Tuesday, May 22, 2018
Home > top news > मधेशमा सेना परिचालन असंवैधानिक : अनुपराज शर्मा

मधेशमा सेना परिचालन असंवैधानिक : अनुपराज शर्मा

 

किरण कर्ण

जनकपुर, माघ २७ ।

लामो समयदेखि जारी रहेको मधेश आन्दोलनको क्रममा मानवाधिकारको अवस्था बुझ्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई एक छलफल कार्यक्रममा सहभागीहरुले कडा आलोचना गरेका छन् ।

राज्यले झैँ आयोगले पनि खसचरित्र देखाएर विभेद गरेको भन्दै वक्ताहरुले आयोगको काम कारवाही खास वर्गको स्वार्थसाधनमा केन्द्रित बनेकोमा सहभागीहरुले आलोचना गरेका हुन् ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मधेश आन्दोलनको समयमा सरकारले तराईमा सेना परिचालन गरेर आफ्नो अधिकारको दुरुपयोग गरेको बताएका छन् । नेपाली सेना बाह्य हस्तक्षेपको अन्तिम समयमा मात्र परिचालित हुने संवैधानिक र कानूनी मान्यताको खिल्ली उडाउँदै सरकारले मधेशका जिल्लामा सेना परिचालन गरेर पदीय मर्यादाको उल्लंघन गरेको बताएका हुन् ।

manab_adhikar_aayog_anup_sharma

“सरकारले मधेशमा संवैधानिक मान्यताविपरित सेना परिचालन गर्नु पदीय मर्यादाको उल्लंघन हो । मधेश आन्दोलनको क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाहरुको जिम्मेवारी सरकारले लिनुपर्छ ”

अनुपराज शर्मा, अध्यक्ष

राष्ट्रिय मानवअधिकार आयोग

जनकपुरमा मंगलबार मधेश आन्दोलनमा मानव अधिकार अवस्थाको छलफल विषयक कार्यक्रममा बोल्दै उनले प्रत्येक जनताको आफ्नो पहिचान र विचारलाई स्थापित गर्न शान्तिपूर्ण आन्दोलनको अधिकार भएको उल्लेख गर्दै सरकारको दमनकारी नीतिबाट मधेशमा मानव अधिकारको घोर उल्लंघन भएको प्रष्ट पारेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा नेपालको संविधान घोषणाअघि र पछि भएका आन्दोलनको क्रममा मानवअधिकारको अवस्था अनुगमन प्रतिवेदन पुस्तक प्रस्तुत गर्दै मधेश आन्दोलनको क्रममा सरकारपक्षबाट भएका मानव अधिकार हननका घटनाको पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने आयोगका अध्यक्ष शर्माले बताएका छन् ।

कार्यक्रमलाई आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारी, सचिव वेदप्रसाद भट्टराई, क्षेत्रीय कार्यालयका प्रमुख सुवर्ण कर्माचार्य, मानवअधिकार अधिकृत बुद्धनारायण सहनी केवट लगायतका व्यक्तिहरुले सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: