यादव र महतोबीचको लडाइँ र ठाकुरसँगको अपेक्षा

अनिलकुमार कर्ण

वैचारिक राजनीतिका मधेशी ‘प्रौढ’ जयप्रकाश गुप्ताले मधेश आन्दोलनलाई अलप, अलपत्र र विचलित भएको बताएका छन् । वीरगञ्ज नाका सहज हुँदै गएपछि जेपीको यस्तो अतुल्य र उपयोगी धारणा सार्वजनिक भएको हो । यता काँग्रेस राजनीतिका धर्माधिकारी विमलेन्द्र निधिले जनकपुरमा आन्दोलनको औचित्य सकिएको उदघोष गरेका छन् ।

आन्दोलनलाई चर्काउने भनेर कठिन परिस्थितिका बीच रङ्गेली पुगेका राजेन्द्र महतोले केही दिनपछि नै कि त  सबै नाका बन्द गरौं कि त वीरगञ्ज नाकालाई सहज बनाऊ भन्दै केपी ओली र पुष्पकमल दाहालको ‘आशिर्वाद’ पाउनु जति सन्देहास्पद छ उतिकै आन्दोलनलाई काठमाडौं खाल्डोमा मिल्काउने उपेन्द्र यादवको दृढता शक्तिहीनता र आत्मसन्तोषको पराधिनता हो । वीरगञ्जबाहेकका नाकालाई ठप्प गर्ने अनकूलता वा सामथ्र्य हिजो पनि मोर्चामा थिएन नत आज नै यादवले चाहेर सिँहदरबारमा ताल्चा लाग्ने स्थिति बनेको छ । तरिका फरक छन् । तर आन्दोलनबाट दुवैजना हटक भएका छन्
आन्दोलनबाटै मधेशी जनताले अधिकार पाउने विश्वासको दृष्टिले कट्टर मानिने सदभावना अध्यक्ष राजेन्द्र महतोका निकटस्थ सञ्चारकर्मी पंकज दासले अभिमन्यूजस्तो चक्रव्यूहमा परेर आन्दोलनलाई हाँक्न नसकिने बरु

अनिलकुमार कर्ण

अनिलकुमार कर्ण

अर्जुनदृष्टिले शक्ति सञ्चिति गर्दै लक्ष्यभेद गर्नुपर्ने बताएका छन् । बाँकीबक्यौतामा ‘राष्ट्रिय नेता’ उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले राजेन्द्र महतोलाई स्टन्टवाज, विवादास्पद र गद्दार नेता घोषित गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाटै निकाल्नुपर्ने निष्कर्ष पस्केका छन् ।
सीमानाकाबाट मधेशी आन्दोलनकारीहरु क्रमशः टाढिने स्थिति बनेपछि जिम्मेवार व्यक्तिहरु र उनका सहयोगीहरुका धारणालाई एकत्रित गर्ने हो भने बुझ्न कठिन छैन कि अब मधेश आन्दोलनको अहिलेको स्वरुप ‘मुल्तबी’ मा परेको छ । यद्यपी नेता उपेन्द्र यादवले आन्दोलन समाप्त भएको दिवास्वप्न नहेर्न चेताउँदै आन्दोलन काठमाडौंकेन्द्रित हुने जानकारी साझा गरेका छन् । अर्थात् आन्दोलन बाकाइदा सीमानाकाबाट काठमाडौंमा सरेको छ । आन्दोलनको यस्तो विज्ञानलाई जेपीले बुझ्न सकेका छैनन् । र, उनले लेखेका छन्–‘अब वार्ता र अडानबाट केही पाउनु भनेको आन्दोलनको विज्ञानविपरित हो ।’
यी जम्मै कुराहरुले के प्रष्ट भएको छ भने आन्दोलनको स्वामित्व ग्रहण गरेकाहरु समयसँगै अनुत्तरदायी, विपथगामी र दूर्बल भएका छन् । आन्दोलन लम्बिँदै जाँदाको दुष्प्रभाव र अनिष्टलाई बेलैमा केलाउन नसकेका र त्वरित ढङ्गले पल्टाबाजी मारेका नेता महतोको ज्ञानमा बिर्को त अवश्य पनि लागेको छैन नत कार्यव्यस्तताले गर्दा निकै गारोसारो परेको बेला मोर्चाको बैठक बोलाएर एउटा ठोस निर्णय लिने कामबाट पन्छिने यादवको बुद्धिमा सेँध नै । एउटै मुद्दा र एउटै आन्दोलनको नाउँमा मधेशकेन्द्रित दलहरुबीच महागठबन्धन बनाउने प्रयास भइरहँदा राजेन्द्र र उपेन्द्रबीचको पारस्परिक प्रतिकूलताले दुवैको आदर्श र विचारमा रातारात भिन्नता आएको बुझ्न अप्ठ्यारो छैन । योग्यताको कसौटी जनहितकारी नभएर स्वामिभक्ति भएपछि परपस्पर अनुकूल पक्षबीच कलह आउनु संयोग होइन । स्वाभाविक प्रतिफलन हो । अब विवाद, विमति र वैमनस्य ओकल्ने जुन श्रृंखला सुरुभएको छ सहयोगीहरुको आवरणमा, त्यसले आन्दोलन अवश्य पनि तुहिन्छ । कम्तीमा तत्कालका लागि ।
आन्दोलनलाई चर्काउने भनेर कठिन परिस्थितिका बीच रङगेली पुगेका महतोले केही दिनपछि नै कि त  सबै नाका बन्द गरौं कि त वीरगञ्ज नाकालाई सहज बनाऊ भन्दै केपी ओली र पुष्पकमल दाहालको ‘आशिर्वाद’ पाउनु जति सन्देहास्पद छ उतिकै आन्दोलनलाई काठमाडौं खाल्डोमा मिल्काउने यादवको दृढता भने शक्तिहीनता र आत्मसन्तोषको पराधिनता हो । वीरगञ्जबाहेकका नाकालाई ठप्प गर्ने अनकूलता वा सामथ्र्य हिजो पनि मोर्चामा थिएन नत आज नै यादवले चाहेर सिँहदरबारमा ताल्चा लाग्ने स्थिति बनेको छ । तरिका फरक छन् । तर आन्दोलनबाट दुवैजना हटक भएका छन् ।

शक्तिको समयानुकूल बन्नु र उनलाई प्रसन्न तुल्याउनु नै योग्यताको सही परिचायक हो भन्ने शैलीमा आन्दोलनको ‘बागडोर’ लाई मोर्चाका नेताहरुले कतै बुझाए वा कतै लगेर सेलाए भन्ने आन्दोलनकारी जनताको प्रश्न अनुत्तरित छ । शासकहरुको पुत्लादहन गर्ने वीरगञ्जका आन्दोलनकारहरुले मधेशी नेताहरुका तस्बीरमा कालोमोसो दलेका छन् । आक्रोशको यो रुप ‘दर्दनाक’ र खतरनाक छ । त्यसैले परिस्थितिको निर्मम मूल्यांकन हुनुपर्ने जेपीको माग अनुचित होइन ।
अहिलेसम्म पनि मोर्चाको अध्यक्षस्तरीय बैठक अनिश्चित छ । अलमलमा छन् नेताहरु । दोस्रो तप्काका नेताहरुले आफ्नै अध्यक्षको मनोविज्ञान बुझ्न सकेका छैनन् । अध्यक्षको आत्मकेन्द्रित र आत्मोच्छित व्यवहारको यस्तो दूर्दशापूर्ण मोडबाट मधेशकेन्द्रित दलहरुलाई कहिलेकाँही मात्र गुज्रिनुपरेको थियो । त्यो पनि का घरेलु विषय वा सत्तारोहणको सन्दर्भमा मात्र । आज जब हजारौं मधेशी जनताको इज्जत, प्रतिष्ठा र मर्यादा आन्दोलनको नाउँमा दाउमा लागेको छ त्यतिबेला आन्दोलन हाक्ने बल देखाएकाहरुले जनतालाई दिशानिर्देश गर्न नसक्नु काँतरता हो । जसको भर्पाईं उनीहरुले आगामी दिनमा अवश्य गर्नुपर्ने छ ।
मधेश आन्दोलनले पछिल्ला दिनहरुमा सरकार र मधेशकै तस्करहरुका लागि राम्रो साइत जुराएको छ । अवैध र अकूत सम्पत्ति जोड्न । बाबुले आन्दोलन गर्ने र छोरोले इन्धन ओसार्ने, बडो चातुर्यपूर्ण र सतर्कताका साथ काठमान्डूका लागि खाद्यान्न र इन्धन पठाउन मोर्चाकै नेताहरुले पहलकदमी गर्नेजस्ता विषय सतहमा नआएका होइनन् । सरकारले त हाकाहाकी नै तस्करले सघाएको भन्दै तस्करीतन्त्रमा संलग्नता र यसको महत्तालाई स्थापित गरेको छ । यसअर्थमा आन्दोलन सरकार र तस्कर दुवैका लागि आवश्यक छ । यस्तोमा काँग्रेस नेता विमलेन्द्र निधिले आन्दोलनको औचित्य छैन भन्नुलाई प्रतिपक्षी धर्मको निर्वहनको रुपमा मात्र लिन सकिँदैन । आन्दोलनको कुरुप प्रतिअसरहरुबाट मोर्चाका नेताहरु पनि बेखबर त थिएनन् । सीमानाकाको धर्नालाई फिर्ता लिने आशयलाई आन्दोलनको स्वरुप परिवर्तन गर्ने अर्थमा पनि लिन सकिन्छ वा लिनुपर्ने बाध्यता छ । महागठबन्धन बनाएर आन्दोलनको स्वरुपलाई परिवर्तित गर्नुपर्ने शरतसिँह भण्डारीको सुरुवाती मागलाई आज राजेन्द्र महतोले बोलेको प्रतीत भइरहेको छ । महागठबन्धन हुनुपर्ने भनेको केही दिनमै राजेन्द्र महतोले सीमानाबाट हट्नुपर्ने उर्दी जारी गरेको घटनाक्रमका बीच तारतम्य हुनुपर्छ । समयले यसलाई अवश्य खोतल्नेछ ।
तर अहिलेको सर्वाधिक उत्सुकता र जिज्ञासा भनेको मोर्चाका ‘जेठो’ नेता महन्थ ठाकुरको चुप्पी छ । कतै यो चुप्पी बन्धन धर्मको सचेत निर्वहन त होइन । तर पनि अहिलेको विकट अवस्थामा अनिर्णित मधेशलाई बाटो देखाएर ठाकुरले कुलाचरण गर्नुपर्छ भन्ने अपेक्षा गर्नु बेइमानी हुन सक्दैन ।
परिस्थिति पारदर्शी छ । केपी ओलीको भारत भ्रमण पनि प्रायः निश्चित । सीमानाकाबाट हट्नै पर्ने विवशता र किंकर्तव्यविमूढता पनि टार्न नसकिने । अनि यस्तो अर्घेलो किन ? हो यो प्रश्न मोर्चाको उत्तर नआउञ्जेल मधेशी जनताको मनमस्तिष्कमा घर गरिरहन्छ ।
                                     

                                           (लेखक सञ्चारक डटकमका प्रबन्धनिर्देशक हुन्)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *