Saturday, December 15, 2018
Home > top news > ओलीको टुङ्गो नलाग्दा मधेशी मोर्चाको बैठक बस्न कठिन

ओलीको टुङ्गो नलाग्दा मधेशी मोर्चाको बैठक बस्न कठिन

morcha-leaders1
सञ्चारक
काठमाडौं, माघ २४ ।
वीरगञ्ज सीमानाकाबाट आवागमन सहज बनेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई घटकबीचको विवाद तीब्र हुँदा आइतबार पनि मोर्चाको बहुप्रतीक्षित बैठक बस्न सकेन । सङ्घीय समाजवादी फोरम नेपाल र सदभावना पार्टीका दुईजना राजनीतिक कर्मचारीहरुले लगालग दुवै पार्टीका अध्यक्षका विरुद्ध विषवमन गरेपछि बढेको तनावपछि मोर्चाको अवश्यम्भावी बैठक आइतबार पनि अवरुद्ध भएको हो । यद्यपी मोर्चाका दोस्रो तहका नेताहरुले भने अध्यक्षहरुको कार्यव्यस्तताले बैठक बस्न नसकेको दाबी गरेका छन् ।
बैठक बस्न सोमबार पनि कठिन हुने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका लागि बाटो खोल्ने उपायमा सरकार र मोर्चाबीच सहमति नहुँदासम्म बैठक बस्न कठिन रहेको स्रोतहरुको भनाइ छ ।
तराई मधेश सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले नेताहरुको कार्यव्यस्तताले बैठक बस्न नसकेको बताए । सदभावना अध्यक्ष राजेन्द्र महतोले वीरगञ्ज नाकालाई सहज बनाउने प्रस्तावलाई आफूले मोर्चाको बैठकमा प्रस्तुत गर्ने बताएपछि फोरमका अध्यक्ष उपेन्द्र यादव उनीसँग क्रुद्ध भएपछि सोही विषयलाई किनारा लगाउन बस्ने भनिएको मोर्चाको बैठक बस्न नसकेको हो ।
१ सय ३५ दिनसम्म पूर्णरुपमा ठप्प रहेको वीरगन्ज–रक्सौल नाका भने सदभावना अध्यक्ष महतोको सबै नाका बन्द हुनुपर्ने नभए वीरगञ्ज नाका खुल्नुपर्ने अभिव्यक्तिपछि सुचारु भएको थियो । उनको अभिव्यक्तिलगत्तै शुक्रबार स्थानीय र भारतीय व्यापारीको प्रतिकारमा नाकाको अवरोध खुलाइएको हो । तमलोपाका महामन्त्री जितेन्द्र सोनल, सांसद् लालबाबु राउतलगायतका नेता र आन्दोलनकारी कार्यकर्ताहरु पुगेर नाका पुनः बन्द गर्न खोज्दा नाकामा धर्नालाई निरन्तरता दिन सकिएको थिएन ।

सरकार र मोर्चाका नेताहरुबीच सहमति हुनेबित्तिकै मोर्चाले अधिकारिकरुपमा सीमानाका खोल्ने निर्णय गरेर प्रधानमन्त्री केपी ओलीका लागि भारत भ्रमण गर्ने बाटो प्रशस्त गर्नेछ ।
सुत्रहरुका अनुसार नाका खोल्न बढ्दो दबाबका बीच सदभावना अध्यक्ष महतोले नाका खोल्नुपर्ने अभिव्यक्ति हतारिएर दिएका थिए । नाका अवरुद्ध हुनाका कारण आफूलाई दोषारोपण गरिएको भन्दै उनी नाकालाई सहज बनाउने बारे पहिलो टिप्पणी गरे । यद्यपी नाका सञ्चालन गर्न कतैबाट अकाट्य निर्देशन आएपछि भने मोर्चाका सबै घटक दलका अध्यक्षहरु तरतम्य मिलाएर नाका खोल्ने तयारीमा थिए । नाका खुल्ने जस महतोले लिने त्रासले पनि मोर्चाका अन्य घटकहरुलाई उनको अभिव्यक्ति अप्रिय क कडा लागेको बताइन्छ । सामाजिक सञ्जालका सदस्यहरुले भने महतोको अभिव्यक्तिलाई आन्दोलन तुहाउने षड्यन्त्रको हिस्साका रुपमा लिएका छन् ।
यता सदभावनाका महासचिव मनिष सुमनले नाका खोल्नेबारे मोर्चाले आधिकारिक निर्णय नगरेको भन्दै आफ्नो पार्टीका अध्यक्ष महतोले नाका खोल्ने प्रस्ताव लिएर मोर्चाको बैठकमा जाने मात्र बताउनुभएको उल्लेख गरेका छन् ।
नाका खोल्ने वा नखोल्ने विषयमा मोर्चा अधिकारिकरुपमा अनिर्णित भइरहँदा सरकार र मधेशी मोर्चाका नेताहरुबीच अनौपचारिक वार्ता जारी छ । सीमाङ्कनको विवादलाई सुल्झाएर निश्चित अवधिका लागि आयोग गठन गर्ने र आयोगलाई वैधानिकरुपमा सुनिश्चत गर्ने विषयमा छलफल अघि बढेको बताइएको छ । सरकार र मोर्चाका नेताहरुबीच सहमति हुनेबित्तिकै मोर्चाले अधिकारिकरुपमा सीमानाका खोल्ने निर्णय गरेर प्रधानमन्त्री केपी ओलीका लागि भारत भ्रमण गर्ने बाटो प्रशस्त गर्नेछ ।

%d bloggers like this: