Monday, August 19, 2019
Home > breaking > राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट पारित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट पारित

काठमाडौँ, माघ २३ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम सभा बैठकले आव २०७४/७५ को योजना तथा कार्यक्रमसहितको करिब रु ७८ करोड ३४ लाख बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा आज यहाँ बसेको बैठकले रु १३ अर्ब ४५ करोडको बहुवर्षीय योजना चरणबद्ध रुपमा क्रमशः कार्यान्वयन गर्न सिद्धान्ततः स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी प्रतिष्ठानलाई सञ्चालन खर्चवापत कूल विनियोजन हुने वार्षिक बजेटको ५० प्रतिशत रकम उपलब्ध गराउने नीतिगत निर्णय गरिएको छ । सभाले ऐनको व्यवस्थानुसार राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानको मातहतमा आउने हुँदा सम्पूर्ण प्रशासनिक–आर्थिक अधिकारलगायत चलअचल सम्पत्ति हस्तान्तरण गर्न ऐनअनुरुप कार्यान्वयन गर्ने निर्णय गरेको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

बैठकले विभिन्न निकाय तथा पदाधिकारीको बैठक सञ्चालन, काम,कर्तव्य र अधिकार तथा पारिश्रमिक र सुविधासम्बन्धी नियमावली २०७४ र आर्थिक प्रशासनसम्बन्धी नियमावली २०७४ पारित गरेको छ । प्रतिष्ठानलाई घोराही दाङमा आवश्यक पर्ने ५०० बिघा सरकारी जग्गाका साथै घोराहीमा मुख्य कार्यालय र काठमाडौँमा सम्पर्क कार्यालयका लागि सरकारी घर वा भवन निर्माण गर्न सरकारी जग्गा उपलब्ध गराउने पनि सभाले नीतिगत निर्णय गरेको छ ।

यस्तै बैठकले प्रतिष्ठानले प्रायोजित गरेको उम्मेदवारलाई स्नातकोत्तर तहको सरकारी सिटमा दुई वर्षको स्थायी सेवाको बन्देज नलगाउने र प्रतिष्ठानको सिफारिशमा स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिने निर्णय गर्नाका साथै सरकारी छात्रवृत्ति वा विभिन्न प्रतिष्ठानमा अध्ययन गरेका स्नातकोत्तर र स्नातक तहका चिकित्सकलगायत स्वास्थ्यकर्मीलाई सरकारले पद स्थापना गरी सहयोग गर्ने निर्णय गरेको छ ।

यसैबीच सभाको रिक्त सदस्यमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति, देवनारायण चौधरी ९दाङ०, भवानी राणा ९बाँके०, डा सुरेशकुमार कनौडिया ९बाँके०, प्रा डा सलमा केसी राई, विसुप्रसाद सुवेदी र नवराज ढकाललाई सभाका सदस्यमा मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्रतिष्ठानले प्रदान गर्ने पूर्ण छात्रवृत्तिका विद्यार्थीका हकमा सरकारले प्रतिष्ठानलाई प्रस्तावमा उल्लिखित रु १७ करोड ५० लाख अनुदान दिने निर्देशन सभाबाट सर्वसम्मतले निर्णय गरी पारित भएको जनाइएको छ ।

सो अवसरमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति देउवाले प्रतिष्ठान अध्ययन अध्यापन कार्य गर्ने एक महत्वपूर्ण संस्था भएको हुँदा यसको अध्ययन अध्यापन र उपचार सेवा उच्चकोटिको हुनुपर्ने बताउनुभयो । उहाँले प्रतिष्ठानको विकाससँगै सरकारी अस्पतालमा सेवारत जनशक्तिको समस्याको पनि उपयुक्त बाटो पहिल्याई अगाडि निर्देशन दिनुभयो ।

स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपति दीपक बोहराले प्रतिष्ठानका समस्या समाधानका लागि पहल गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सभामा प्रतिष्ठानका उपकुलपति प्रा डा संगीता भण्डारीले प्रतिवेदन प्रस्तुत गर्दै प्रतिष्ठान परियोजनाको पूर्णता र विकाससँगै यस क्षेत्रको स्वास्थ्य क्षेत्रमा मात्र नभई आर्थिक एवं सामाजिक क्षेत्रमा समेत उल्लेखनीय उपलब्धि हासिल गरिने विश्वास व्यक्त गर्नुभयो । रासस

%d bloggers like this: