Thursday, June 20, 2019
Home > breaking > बेनी–जोमसोम सडक कालोपत्रे गरिने

बेनी–जोमसोम सडक कालोपत्रे गरिने

म्याग्दी, पुस ३० ।
म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किमीको बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ ।

चार नं प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ । आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिनुभयो । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको सात मि चौडाइमा कालोपत्रे गरिने इ निरौलाले बताउनुभयो ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मि फराकिलो दुई लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग रु दुई अर्ब ५० करोडमा ठेक्का सम्झौता भएको छ । चिसाका कारण ११० किमीको जोमसोम– कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ ।

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र एक हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइहेको बताउनुभयो । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ । रासस

%d bloggers like this: