Saturday, December 15, 2018
Home > समाचार > शीला पनि नयाँ शक्तिमा

शीला पनि नयाँ शक्तिमा

shila_yadav

सञ्चारक
काठमाडौं, माघ १९ ।
एकीकृत नेकपा माओवादीकी प्रभावशाली र पुरानो नेतृ शीला यादव डा.बाबुराम भट्टराईनेतृत्वको नयाँ शक्तिमा प्रवेश गर्नुभएको छ । माओवादी द्वन्द्वकालमा धनुषामा एकै परिवारका पाँचजनाले सहादत दिएको परिवारका सदस्य यादव एमाओवादीका अञ्चल कमिटी सदस्य रहनुभएको थियो । उहाँले सो पार्टीले दिएको सबै जिम्मेवारी परित्याग गरेर नयाँ शक्तिमा प्रवेश गर्नुभएको हो । यादवसँग करिब डेढ सयभन्दा बढी एमाओवादी कार्यकर्ताहरुले नयाँ शक्तिसँग जोडिने निर्णय गरेका छन् ।
नेतृ यादव तत्कालिन नेकपा माओवादीमा ०५१ सालमा थालेको जनयुद्धसँगै पार्टीको सैन्य, महिला, बुद्धिजीवि र शिक्षक फाँटमा काम गर्नुभएको छ । द्वन्द्वकालमा मकवानपुरदेखि सप्तरीसम्म क्रान्ति उपनाउँले काम गर्नुभएकी यादव एमाओवादी जनयुद्धका महान सहिद मानिने स्व.अजवलाल यादवकी धर्मपत्नी हुनुहुन्छ ।
०५८ सालमा सहादत प्राप्त गर्नुभएका पार्टीका तत्कालिन केन्द्रीय सल्लाहकार र प्रस्तावित केन्द्रीय सदस्य स्व.यादवका बुवा, दाजु, भाइ, बैनीज्वाइँ गरी पाँचजनाले माओवादी जनयुद्धमा ज्यान गुमाएका थिए ।
उहाँ ०६२/०६३ को जनआन्दोलनपछि स्थापित अन्तरिम विधायिकामा सदस्यसमेत हुनुहुन्थ्यो ।
एकीकृत नेकपा माओवादीले सहिद र जनताका एजेण्डालाई बिर्सिसकेको र सत्तालिप्सामा अल्झिसकेको हुँदा पार्टी परित्याग गरेको नेतृ यादवले बताउनुभयो । उहाँले नेपाली जनताले नयाँ विकल्प खोजिरहेको बेलामा नयाँ सोचका साथ आएको नयाँ शक्तिले नै रुपान्तरण गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ शक्तिले भने उहाँको जिम्मेवारी तोकिसकेको छैन ।

%d bloggers like this: