सहिद पिताको प्रश्न–‘ भैरहवामा छमहिने नाकाबन्दी मेरै छोरो मार्नका लागि थियो त’

रामविकास चौधरी
भैरहवा, माघ २९ ।
रुपन्देहीको सदरमुकाम भैरहवामा लगाइएको छमहिना लामो निषेधाज्ञा माघ २६ गतेबाट हटाइएको छ । भदौ ३ गते भैरहवामा आन्दोलनको प्रतिकारमा भएको हिँसात्मक घटनापछि स्थानीय प्रशासनले भदौ ५ गतेदेखि थप्दै आएको लगातारको निषेधाज्ञा मधेश आन्दोलन समाप्तिको अनौपचारिक घोषणासँगै हटाइएको हो ।

sahid_shailendra_shreevastav

सहिद शैलेन्द्र श्रीवास्तव

के छ भैरहवामा? किनलगाईयो यति लामो निषेधाज्ञा ? शान्तिपूर्ण आन्दोलनका बाबजूद पनि किन मारिए दश निर्दोष मधेशी ? प्रश्नको जवाफ खोज्दैछन् भैरहवा आन्दोलनमा ज्यान गुमाएका शैलेन्द्र श्रीवास्वका पिता उदयबहादुर श्रीवास्तव । उनको प्रश्न छ,
सहिद पिताको प्रश्न–‘ भैरहवामा छमहिने नाकाबन्दी मेरै छोरो मार्नका लागि थियो त । विभिन्न ऐतिहासिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेको भैरहवालाई किन निरङ्कुश शैलीमा छ महिनासम्म थुनछेक गरियो ।’
०३६ सालको ऐतिहासिक जनमत संग्रहमा नेपालभरिमा भैरहवा सदरमुकाम रहेको रुपन्देहीबाट मात्र बहुदल जितेको इतिहास छ । राणाकाल, राजतन्त्र र बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म प्रत्येक परिवर्तनमा भैरहवा निर्णायक नै देखिएको छ । तर सरकारको अनुचित राजनीतिक हठ, जनताप्रतिको गैरजिम्मेवारीपन तथा मधेशवादी नेताहरुका व्यक्तिगत स्वार्थप्रेरित क्रियाकलापले अहिलेको मधेश आन्दोलन अधकल्चिएको हो ।’
वीरगन्जपछिको दोस्रो ठूलो व्यापार केन्द्र एवं नाका भैरहवामा मधेश आन्दोलनले उत्कर्ष लिँदै गर्दा सरकारपक्ष आत्तिएर आन्दोलन तुहाउन षड्यन्त्र रचेको राजेश चौधरीको भनाइ छ । भैरहवामा शिक्षण पेशामा संलग्न रहँदै विभिन्न आन्दोलनका अनुभव बटुलेका चौधरी भन्छन् –‘विश्वसमुदायको आकर्षणको केन्द्र एवं देशको प्रमुख पर्यटकीय नगरी लुम्बिनीसँगै जोडिएको भैरहवामा मधेश आन्दोलनउठानमा थियो । अन्तर्राष्ट्रिय समुदायको विशेष निगरानीमा रहेको लुम्बिनीमा आन्दोलन प्रभावकारी बन्यो भने सरकारलाई घुँडा टेक्न बाध्य हुनु पर्दथ्यो । त्यसैले नेपाल सरकारकै योजनामा स्थानीय प्रशासनमार्फत मधेश आन्दोलन दबाउनका लागि लगातारको लामो निषेधाज्ञा थपिएको थियो ।’
‘भदौ ३ गतेको त्यो कालो दिनअघि भैरहवा मधेश आन्दोलनको प्रमुख थलोे थियो । मधेशभरिमै शान्तिपूर्ण र उत्साहजनक सहभागिताका साथ आन्दोलनले उचाइँ थपिरहेको थियो कि सरकार र ठूला दललाई सह््य भएन । काठमाडौंको कपटपूर्ण निर्देशन तथा मधेशकै केही खलपात्र र स्थानीयप्रशासनको योजनाले भैरहवालाई रक्ताम्य बनाएको बताउँछन् संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादव । उनी भन्छन्,–‘परिवर्तनका पक्षमा भएका यहाँका विभिन्न ऐतिहासिक क्रान्ति र पछिल्लो आन्दोलनमा मधेशी जनताको उत्साहजनक सहभागितालाई समीक्षा गर्दै आन्दोलन तुहाउनका लागि सरकारी पक्षले यति लामो निषेधाज्ञाको प्रपन्च रचेको हो ।’

nisedhagya_bhaiarahawa
०४६ को जनआन्दोलन, ०६४ को मधेश विद्रोह, ०३६ को जनमत संग्रह, र २००७ सालको ऐतिहासिक क्रान्तिमा भैरहवाको निर्णायक भूमिका रहेको जानकारहरु बताउँछन् । सदभावना पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरी भन्छन् –‘भैरहवा देशका प्रबुद्ध राजनीतिकर्मी, उद्योगीव्यापारी आदिको थलो हो । विश्व शान्तिको मुहान महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि हो । त्यसैले सरकारको ध्यान यस नगरप्रति केन्द्रित हुनु पनि स्वाभाविकै हो । यसका बाबजूद पनि पछिल्ला इतिहास केलाउने हो भने जुनसुकै आन्दोलनमा भैरहवाको भूमिका अत्यन्त महत्वपूर्ण र निर्णायक देखिएको छ । त्यसैले यहाँको आन्दोलनलाई दबाएर मधेशीको आवाजलाई सधैँभरिका लागि थुनछेक गर्न र बोधो बनाउन सरकारको दमनकारी कदम बन्यो भैरहवाको निषेधाज्ञा ।’
तराई मानवअधिकार रक्षक सञ्जालका पश्चिम क्षेत्रिय मानवअधिकार संयोजक शैलेन्द्र अम्बेडकर भन्छन्–‘भाद्र ३ र २९ गतेको पाशविक घटना राज्यको आन्तरिक संलग्नतामा योजनाबद्ध तरिकाले गराइएको हो । सो घटनामा नेपाल सरकार र नेपालका ठूला पार्टीहरुको पनि संलग्नता देखिएको छ । उक्त घटनामा अन्तर्राष्ट्रिय तथा मानवीय कानूनको उललंघन भएको छ । यसबीच राज्य पक्षबाट भएका प्रायःजसो क्रियाकलाप मानवताविरुद्धको अपराधको रुपमा देखापरेका छन् । मधेशी जनतालाई दबाउनका लागि दशजनाको नृशंस हत्या गरिएको छ । आन्दोलन उचाइँमा पुगेर निर्णायक बन्ने निश्चित भएको बेला रगंभेदका आधारमा यो घटना गराइएको हो । भैरहवामा आन्दोलन मत्थर हुनुमा मधेशी मोर्चाको समेत लापरवाही देखिएको छ ।
तर रुपन्देही प्रशासनका प्रमुख विष्णु ढकाल भन्छन्,– ‘मधेश आन्दोलन, नाकाबन्दी र भारतसँगको खुला नाकाका कारण रुपन्देहीको भैरहवा अन्य जिल्लाभन्दा बढी संवेदनशील छ । बेलहिया नाका र विमानस्थल सुचारु राख्न पनि भैरहवामा यति लामो निषेधाज्ञा थप्नु परेको हो ।’ लगातारको निषेधाज्ञामा शान्तिसुरक्षाबाहेक अन्य कुनै पनि राजनीतिक कारण नरहेको उनको भनाइ छ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *