, फागुन ३ ।
प्रदेश नं ५ का नवनिर्वाचित सभामुख पूर्णबहादुर घर्तीले बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख उमाकान्त झाले शपथ दिलाउनुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथग्रहण समारोहमा प्रदेश सभामुख घर्तीले देश र जनताका नाममा शपथ लिनुभएको हो । संविधानको धारा, १८२ को उपधारा, २ अनुसार घर्ती प्रदेशसभाको आजै अपराह्न बसेको बैठकमा सभामुखमा निर्विरोध चयन हुनुभएको थियो ।

शपथग्रहण समारोहमा प्रदेशसभाका सदस्यहरु, प्रदेश प्रमुख सचिव शंकर पाठक, विभिन्न राजनीतिक दलका प्रमुख, उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश, सुरक्षा निकायका उच्चपदस्थ, विभिन्न संघसंस्थाका प्रमुखहरु लगायतको उपस्थिति थियो ।

शपथग्रहण कार्यक्रमपछि सभामुख घर्तीले बुटवलको पुष्पलाल पार्कमा रहेको पुष्पलालको शालिकमा र राजमार्ग चौराहामा रहेको प्रथम शहीद लखन थापाको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

सभामुख घर्तीले आजै प्रदेशसभा सचिवालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: