Friday, June 22, 2018
Home > breaking > न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षको सम्मान

न्यूनतम पारिश्रमिक निर्धारण समिति अध्यक्षको सम्मान

पोखरा, माघ १५ ।
नेपाल पत्रकार महासंघ, कास्कीले न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष गंगाधर पराजुली र सदस्य विमला भण्डारीलाई एक कार्यक्रमकाबीच आइतबार सम्मान गरेको छ ।

पोखराको पत्रकारितामा क्रियाशील रही सञ्चार क्षेत्रको एउटा महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको भन्दै महासंघले सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

अध्यक्ष पराजुली एवं सदस्य भण्डारीलाई सम्मान गर्दै नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरामा क्रियाशील दुई सञ्चारकर्मीले प्राप्त गरेको यो जिम्मेवारी पोखरेली सञ्चारकर्मीका लागि गौरवको विषय भएको बताउनुभयो ।

धेरै सञ्चार माध्यममा अझै पनि सञ्चारकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक पनि प्राप्त गर्न नसकेको अवस्था रहेको बताउँदै उहाँले समयसापेक्ष पारिश्रमिक निर्धारण गर्दै त्यसको कार्यान्वयन अपरिहार्य भएको बताउनुभयो ।

नवनियुक्त अध्यक्ष एवं सदस्यबाट आम सञ्चारकर्मीले गरेको अपेक्षालाई केही न केहीमात्रामा सम्बोधन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पराजुलीले यसअघि विसं २०७२ साउनमा निर्धारण भएको न्यूनतम पारिश्रमिक त्यसयता पुनरावलोकन नभएको बताउँदै त्यसलाई समयसापेक्ष बनाउँदै कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।

नेपालमा करिब ३८ प्रतिशतले मात्र न्यूनतम पारिश्रमिक प्राप्त गरेको तथ्यांकले देखाएको बताउँदै उहाँले सञ्चारसम्बद्ध क्षेत्र एवं निकायबीच समन्वय गरी यसको सफल कार्यान्वयनका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य विमला भण्डारीले यसअघिको समितिले गरेका कामलाई निरन्तरता एवं नयाँ कार्ययोजनाका साथ अघि बढिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले न्यूनतम पारिश्रमिक निर्धारणको विषयलाई आगामी दिनमा पुनः उठ्न नसक्ने गरी पारिश्रमिक प्राप्त गर्ने सुनिश्चितताका लागि नीतिगतरुपमा अघि बढ्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षद्वय रवीन्द्र बास्तोला र पुण्य पौडेल, पूर्वसचिव नवराज सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य टंकराज अधिकारी, प्रेस सेन्टरका केन्द्रीय सदस्य माधव पनेरु, अकोराबका केन्द्रीय उपाध्यक्ष शान्ति गुरुङ, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बराल, महासंघ कास्कीका उपाध्यक्ष त्रिभुवन पौडेललगायतले नवनिर्वाचित अध्यक्ष एवं सदस्यलाई बधाई एवं शुभकामना दिनुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: