संस्कारविपरीत कुरा गर्नेका बारेमा मोर्चाले सोच्नुपर्छ : वृषेशचन्द्र लाल

 

केही वर्षअघि काँग्रेसका नेता रामचन्द्र पौडेलले एउटा प्रश्न गरे–‘एउटा माग भन्नुस, जसलाई पुरा गर्दा मधेशीहरुले गौरवबोध गर्छन् ।’ थुप्रा तर उचित तथा आवश्यक मागहरुका बीचमा एउटा मात्र औंल्याउँन धेरैलाई कठिन भयो र उनीहरु निरुत्तर भए । सबैका कुरा दत्तचित भएर सुनिरहेका एकजना नेताको मुखबाट उत्तर उछिट्टियो । उनले भनेँ,–राज्यको वैधानिक बन्दूकमा मधेशीलाई आधाआधी हिस्सा दिनुपर्छ ।’ पौडेलको मनमस्तिष्कमा घाउखत लाग्ने यस्तो उत्तर दिने नेता हुन् वृषेशचन्द्र लाल । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष लाल प्रखर छन्, प्रभाविलो छन् र थोरै लडन्ते पनि । जीवनको चार दशकभन्दा बढी समयलाई राज्यसँग असहमत रहँदै बिताएका कुशाग्र व्यक्तित्व लालको राजनीतिक यात्रा निर्वासित‘राजकुमार’ को पीडाभन्दा कम्ती छैन । तर अहिलेलाई तार्किक र बौद्धिक नेता मानिने लालसँग सञ्चारकका लागि कन्सल्ट्यान्ट एडीटर अनिलकुमार कर्णले दुई दिनअघि गरेको कुराकानीको सार प्रस्तुत गरिएको छ । उनीसँगको अन्तर्वार्ता पस्किँदा भरसक उनले बोल्ने शैलीकै अनुकरण होस भन्ने हेक्का राखिएको छ ।

brikhesh_chandra_lal2

बन्दहड्ताल, सीमानाकाको धर्ना र सरकारी कार्यालय बन्दलगायतका आन्दोलनका कार्यक्रमलाई स्थगन गरेर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा बालुवाटारको बाटो हुँदै सिँहदरबार पस्न खोज्दैछ भन्ने आरोप यतिबेला लागिरहेको छ । साच्चिकै यस्तै नै हो त ?

यस्ता कुराहरु दुई किसिमका समूहबाट आउने गर्छन् । एउटा, अधिकारको यस आन्दोलनको विरुद्धमा छ । यस समूहका सदस्यहरुले आन्दोलनलाई आरोपित गर्न र बदनाम तुल्याउन बाटो कुरेर बसेका हुन्छन् । उनीहरुको ध्याउन्न मोर्चाले कहाँ, कसरी र के गल्ती गर्यो भन्ने कुरामा हुन्छ । यस्तो प्रतिक्रियावादी शक्तिहरुले वास्तवमा मधेशी आन्दोलन छुट्टा भयो, स्थगित भयो आदि मनचिन्ते कुरा गरेर सन्तुष्टि लिने र यस्तो आधारहीन सन्तुष्टिलाई अभिव्यक्त गर्दा आन्दोलनकारी शक्तिहरुमाथि आरोप लगाउँछ । दोस्रो समूह, जसका सदस्यहरुले आफ्नो दायित्व र भूमिकालाई आफैँले निर्वाह गर्न चाहँदैनन् । आफूलाई केही गर्नु नपरोस बरु सबैथोक अरुले गरिदिउन् भन्ने भावनाबाट ओतप्रोत हुन्छन् । अरुले आन्दोलन पनि अरुले गरिदियोस् तर आफूले चिताएको कुरा भइराखोस् र त्यस्तोे नहुँदा आक्रोसित भएर यस्ता आरोपहरु लगाउँने गर्छन् । अधिकारको आन्दोलन भने दुईचार दिन दुईचार महिना र दुईचार वर्षको हुँदैन । अधिकारको आन्दोलन लामो हुन्छ । त्यसैले मधेशीहरु समानताका निमित्त अनवरत र अथकरुपमा लडिरहेका छन् ।Brikhesh_chandra_lal

मधेश आन्दोलनले मधेशका मुद्दालाई दुनियाँभरमा स्थापित गरेको छ । आन्दोलनकै कारण र प्रभावबाट मधेशी जनताका बीचमा अद्भूत र अपूर्व एक्यबद्धता व्यक्त भएको छ । यस्तो एकता सडक र सदन दुवैमा प्रकट भएको छ । एकतालाई ५ दर्जनको सहादतले सिँचित र प्रतिष्ठापित गरेको छ ।

यो बिल्कुल स्पष्ट छ कि अधिकारको आन्दोलनलाई निरन्तरता दिएर नै हामी आफ्नो लक्ष्यसम्म पुग्न सक्छौं । अहिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आह्वानमा विगत ६ महिनादेखि निरन्तर आन्दोलन जारी छ । अहिलेसम्म हामी आमहड्तालमा थियौं । आमहड्ताल भन्नाले दैनिक जीवनका सारा गतिविधिहरु बन्द, आर्थिक गतिविधिहरु बन्द, यातायात बन्द, स्कूलकलेजहरु बन्द, त्यसपछि अड्डाअदालतका कामकारवाहीहरु सारा बन्द । यस्तो हुँदा एउटा असहज परिस्थिति बनेको थियो । तर यस आन्दोलनले महत्वपूर्ण उपलब्धि के हासिल गरेको छ भने मधेशका मुद्दालाई दुनियाँभरमा स्थापित गर्न सकेको छ । आन्दोलनले मधेशको अद्भूत र अपूर्व एकजुटता व्यक्त भएको छ । यस्तो एकता सडकमा आएको छ । सदनमा आएको छ । र, लगभग ५ दर्जनको सहादतले त्यसलाई सिँचित गर्दै प्रतिष्ठापित गरेको छ । अहिले मधेशी मोर्चाले यी आफ्ना आमहड्तालका कार्यक्रमहरु स्थगित गर्दै आान्दोलनको स्वरुपलाई परिवर्तन गरेर आन्दोलनलाई निरन्तरता दिने प्रयास गरेको छ । आन्दोलन निरन्तर जारी छ र आन्दोलनले आफ्ना मुद्दाहरुको सम्बोधन नहुञ्जेलसम्म विराम लिने छैन । यस कारणले यस्ता आरोपहरु बिल्कुल निराधार छन् ।

आन्दोलनबाट उत्पन्न असहजताले मधेश आफैँ नाकाबन्दीमा पर्यो । त्यसपछि सीमानाकाको धर्ना फिर्ता लिने सबालमा मोर्चाकै घटक दलहरुबीच अलमल देखियो । यसले आन्दोलनको स्वरुप परिवर्तनको विषयलाई लिएर मोर्चा प्रष्ट नै नभएको छनक दिएन र ?

होइन, यसमा परिस्थितिवश केही गलतफहमीहरु उत्पन्न हुन गएको हो । र, मधेश नाकाबन्दीमा परेको पनि होइन किनकी मधेश त नेपालको नाकाबन्दी छ नै । मधेशमा औपनिवेशिक मानसिकताले शासन गरेको छ । हामीले त्यसलाई तोड्न चाहन्छौं । आमहड्तालको कार्यक्रम र सीमानाका धर्नालाई नाकाबन्दी भनिए पनि वास्तवमा त्यो नाकाबन्दी होइन । हामीले सीमामा धर्ना गरेका हौं । सार्वजनिकस्थल, सदरमुकाम, राजमार्ग आदि ठाउँमा जाँदा राज्यले नृशंस भएर मधेशी आन्दोलनकारीहरुको दमन गर्यो । छाती, टाउको, मुख र पेटमा गोली हान्यो । गोली लागेकाहरुलाई फेरि पनि गोली हानेर मारियो । यसकिसिमले नृशंसताको प्रदर्शन भयो र यस अवस्थामा आन्दोलनकारीहरु बिस्तारै सीमातिर धकेलिदै गए र सीमामा धर्ना सुरु भयो र सीमामा धर्ना सुरु भएपछि अपेक्षाकृत सरकारी दमन पनि कम भएर आयो । यसरी मधेशीहरुले आफ्नो आन्दोलनलाई निरन्तरता प्रदान गरे । तर सीमामा धर्नाले गर्दा केही असहज परिस्थिति पनि उत्पन्न भयो । सरकार पूर्णतया तस्करमाथि निर्भर भयो । सरकारले नेपालको अर्थव्यवस्थाको मूलआधार नै तस्करीलाई बनाउन खोज्यो । जसले गर्दा सम्पूर्ण देशको अर्थ व्यवस्था चर्मरायो । त्यो तस्करीतन्त्रले पनि हुने आपूर्ति पनि मधेशमा गरिएन । मधेशलाई अलगै किसिमले दुखः दियो । यस परिस्थितिमा मधेशको आर्थिक गतिविधिलाई सहज बनाउन र आन्दोलनकारीको शक्ति संचयका निम्ति पनि हामीले सीमामा धर्नालगायत आमहड्तालका कार्यक्रहरु फिर्ता लिने निर्णय गरयौं । अब यसबाट ती हामीलाई थप विषयका लागि गृहकार्य गर्न र कार्यक्रमहरुलाई कसरी अगाडि लग्नेबारे निश्चित गर्न समय प्राप्त भएको छ । अहिले हामीले हस्ताक्षर अभियान सुरु गरेका छौं र यस हस्ताक्षर अभियानलाई एउटा जनमतसंग्रहको रुप दिने प्रयासमा छौं । यसबाट मधेशका जनता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलन र मोर्चाले प्रस्तुत गरेको ११ बँुदे मागलाई पूर्ण एक्बद्धताका साथ समर्थन गर्दछन् भन्ने कुरा अझ मजबूत भएर आउनेछ । जसरी हामीले मानवसञ्जाल बनाएर अभूतपूर्व र अहिलेसम्म दुनियाँमै नभएको उदाहरण प्रस्तुत गरेका थियौं र सारा मधेशीहरु, के बुढा, के जवान, के हिन्दु के मुसलमान आदि सबै एकजुट भएर मधेश आन्दोलनको पक्षमा समर्थन व्यक्त गरेका थियौं । त्यसरी नै हस्ताक्षर अभियानबाट हामीले लिखितरुपमा एक्यबद्धता र समर्थनलाई राज्यसमक्ष राख्ने कार्यक्रम राखेका छौं । यि सारा कार्यक्रहरुको गृहकार्य हामीले तयार पारेका थियौं । एउटा निर्णय भएको थियो कि मोर्चाका सबै घटक दलका अध्यक्षहरुको संयुक्त सहभागितामा यी कार्यक्रमहरुलाई सार्वजनिक पनि गर्ने । आमहड्ताललगायतका कार्यक्रमहरुलाई स्थगित गरेर आन्दोलनलाई एउटा नयाँ चरणमा पुर्याउने चाहिँ हाम्रो निष्कर्ष थियो । तर विभिन्न कारणले यससम्बन्धी मोर्चाको बैठक बस्न ढिलो भयो । अध्यक्षज्यूहरुको व्यस्तताका कारणले बैठक हुन सकेन । बैठक नहुञ्जेल त्यो निर्णय सार्वजनिक नगर्नुपर्ने हो तर र कहिँबाट त्यो चाहिँ सार्वजनिक भयो । यसले गर्दा अलिकति असहज परिस्थिति उत्पन्न भयो । यसैले मोर्चाका घटक दल र जनतामा पनि गलतफहमी आएको हो तर त्यस्तो कुनै अवस्था अहिले चाहिँ छैन । मोर्चा बिल्कुल एकताबद्ध छ । एकबद्ध भएर अघि बढ्नेछ ।

नाउँ लिएरै भनौं न । सदभावना अध्यक्ष राजेन्द्र महतोले कि त सबै नाका बन्द गरौं होइन भने वीरगञ्ज नाका खोलौं भन्ने प्रस्ताव आफूले मोर्चाको बैठकमा लाने कुरा गर्नुभएको थियो । यता असहज परिस्थिति उत्पन्न भएको मोर्चाको पनि बुझाइ थियो । तर त्यससम्बन्धी प्रस्ताव लिएर जान्छु भन्दा महतोलाई गैरजिम्मेवार क्रियाकलाप र अभिव्यक्ति रोक्नुस भनेर निर्देशन नै दिइयो । यो विरोधाभाषी कुरो होइन र ?

होइन । तर उहाँको अभिव्यक्ति अलिकति गैरजिम्मेवार र अलिकति हतारमा आएको जस्तो मलाई लाग्छ । मोर्चाले तुरुन्तै यसमा प्रतिक्रिया दिएन । मोर्चा चैँ अलिकति प्रतीक्षा पनि गर्यो । तर दोहोरिएर त्यो अभिव्यक्ति आइरहँदा गलतफहमी भएको हो । सीमानाकामा धर्ना दिने निर्णय कुनै एउटा व्यक्ति, कुनै एउटा पार्टी वा कुनै एउटा पार्टीका नेताको नभएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको थियो ।
मोर्चाका एउटा घटक दलका अध्यक्षले म सीमानाका धर्नाबारे पुनर्विचार गर्नुपर्ने प्रस्ताव लिएर मोर्चाको बैठकमा जान्छु भन्नु अपराध त थिएन होला नि ?
हैन, त्यो अपराध त होइन । तर त्यो कुरा मोर्चाभित्रै राख्नुपर्ने थियो । बाहिर आउनु हुँदैन्थ्यो । सामूहिक निर्णयका रुपमा त्यो चाहिँ अगाडि आउनुपथ्र्र्यो । उहाँको अभिव्यक्तिले व्यक्तिगत निर्णय अर्थात् मैले निर्णय गर्दा नै हुन्छ भन्ने बुझिने गरी त्यस्तो अभिव्यक्ति दिनुभयो जस्तो लाग्छ मलाई । त्यसैले त्यस अभिव्यक्तिलाई निश्चितरुपमा कसैले पनि उपयुक्त मान्दैनन् । म त यो भन्छु कि राजेन्द्र महतो नै होइन कुनै पनि अध्यक्ष वा मोर्चाका कुनै पनि नेताले यस कुरालाई आत्मसात गर्नुपर्यो कि यो आन्दोलन सम्पूर्ण मधेशीहरुको आन्दोलन हो । यो आन्दोलनको आह्वान संयुक्त लोकतन्त्रिक मधेशी मोर्चाले गरेको छ । कुनै व्यक्तिको वा कुनै घटक दलको वा कुनै नेताको आन्दोलन होइन यो । सबैले उस्तै सक्रिय भूमिका चैँ खेलेका छन् । यो आन्दोलनलाई एउटा उचाइँमा पु्र्याउने प्रयास चै गरेका छन् सबैले र सबैको योगदान उत्तिकै छ । सबै नेताहरुले पनि कार्यविभाजनको हिसाबले काम गरिरहेका छन् । कोही कार्यदलमा काम गरिरहनुभएको छ । कोही अन्तर्राष्ट्रिय वातावरण बनाइरहनुभएको छ । कोही आदिबासी र जनजातिहरुसँग सम्पर्क गरिरहनुभएको छ । कोही नेताहरु मधेशमा डुलीडुली सम्पूर्ण मधेशी साथीहरुलाई एकजुट बनाइररहनुभएको छ । त्यसकारण सबैले आ–आफ्नो ठाउँबाट महत्वपूर्ण जिम्मेवारी पुरा गरिरहनुभएको छ भने त्यसमा कोही चाहिँ तल कोही चाहिँ माथि र कसैलाई दोषारोपण गर्ने तथा होचो देखाउने राजेन्द्र महतोजीले मात्र होइन कसैले पनि त्यस्तो अभिव्यक्ति दिन्छन् भने आन्दोलनलाई क्षति गर्ने खालको नै हुन्छ । यसले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा कमजोरी ल्याउने काम नै गर्दछ । त्यसकारणले मोर्चाको बुझाइ के छ भने कि संस्थागतरुपबाट निर्णय गर्नु पर्दछ र ती निर्णयहरु संस्थागतरुपले नै सार्वजनिक हुनुपर्दछ । ती निर्णयहरुलाई हामीले एकरुपताका साथ कार्यान्वयन र पालना गर्नु पर्दछ ।
राजेन्द्र महतोको अभिव्यक्तिपछि सीमानाका पनि खुल्यो । त्यस सीमानाकालाई बन्द गराउनेमा राजेन्द्र महतोको ठूलो भूमिका देखिएको थियो । भनिन्छ यसले मोर्चाका अन्य घटकहरुमा एउटा त्रास सिर्जना गर्यो । र, त्यो त्रास नै हो कि मोर्चाका अन्य घटकहरुलाई महतोलाई अभिव्यक्ति नदिन निर्देशनसम्म दिनुपर्यो । साँचो हो ?

राजेन्द्र महतोजीको अभिव्यक्ति अलिकति गैरजिम्मेवार र अलिकति हतारमा आएको जस्तो मलाई लाग्छ । पटकपटक उहाँले त्यो अभिव्यक्ति दिइरहँदा गलतफहमी भएको हो । सीमानाकामा धर्ना दिने निर्णय कुनै एउटा व्यक्ति, पार्टी वा नेताको नभएर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको थियो ।
एउटा कुरा के बुझ्नुपर्छ भने सीमामा धर्ना संयुक्त लोकतान्त्रिक मधेशी मोचाको निर्णयले भएको हो । त्यो कुनै घटक दल वा कुनै नेताको निर्णय होइन । र, अर्को कुरा सबै सीमानाकामा जुन धर्ना भइरहेका थिए त्यसमा कुनै एउटै पार्टीको मात्र संलग्नता थिएन । कुनै एउटै पार्टीले नियन्त्रण गरिरहेको भन्ने कुरा पनि थिएन । वीरगञ्जमा तराई मधेश लोकतान्त्रिक पार्टीका कार्यकर्ताहरु, सङ्घीय फोरमका कार्यकर्ताहरु, सद्भावना पार्टीका कार्यकर्ताहरु, तमसपाका कार्यकर्ताहरु संयुक्तरुपमा बस्ने गर्नुहुन्थ्यो । चाहे सुनौली नाका होस् वा विराटनगरको नाका होस् वा साना नाकाहरु होस् जस्तै जनकपुरको जटही नाका होस्, त्यसमा पनि सबैले संयुक्तरुपमा भाग लिएका थिए र आन्तरिकरुपमा एउटा निर्णय चैँ के भएको थियो भने हामीहरुले एउटाले एउटा नाकालाई चाहिँ व्यवस्थित गरिदिने । जसलाई अनुगमन गरिदिने जिम्मेवारी सबैले पाएका थिए । राजेन्द्र महतो पनि हरेक दिन वीरगञ्जमै बस्नु भएको भन्ने पनि छैन । नाकामा जानुहुन्थ्यो र धर्नाकारीलाई भेट्नुहुन्थ्यो । उहाँहरुको उत्साह बढाउनुहुन्थ्यो । उहाँजस्तै महन्थ ठाकुर र उपेन्द्र यादवले पनि पनि सबै नाकाहरुमा पुग्नुभयो र बस्नुभयो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकदलका चारैजना अध्यक्षहरुले सबै ठाउँमा पुग्नुभएको छ र हरेक किसिमका आन्दोलनको/प्रदर्शनको नेतृत्व गर्नुभएको छ । मानव साङ्लोको नेतृत्व गर्नुभएको छ । जति कार्य भएका छन् ती सबै कार्यहरुको संयुक्तरुपमा एकजुट भएर गर्नुभएको छ । यस्तोमा कसैले पनि यो दाबी गर्छ कि मैले नै गर्दा भएको हो भने त्यो मोर्चाको संस्कारविपरीत हुन जान्छ । त्यो हुनुहुँदैन । यस्तो विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।

विराटनगरको सीमानाकामा राजेन्द्रजी कुटिनु भयो । उपेन्द्रजीले तत्काल प्रतिक्रिया दिनुभयो कि यो नौटङ्की हो । त्यतिबेला मोर्चालाई मोर्चाको सस्ंकार भनेको एउटा घटक दलका अध्यक्षके विरुद्ध त्यसरी बोल्नु हुँदैन भन्ने हेक्का थिएन ?
मलाई लाग्दैन कि उपेन्द्रजीले त्यस्तो कुनै प्रतिक्रिया दिनुभएको छ । यदि दिनुभएको छ भने त्यसलाई पनि ठिक मान्न सकिन्न । तर मलाई थाहा छ, जुन दिन राजेन्द्र महतोजीसंग राज्यले त्यस्तो व्यवहार विराटनगरमा गर्यो । हामी चाहिँ सङ्घीय समाजवादी फोरमको संसदीय दलमा बसेका थियौं र उपेन्द्र यादवजी त्यहाँ प्रतिक्षारत हुनुहुन्थ्यो । र, उहाँले विज्ञप्ति पहिलेदेखि नै तयार गरेर बस्नुभएको थियो । त्यहाँ हामी छलफल गर्यौं, समीक्षा गर्यौं कि कुन हिसाबले त्यस्तो घटना चाहिँ हुन गयो । त्यसमा हाम्रा कमजोरीहरु के थिए । सरकारले कसरी दमन गर्यो । त्यो कुराको छलफल चाहिँ जरुर त्यहाँ भएको छ । उपेन्द्रजीले नै भत्र्सनाको विज्ञप्ति पहिले नै तयार पर्नु भएको थियो र हामीले त्यहीँबाट भत्र्सना गरेका थियौं र सरकारलाई निन्दा पनि हामीले गरेका छौं । त्यसकारणले उहाँले त्यस्तो भन्नुभएको छ जस्तो मलाई लाग्दैन । मलाई लाग्छ, केही तत्वहरु जो मोर्चाका नेताहरुका बीच विवाद उत्पन्न होस् भन्ने चाहन्छन् उनीहरु यस्तो कुरा फिँजाउन सक्रिय छन् । कुनै नेताको प्रशंसा गर्ने र कुनै नेताको बदख्वाइँ गर्ने काममा लागिरहेका छन् । सामाजिक सञ्जालमा पनि केही त्यस्ता व्यक्तिहरु छन् । जो उट्पटयाङ्ग कुराहरु राखेर पोष्ट गर्ने गर्छन् । र त्यसलाई चाहिनेभन्दा बढी बढावा दिने कोशिस गरिरहेका छन् । उनीहरुका तर्फबाट यस्तै मनगढन्त र निराधार कुराहरु आउने गर्छन् । मोर्चामा कुनै पनि किसिमको मतभेद छैन । यतिका दिनसम्म एकै ठाउँमा बसेर काम गर्दा अलिकति गलतफहमी उत्पन्न हुन्छ नै । तर मोर्चा थप सशक्त भएको छ । मोर्चामा थप तीनओटा दलहरु आबद्ध हुनु भनेको यसैको परिणाम र प्रमाण हो ।
जेपी गुप्ताको आरोप छ छ कि माघ महिनाको आरम्भदेखि नै नाकाहरुलाई खुकुलो बनाइयो । । प्रदर्शन पनि कमजोर पारियो । मोर्चाले यी सबै कामलाई योजनाबद्ध तरिकाले गर्यो । कांग्रेस महाधिवेशनपछि बन्ने सरकारमा आफ्नो स्थान सुरक्षित गराउन मोर्चाका घटक दलहरु प्रयत्नशील छन् । उहाँको आरोप त झट्ट हेर्दा सहीजस्तै लाग्छ ?

उहाँले त्यसो भनेको मैले पनि सुनेको छु । तर अहिलेसम्म जति पनि मधेश आन्दोलन भएका छन् त्यसपछि सरकारमा जानेहरुमा जयप्रकाश गुप्ताजी स्वयं पर्नुहुन्छ । हरेक आन्दोलनपछि सरकारमा जाने व्यक्तिका रुपमा उहाँ आफैँ देखिनुभएको छ । जहाँसम्म मोर्चाले आन्दोलनलाई खुकुलो पार्दै गयो अनि त्यसपछि सरकारमा जाने वातावरण बनाउँदै गयो भन्ने उहाँको आरोपका बीच मैले उहाँलाई नै याद दिलाउनुपर्ने हुन्छ कि केही दिन अघि नै उहाँसमेत सम्मिलित सङघीय समावेशी गठबन्धनको बैठकले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको आमहड्ताल, जारी सीमा धर्नासमेतलाई फिर्ता लिने निर्णय सार्वजनिक गरेको थियो । यो एउटा अराजनीतिक हस्तक्षेप मात्र होइन, आन्दोलनलाई नै क्षति पुर्याउने काम थियो । त्यसकारणले यदि उहाँले त्यस्तो आरोप लगउनुहुन्छ भने त्यो आरोपको बारेमा मैले केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन । मलाई हाँसो मात्र उठ्छ ।
तपाईंले भनेझैं जयप्रकाश गुप्तासहितका केही पार्टीका अध्यक्षहरुले यस्तो निर्णय गर्नुभएको थियो भने सजाय चैँ मोर्चाले गुप्तालाई दिने अरुहरुलाई पुरस्कृत गर्ने । यो अन्याय भएन र ?
होइन । सङ्घीय समावेशी गठबन्धनले मोर्चाको निरन्तरतामा एक्यबद्ध भएर बढ्न चाहेको निर्णय हामीसमक्ष प्रस्तुत गर्दा हामीले पनि brikhesh_chandra_lal_1

मोर्चा सिँदरबार पस्न खोजेको जेपी गुप्ताको आरोप छ । तर अहिलेसम्म भएका मधेश आन्दोलनपछि बनेका सरकारमा जानेहरुमा गुप्ताजी स्वयं पर्नुहुन्छ ।
मोर्चाको दायरालाई बढाएर आन्दोलनलाई सशक्त बनाउन खोजेकाले उहाँहरुलाई समावेश गरिएको हो । अहिले हाम्रो अर्जुनदृष्टि भनेकै आन्दोलनलाई मजबूत बनाउने हो । अर्को कुरा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा अहिले समावेश भएका दलहरु पहिले पनि मोर्चामै थिए । मोर्चाले ती दलहरुलाई हटाएको थिएन । उहाँहरु नै संविधानको मस्यौदा आइसकेपछि आन्दोलन सुरु गर्ने बेलामै टाढिए । अहिले आएर मोर्चामै आबद्ध भएर जारी आन्दोलनमा क्रियाशील हुने प्रतिबद्धता जनाएपछि हामीले स्वागत गरेका छौं ।

साँच्चिकै तपाईहरुले सङ्घीय समावेशी गठबन्धनलाई फुटाउनु भएको हो कि मोर्चालाई बिस्तारित गर्नु भएको हो ?

हामीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बिस्तार चैँ गरेका छौं ।
जेष्ठ २५ गते तीन ठूला दलबीच १६ बुँदे सहमति भएपछि चौथो पक्षका रुपमा विजयकुमार गच्छदारले हस्ताक्षर गरेपछि मोर्चाले कारवाही गर्यो । २८ गतेपछि अहिले मोर्चामा आबद्ध भएका र त्यतिबेला पनि भएका दलहरु बेपत्ता भए । तपाईंहरुले नै भन्नुभयो कि ती पार्टीहरु मधेश आन्दोलनबाट विमुख भए । अहिले आएर फेरि तिनै पार्टीहरुलाई आन्दोलनकारीको प्रमाणपत्र दिनुभयो त ?
हेर्नुस, मधेशीहरुलाई थिचोमिचोमा पार्न र संविधान निर्माण प्रक्रियाबाट अलग्गयाउन तीन दलका बीचमा १६ बुँदे सम्झौता भयो । त्यसमा विजय गच्छदारजीले हस्ताक्षर गर्नुभयो । यसले गर्दा उहाँ प्रत्यक्षतः मधेशीका विरुद्ध उभिनुभयो भन्ने ठहर गर्दै उहाँलाई मधेशी मोर्चाबाट अलग गरिएको हो । १६ सुत्रीय सम्झौता र खास गरेर संविधानको प्रारम्भिक मस्यौदा सार्वजनिक भएपछि मधेशकेन्द्रित दलहरुका लागि त्यसको विरद्धमा एकजुट भएर खडा हुनुको विकल्प थिएन तर त्यसमा केही मधेशकेन्द्रित दलहरुको साथ नपाउँदा वास्तवमा हामीलाई विरक्ति नै भएको हो । र, उहाँहरु विमुख नै हुनुभएको थियो । तर उहाँहरुले अब आफ्नो विमुखताबाट मुक्त भएर यस आन्दोलनमा समावेश हुन चाहनुहुन्छ भने विश्वासका साथ हामीले उहाँलाई साथ लिएका छौं । उहाँहरुको आगामी क्रियाकलाप र क्रियाशीलता नै उहाँहरुको प्रतिबद्धताको प्रमाणपत्र हुनेछ ।
भनेपछि पछिल्लोपटक समावेश भएका दलहरुका गतिविधिलाई अनुगमन र मूल्याङ्कन गर्ने तथा निष्कर्ष दिने ठेक्कापट्टा मोर्चाले नै गर्ने भो । हैन ?
होइन, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा सामेल भएका सबै घटकहरुको समीक्षा, र आन्दोलनका गतिविधिहरुको समीक्षा त मोर्चाले गर्छ नै । त्यसअनुसार मोर्चा अघि बढ्छ नै । तर मोर्चाको आन्दोलनमा हामी कति क्रियाशील छौं । मधेश र देशप्रति कति इमानदार भएर हामी कति अगाडि बढ्दै छौं । जनताप्रति कति प्रतिबद्ध छौं । र, अहिलेको आवश्यकता के हो र त्यो आवश्यकतालाई कति प्राथमिकताका साथ हामी अगाडि बढाइरहेका छौं भन्ने कुराबाट दलहरुलाई जनताले मूल्याङ्कन गर्ने हो ।
केही दिनअघि गठबन्धनको बैठकले सीमानाकाको धर्नाबारे एउटा पनि वाक्य प्रयोग नगरी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको थियो । मोर्चाले आव्हान गरेको आन्दोलनलाई फिर्ता लिने विषयमा गठबन्धनले टिप्पणी किन गर्ने भनेर तपाईहरुलाई घोच्यो । तर दुई सातामा यस्तो के चमत्कार भयो कि गठबन्धनका दलहरुलाई मोर्चामा सामेल गर्नेपर्ने कुरा निष्कर्षमा पुग्नुभयो ।
हेर्नुस । आफूले गरेको काम कार्वाही आफूलाई नै महसूश भएपछि आएको अभिव्यक्ति सबैभन्दा महत्वपूर्ण हो । हामीले के विश्वास गर्छौं भने अब हामी आउने दिनहरुमा एकजुट भएर र हातमा हात मिलाएर अगाडि बढ्छौं ।
तर दुई महिनाअघि देखि नै गठबन्धनका अध्यक्षहरुले पटकपटक महागठबन्धनका लागि आग्रह गरिरहेका थिए । तपाईंहरुले त वास्तै गर्नुभएन । मोर्चाकै एउटा घटक दलका अध्यक्ष महेन्द्र यादवले त कुनै पनि हालतमा अन्य दललाई मोर्चामा लिन नसकिने जिकीर गर्नुभएको थियो । सम्झना छ नि ?
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रारम्भिक मस्यौदा सार्वजनिक हुनेबित्तिकै संसददेखि सडकसम्म त्यसको प्रतिवाद गर्दैआएको छ । हामीले मस्यौदालाई च्यात्यौं र जलायौं । मोर्चाको आन्दोलनलाई समर्थन कसैले गर्छ वा गर्दैन भन्ने कुराको मूल्याङ्कन ती प्रतिकारका कार्यक्रमहरुमा को सहभागी छन् वा छैनन् भन्ने कुराले नै प्रष्ट हुन्छ । त्यतिबेला उहाँहरुको सहभागिता देखिएन । अहिले आएर मोर्चाका कार्याक्रमहरुमा उहाँहरुका कार्यकर्ताहरु सहभागी भइरहनुभएको छ । उहाँहरुले मोर्चाले प्रस्तुत गरेको एघारसुत्रीय मागलाई आन्दोलनको मागको रुपमा समर्थन गर्नुभएको छ । आन्दोलनलाई सघाउने आकांक्षा व्यक्त गर्नुभएको छ । त्यसैले विभिन्न चरणमा भएका छलफलपछि हामी सँगै अगाडि बढौं र मोर्चालाई बिस्तारित गरौं र मोर्चाको दायरा बढाऔं भन्ने निष्कर्षका साथ एक्यबद्ध भएका छौं ।
मोर्चाका तीन दल एक ठाउँमा र एउटा दल अलिकता टाढा देखियो । के अब मोर्चामा आबद्ध दलहरुमा पनि एबीसी गे्रडजस्तो वर्गीकृत अवस्था देखा पर्नसक्छ ?
होइन । यो स्थिति छैन र रहँदैन पनि । बीचमा जुन गलतफहमीहरु भए, ती सबै अब समाप्त भएर जान्छ । आगामी दिनहरुमा त्यस्ता केही कुराहरु देखिने छैनन् ।

वालुवाटारको अस्तिको बैठकमा वार्ता सकारात्मक भएको भनिन्छ नि ?

अस्तिको वार्ता सम्भवतः २८ औं पटकको वार्ता हो । हरेक वार्ता एउटा निष्कर्ष वा टुङ्गोमा पुग्दा नपुग्दै विभिन्न घटनादूर्घटनाहरुले बिग्रिएका छन् । हत्या, दमन वा आक्रोशका कारण वार्ताहरुले सार्थक रुप लिन नपाएको स्थिति देखिँदैआएका छन् । त्यसैले अहिले जारी वार्ताले निष्कर्ष दिन्छ भन्न त गाह्रो छ । तर अहिले प्रधानमन्त्री आफैँले पनि र केही दिनअघि शीर्ष नेतृत्वतहको बैठकले अब वार्तालाई अगाडि बढाउनुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गरेको थियो । जसमा मधेशी मोर्चाले प्रस्तुत गरेको ११ ओटा बुँदालाई एकमुष्ठ सम्बोधन हुने गरी टुंग्याउनुपर्छ भन्ने प्रतिबद्धता सबै शीर्ष तहका नेताबाट आएको थियो । यसबीचमा दूर्भाग्यवश नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाको अकस्मात स्वर्गारोहण भयो जसले गर्दा यो चारपाँच दिन केही हुन सकेनन् । प्रधानमन्त्री स्वयंले वालुवाटारमा कार्यदलको बैठक बोलाउनुभएको थियो । मैले जानेसम्म सकारात्मक ढंगबाट नै वार्ता अघि बढिरहेको छ । तर अहिलेसम्म राजनीतिक संयन्त्र र त्यो संयन्त्रको कार्यक्षेत्र र विधिका बारेमा टीओआरको निक्र्योल हुनसकेको छैन । त्यसको संवैधानिक ग्यारेन्टीको निक्र्योल भएको छैन । आगामी एक दुई दिनमा स्पष्ट हुन्छ कि वार्ता सकारात्मक दिशातिर जान्छ कि जाँदैन । गएन भने आन्दोलनको विकल्प छैन र मधेशीहरु पुनः सशक्त आन्दोलनमा उत्रिनेछन् । 

धेरै वार्ताहरु विफल भएका छन् सत्तारुढ र मुख्य प्रतिपक्षी दल काँग्रेसका अडानका कारण । अहिले भारत भ्रमण जानुअघि केही विषयलाई किनारा लगाउने प्रधानमन्त्रीको छटपटीको साक्षी बन्दैछ वार्ता भन्ने पनि सुनिन्छ नि ?
प्रधानमन्त्रीज्यूले के सोच्नुहुन्छ भन्ने त्यो उहाँको कुरा हो । हामी चैँ हाम्रो मुद्दाको यथासम्भव छिटो सम्बोधन हुनुपर्यो भन्ने पक्षमा छौं । मुद्दाको सम्बोधन भएन भने आन्दोलन जारी रहन्छ । आन्दोलनको विकल्प छैन । हामीले यस कुरालाई नै ध्यानमा राखेका छौं । प्रधानमन्त्रीको विवेक जागेको पनि हुनुपर्छ वा उहाँले हामी हाम्रो घरेलु समस्यालाई आफैँले समाधान गर्नसक्छौं भन्ने सन्देश लिएर एउटा महत्वपूर्ण छिमेकी कहाँ जान चाहनुहुन्छ भन्ने पनि हुनसक्छ । यसमा मैले कुनै टिप्पणी गर्न उपयुक्त हुँदैन ।
तर मोर्चाको मुड पनि प्रधानमन्त्रीको छटपटीको साक्षी बन्ने देखियो नि । संविधान संशोधनका दुईओटा प्रस्ताव पारित गरिए । जसलाई तपाईहरुले अधुरो भनेर टिप्पणी गर्नुभएको छ । अब ती प्रस्तावलाई थाँती राखेर तपाईंहरु सीमाङ्कन र नागरिकतासम्बन्धी विषयमा प्रवेश गर्नुभएको छ । अधुरो तथा अपुरो संशोधनलाई स्वीकार्दैै जाने र अगाडिका अन्य प्रस्तावमा छलफल गर्ने कस्तो नीति हो ?

 

मोर्चाले प्रस्तुत गरेको मागअनुरुपको त्यो संशोधन छैन । हामीले पहिले नै भनिसकेका छौं कि संशोधन हामीलाई मान्य छैन । एघारसुत्रीय मागहरुका बारेमा पहिले पनि छलफल भएका छन् । तीमध्येका के के कुराहरुमा सहमति भएको छ भन्ने कुरा वास्तवमा सार्वजनिक भएको छैन । आधिकारिकरुपमा आएको छैन । त्यो चैँ सुनिन्छ मात्रै । तर अन्य बुँदाहरुमा दुवैतर्फका कार्यदलले सहमति पहिल्याइसकेको छ । टुङ्गोमा पुगिसकेको छ । बाँकी रहेका नागरिकता, सीमाङ्ककन र राष्ट्रियसभा तथा व्यवस्थापिका संसदमा पनि प्रतिनिधित्वको सबाल छन् । विश्वव्यापी लोकतान्त्रिक अभ्यासअनुसार एक व्यक्ति एक मतका आधारमा बढ्नुपर्छ भन्नेमा छलफल भइरहेको छ । यो देखिएको मात्र हो कि नागरिकता र सीमाङ्कनका बारेमा मात्र छलफल भइरहेको छ । अन्य बुँदामा पनि छलफल भइरहेको छ । एघारबुँदे मुद्दाको एकमुष्ठ सम्बोधन हुनुपर्छ भन्ने कुरामा मोर्चा दृढ छ । त्यो सम्बोधन नहुञ्जेलसम्म निष्कर्षमा पुग्न सकिँदैन ।
भनेपछि प्रधानमन्त्रीको भारत भ्रमणपूर्व सहमतिको गुञ्जायस छैन ?
सहमति प्रधानमन्त्रीजीको भ्रमणपूर्व पनि हुनसक्छ ।
दुईओटा बुँदामा छलफल गरेर एघारबुँदालाई कसरी सम्बोधन गराउन सकिन्छ ?
अन्य कुरामा पहिले पनि छलफल भएका छन् । मूल कुरा के छ भने एघारओटै कुराको सम्बोधन हुन्छ भने मात्र हामी सन्तुष्ट हुन्छौं र हामीले राखेका प्रस्तावअनुसार त्यसको सम्बोधन हुन्छ र जनताका आकांक्षाअनुसार सम्बोधन हुन्छ भने सकारात्मक दिशातिर अगाडि बढियो होइन भने आन्दोलनको निरन्तरता हाम्रो बाध्यता हुनेछ । त्यसको कुनै विकल्प हुने छैन ।

 

मोर्चा बिस्तारसँगै महागठबन्धनको कुरा हरायो त ?
महागठबन्धनको अर्थ मधेशको जारी आन्दोलनलाई समर्थन गर्ने मधेशकेन्द्रित राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्छ भन्ने हो । अहिले मधेशमा जुन आन्दोलन जारी छ । त्यो संयुक्त मधेशी मोर्चाले गरेको हो । त्यसकारणले मधेशी मोर्चाको बिस्तार नै महागठबन्धन हो । नाउँ जे दिए पनि हुन्छ ।
तर मोर्चा बिस्तार भए पनि थारु शक्ति समावेश भएन र भएकै मुस्लिम शक्ति छुट्टिएर गयो ।
मुस्लिम शक्ति हामीबाट छुट्टिएर गएको छैन । तपाईंले मुस्लिम गठबन्धनको कुरा गरिरहनुभएको होला । गठबन्धनको केन्द्रीय नेतृत्वको विचारबाट जिल्लाका कुनै पनि नेतृत्व समहत छैनन् । मुस्लिम गठबन्धन जिल्ला जिल्लामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एउटा महत्वपूर्ण अंगको रुपमा अत्यन्तै सक्रियतापूर्वक काम गरिरहेका छन् । त्यसमा चैँ अलि फरक विचार र आन्दोलनलाई मोलतोलको रुपमा प्रयोग गर्ने नेतृत्व मात्रै त्यसबाट छाँटिएका हुन् । थरुहट र अन्य पार्टीहरु हामीसँग संघीय गठबन्धनमा छन् । गठबन्धनमा मोर्चा एउटा घटकको रुपमा छ । त्यसकारण गठबन्धनमार्फत थरुहट समुदाय आदिबासी र जनजातिहरु यस आन्दोलनमा एकजुटता बनाइरहेका छन् । मोर्चाले थरुहटकेन्द्रित दलहरुसँग कुराकानी गरिरहेको छ । हामी विश्वास गर्छौं कि एक दुईदिनमै त्यसको प्रतिफल बाहिर आउँछ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *