जनता ठगेको आरोप लाग्दा प्रशासकले टाप कसे

किरण कर्ण / सञ्चारक
जनकपुर, फागुन ४ ।

सरकारी कार्यालयहरुमा जवाफदेहिता नभएको आरोप सर्वसाधारणले एउटा कार्यक्रममा जोडतोडका साथ उठाइरहँदा सहभागी सरकारी कर्मचारीहरु कार्यक्रमबाटै अलप भएका छन् । सोमबार जनकपुरमा भएको नागरिक संवाद कार्यक्रममा सहभागी सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयकै आडमा सरकारी कार्यालयहरुमा जनतालाई ठग्ने र दुःख दिने काम भइरहेको बताएपछि कार्यक्रममा उपस्थित सरकारी कार्यालयका प्रतिनिधिहरुले टाप कसेका थिए ।
समाज विकास पथको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सुशासनका लागि हरेकस्तरबाट निस्वार्थरुपमा अघि बढेमा मात्र आफ्नो, स्थानीय स्तर र देशको विकास सम्भव हुने कुरामा वक्ताहरुको समान धारणा रहेको थियो । अधिकांश वक्तााले स्थानीयस्तरमा रहेको प्रशासन कार्यालयबाट नै भ्रष्टाचारको जालो सञ्चालित रहेको आरोप लगाए ।

susashan_program_in_jnk
प्रा.डा.सुरेन्द्र लाभले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै अधिकांश वक्ताले विद्यालय, प्रशासन र सरकारी कार्यालयलगायतका कार्यालयमा बढी भ्रष्टाचार भएको कारणले जवाफदेहिता नदेखिएको औंल्याएका छन् ।
कार्यक्रममा अधिकांश वक्ताले जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी कार्यालयमाथि आरोप लगाइरहँदा जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत नवराज बरालले प्रशासन कार्यालय जनताप्रति उत्तरदायी रहेको बताए ।
प्रा.डा.रामस्वार्थ रायले सबैजना आआफ्नो ठाउँमा इमानदार भएमा र कर्तव्यबोध गरेमा विकासको ५० प्रतिशत कार्य हुने ठोकुवा गरे ।
उनले शासक र रक्षक नै अनुत्तरदायी भएकाले देशमा अराजकता देखिएको बताए । त्यस्तै समाज विकास पथका अध्यक्ष सत्यनारायण साहले कमजोर सुशासनले गर्दा जनताप्रतिको उत्तरदायित्वमा कमी आएको बताए ।
कार्यक्रममा अन्य केही कार्यालयका कर्मचारीहरुले सक्रिय सहभागिता जनाए पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिका कर्मचारीहरु आफ्ना मन्तव्यसँगै बाहिरिएका थिए ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *