मधेशी नेताका अदूरदर्शिताले मधेशी नै नाकाबन्दीमा परे : रिजवान अन्सारी

rijwan_ansari

 

 

 

 

 

 

 

 

 

 

 

 

कुनै बेला मधेशको ‘मसीहा’ भनेर नेपालको राजनीतिक क्षितिजमा उदाएका उपेन्द्र यादवले कालान्तरमा आफ्नो राजनीतिक आकर्षण, प्रभाव र महत्तालाई कायम राख्न सकेनन् । प्रखर, तार्किक र मिहिनेती हुँदाहुँदै पनि संसदीय राजनीतिको तिकडमलाई गम्न नसक्दा उनको उचाइँ छोट्टिदै गयो । र, उनीनेतृत्वको मधेशी जनअधिकार फोरम नेपाल पटकपटक विभाजित भयो । पछिल्लोपटक जनजातिबाहुल्य सङ्घीय समाजवादी पार्टीसँग एकीकरणपछि सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष बनेपछि राजनीतिक आधार र हैसियतलाई बलियो बनाउने अनुभव हुन थालेको बेला एकीकृत पार्टीका अध्यक्ष यादव स्वेच्छाचारी, निरङ्कुश र अक्षम भएको आरोप उनकै पार्टीका एकजना प्रभावशाली नेता रिजवान अन्सारीले लगाएका छन् । पार्टीमा छुट्टै विचार समूह गठन गरेर पार्टी सुधार अभियान सञ्चालन गर्ने बताउने नेता अन्सारीसँग सञ्चारकका लागि अनिलकुमार कर्णले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ , त्यसको सारसंक्षेप ।

 

 

हो म विद्रोही हुँ

नाकाबन्दी गर्नेहरु आफैँ नाकाबन्दीमा परे । यसको जिम्मेवार को ?

नेतृत्वको अयोग्यता, अक्षमता र अदूरदर्शिताले बलिदानी धेरै उपलब्धि थोरै भयो

उपेन्द्र यादव कथित र अक्षम नेता हुन्

फुलबारी बनाउने भनेकाहरुले नै पार्टीलाई तोरीबारी बनाए

राज्यसँग समानुपातिक समावेशी माग्ने तर पार्टीमा चैँ नगर्ने । किन ?

मेरो गुनासो उपेन्द्र यादव र अशोक राई दुवैसँग छ

उपेन्द्र यादवले तानाशाही देखाए, अशोक राईले एकलजातीय चिन्तन

मुस्लिमलाई मधेशी हो भनेर मैले नै भन्न लगाएको हुँ

एमालेले हाम्रो माग पुरा नहुँदा हामी अलग्गियौंं
विचार समूहमार्फत पार्टीमा सुधार ल्याउने प्रयत्न गर्दैछौं

 

असन्तुष्टि र आक्रोश यी दुईओटा शब्दबाट बनेको व्यक्तित्व हो रिजवान अन्सारी भन्ने बुझ्दा अब हुन्छ ?

  • वास्तवमै यसो हेर्दा मेरो चैँ अलिकता विद्रोही स्वाभाव नै रह्यो । गलत कुरा र परम्पराका विरुद्धमा म सुरुदेखि नै सङ्घर्षरत रहेँ । म स्कूलमा पढ्दा तत्कालिन पार्टीहरुमध्ये सबैभन्दा क्रान्तिकारीहरु कम्यूनिष्ट नै हुन्छन् भनेर कम्यूनिष्टमा लागेँ । तर कम्यूनिष्ट पार्टीहरु त नाउँ मात्रका क्रान्तिकारी रहेछन् भनेर बुझ्न पनि संसदमै पुग्नुपर्यो । संसदमा पनि मेरो भूमिका उत्पीडित जनताकै पक्षमा थियो । त्यहाँ पनि विद्रोही भूमिकामा थिएँ म । त्यसपछि सरकारमा पुगेँ । सरकारमा गृहराज्यमन्त्रीका रुपमा रहँदा प्रधानमन्त्री र गृहमन्त्रीसँगै टसल भयो । गलत कुरालाई बर्दाश्त गनए नसक्ने मेरो स्वाभाव रहँदैआएको छ । बोली र व्यवहारको एकरुपता नभएका व्यक्ति र संस्था मलाई मन पर्दैन । दस्तावेजमा लेखिने भाषणमा बोलिने कुरालाई व्यवहारमा लागु गर्नुपर्छ । त्यही बोल्नुपर्छ जुन व्यवहारमा लागु गरिन्छ । व्यवहारमा लागु गर्नुपर्ने कुरा बोल्नुपर्छ । बोली र व्यवहारमा एकरुपता नभएको संस्थाले देश र जनताका लागि केही गर्न सक्दैन भन्ने मेरो ठहर हो । एमालेभित्र सङ्घर्ष गरियो, उत्पीडित जनताको पक्षमा लडियो । एमालेको सदस्यता लिँदा हामीले सपथ खाएका थियौं कि वर्गीय , जातीय , क्षेत्रीय र मानवद्वारा मानवमाथि गरिने सबैखालका शोषण, दमन, अन्याय र अत्याचारका विरुद्धमा आजीवन लडिरहन्छौं । त्यो सपथ मलाई चैँ याद रहिरह्यो तर खुवाउनेहरुले त्यो सपथलाई बिस्र्यो । जब एमाले संविधानसभामा उत्पीडित जनताका विपक्षमा गयो, त्यतिबेला नै म झस्किँए । एमालेको वास्तविक र नाङ्गो रुप मेरो अगाडि आयो । त्यहाँ मैले विद्रोह गरे र एउटा उत्पीडित जनताकै नेतृत्वको एउटा राजनीतिक शक्ति हनुपर्छ भन्ने निष्कर्षमा हामी त्यतिबेला पुग्यौं । हामीले महसूश गर्यौ कि नेपालमा वर्तमान अवस्थामा कि त जातीय कि त क्षेत्रीय पार्टी मात्र छन् । सम्पूर्ण नेपाली जनता अँटाउने एउटा वैकल्पिक राष्ट्रिय पार्टीको आवश्यकता छ । यहाँ जातीय पार्टी भन्नुको अर्थ एमाले, काँग्रेस र एमाओवादी हुन् । जहाँ तपाईं एकल जातीय संरचनाहरु हेर्न सक्नुहुन्छ पार्टी संगठनको सन्दर्भमा । यस्तै मधेशमा पनि एउटा क्षेत्रलाई लिएर राजनीति गर्ने क्षेत्रीय पार्टीहरु र्मिाण भएका थिए । यी दुईओटा अवस्थाका बीचमा चैँ हामीले खास मुद्दा लिएर सङ्घीय समाजवादी पार्टीको निर्माण गरेका थियौं । एउटा मुद्दा थियो, उत्पीडित जनताको सामाजिक न्याय, पहिचान र स्वतन्त्रता । अर्को, उत्पीडित जनताको नेतृत्व । हामीले कुनै पनि पार्टीमा नेपाली जनताको बनौटअनुसारका सामुदायिक र जातीय उपस्थिति भएको पाएनौं । त्यतिबेला एमालेको स्थायी कमिटीमै एकजना आशोक राईबाहेक सबैजना एउटै जातिका थिए । त्यही हालत काँग्रेसको र एमाओवादीको थियो । त्यसकारणले पदाधिकारीदेखि लिएर पार्टीका प्रत्येक तहमा जातीय जनसँख्याका हिसाबले समानुपातिक समावेशीकरण देखिने राष्ट्रिय पार्टी निर्माण गरौं भनेर हामीले सङ्घीय समाजवादी पार्टी नेपालको निर्माण गर्यौं । त्यस पार्टीको विधानको धारा ४१ को उपधारा ३ मा हामीले पार्टीका सबै तह र निकायका सम्पूर्ण कमिटीहरु जातीय जनसँख्याका हिसाबमा समानुपातिक समावेशी हुनेछन् भन्ने कुरालाई राख्यौं । हामी महोत्तरी गयौं , त्यहाँ अमूक जाति वा यादवजातिकै मान्छे पार्टीको सम्पर्कमा छैनन् । अनि त्यतिबेला कमिटी बनाउँदा त्यस जिल्लामा यादवहरुको जनसँख्या कति हो भन्ने कुरालाई यकिन गरेर त्यसअनुसारको सीट चैँ खाली छोड्ने र पार्टीको पहिलो काम यादवजातिबाट नेतृत्व ल्याएर रिक्त सीटलाई पुरा गर्ने थियो । सबैको प्रतिनिधित्व सुनिश्चित हुने बाध्यतात्मक व्यवस्था थियो । जसले नयाँखालको राष्ट्रिय पार्टीको र्मिाण हुन सकोस् ।

संक्षेपमै तपाई विद्रोही हुनुको कारण भन्दिनुहुन्छ ?

  •   अब पार्टी एकीकरणका लागि हामीले नै ढोका खुला गरेका थियौं । नेपालका मधेशदेखि हिमालसम्मका उत्पीडितहरुलाई एकजुट गरे    राजनीतिक शक्तिको निर्माण गरेरं सयकडौं वर्षदेखि जरा गाडेको एकल जातीय चिन्तन र वर्चस्वलाई गर्न सकिने ठहरका साथ हामीले एकीकरणका लागि ढोका खोलेका थियौं । उत्पीडत जनताको भाषा बोल्ने र उसका लागि लड्ने मधेशवादी वा जुनसुकै पार्टीहरुसँग एकताबद्ध भएर जान पार्टीको निर्णयबाट नै अघि बढ्यौं । हाम्रा दुईओटा मुख्य उद्देश्य छन् । एउटासम्पूर्ण नेपाली जनतालाई अधिकारसम्पन्न बनाउने, पहिचानसहितको सङ्घीयता ल्याउने, मधेशलगायतका स्वायत्त प्रदेशहरुको निर्माण गर्ने र अर्को, पार्टीमा समानुपातिक समावेशीकरणको व्यवस्था गर्दै सबैका मुद्दा र सबैको नेतृत्वलाई स्थापित गर्ने । पार्टी एकता पनि यी दुईओटा उद्देश्यलाई प्राप्त गर्नका लागि नै थियो । हामीले मधेशी जनअधिकार फोरम र खस पार्टीसँग एकता गर्यौं । यो एकता पनि ती दुईओटा उद्देश्य प्राप्त गर्नका लागि नै थियो न कि ती उद्देश्यलाई समाप्त गर्नका लागि । तर पार्टी एकताको क्रममा सङ्घीय समाजवादी पार्टीको अन्तिम बैठकमा प्रस्तुत गरिएको एकीकृत विधानको मस्यौदामा हाम्रो विधानको धारा ४१ को उपधारा ३ थिएन । पार्टीलाई समानुपातिक समावेशीकरण गर्ने व्यवस्था गरिने शब्द एकीकृत विधानको मस्यौदाबाट हटाइएको पाइयो । हामीले प्रश्न गर्दा समानुपातिक समावेशीकरण शब्दमा फोरम नेपाल सहमत नभएको बताइयो । अर्को कुरा पाँओटा समूह हाम्रो पार्टीको विधानमा निर्माण भएको थियो । आदिबासी, जनजाति, मधेशी , दलित , मुस्लिम र खससमुदाय । एकीकृत पार्टीको विधानबाट मुस्लिम शब्द पनि हटाइयो । पार्टी निर्माणको मुख्य उद्देश्य समानुपातिक समावेशीकरण हुने स्थिति रहेन । पार्टीहरु त १७३ र १७४ ओटा छँदैछन् । ७३ को ठाउँमा ७४ बनाउन पार्टी बनाइएको त होइन ? सबै नेपाली जनताको सामूहिक प्रतिनिधित्व भएको एउटा नयाँखालको राष्ट्रिय पार्टी निर्माण गर्ने स्थितिको समाप्त भयो विधानको धाराबाट समानुपातिक समावेशीकरण शब्द हटाएर त्यतिबेला मैले पार्टीको बैठकमा दुईओटा बुँदामा आफ्नो फरक मत दर्ज गराएँ । पार्टी एकताको पक्षपोषण गर्दै ती त्रुटीलाई सच्च्याउनुपर्छ भन्दै ती दुईओटै बुँदालाई लिएर असहमति जनाए । हिजोको दिनमा एउटा जातिको पार्टी थियो । अब दुईओटा जातिको पार्टी बन्छ । नयाँ खालको पार्टी बन्न सक्दैन भनेर मैले फरक मत दर्ज गराएको थिएँ । त्यतिबेला मलाई के भनियो भने यो कुरा हामी छलफलमा ल्याउँछौं र क्रमिकरुपमा फोरमका नेताहरुले पनि बुझ्नुहुन्छ । यसरी पार्टी एकता गरियो ।
    पार्टीको एकतापश्चात धेरै दिनसम्म हामीले बाटो पर्खेर बस्यौं कि अब यस विषयमा छलफल हुन्छ । पार्टीका विधानमा जुन कमीकमजोरीहरु छन् त्यसलाई सच्चयाइन्छ । एउटा घटना अरु उल्लेख गरौं, पार्टीको एकता हुँदा हाम्रोतर्फबाट प्रस्तुत पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावली पार्टीको विधान विपरित भयो । किनकी तत्कालिन सङ्घीय समाजवादी पार्टीको विधानमा चाहिँ पार्टी समावेशी हुने र पदाधिकारी तथा केन्द्रीय सदस्यहरु पनि समानुपातिक समावेशीकरणको हिसाबमा पठाइने व्यवस्था थियो । हाम्रो तर्फबाट गएको नामावली हाम्रै विधानअनुरुप जानुपथ्र्यो । त्यो गएन । वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष हेमराज राई, उपाध्यक्ष रकम चेम्जोङ,र महासचिव रणध्वज कन्दङवा मतलब एउटै किराँती जातिका चारचारजनालाई पदाधिकारीका रुपमा पठाइयो । नामावली समावेशी हुन सकेन । दानबहादुर विश्वकर्मा र वीरबहादुर लामा अँटाउन सकेनन् । मो. रिजवान अन्सारी अँटाएनन् । त्यहाँ पनि एकल जातीय चिन्तन देखापर्यो । मैले केन्द्रीय समितिको बैठकमा भने कि जुन नेताले एमाले चाहिँ तोरी बारी भयो अब हामीले पार्टीलाई फुलबारी बनाउँछौं भन्नुभएको थियो उही नेताले जब निर्णय गर्ने अवसर पाउनुभयो पाँचजना पदाधिकारीमध्ये चारजना किराँतीलाई राखेर एकल जातीय चिन्तन देखाउनुभयो । उहाँले पनि तोरीबारी नै बनाउनुभयो । त्यसकारणले तपाईले मेरो नाउँसँग जुन असन्तुष्टि वा आक्रोश जोड्नुभयो असलमा के हो भने यो असन्तुष्टि , आक्रोश र मेरो विद्रोह समाज र देशको परिवर्तनका लागि हो । संसारमा मानवजातिका लागि ठूल्ठूला काम गरेका सबैलाई विद्रोही नै भनिएको छ । जो आफ्नो स्वार्थका लागि मात्रै सीमित हुँदैनन् । तत्कालिन गलत कुराको विद्रोह गर्दै हिँड्दै जाँदा तपाईं मलाई विद्रोहीको रुपमा हेर्न सक्नुहुन्छ ।

तपाईंका भनाइ वा माग उचित छन् भने सम्बोधन नहुनुको कारण चैँ के नि ?

 

  • एउटा कुरा गर्ने र अर्थोक गर्ने नेताहरुको मानसिकता मूलकारण हो । नेपालको राजनीतिक परिवेशमा नेपाली जनताले दःख पाउने कारणहरुमध्ये दुःख पाउने एउटा कारण के हो भने यहाँका राजनीतिक दल र नेताहरुको सिद्धान्त र व्यवहारमा एकरुपता छैन । बोली र व्यवहार समान छैनन् । जुन बोल्छन्, त्यो गर्दैनन् र जुन गर्छन् ,त्यो बेल्दैनन् । मानव जातिको एउटा स्वाभाव छ । आफू चैँ शोषण, दमन , अन्याय र अत्याचारबाट मुक्ति चाहने र तर आफूद्वारा गरिने शोषणलाई कायमै राख्न चाहने । यो मानवीय स्वाभाव हाम्रा नेताहरुमा पनि देखा पर्यो । मेरो एउटा छ हाम्रो तत्कालिन पार्टीका अध्यक्ष अशोक राईसँग र अन्य पार्टीका नेताहरुसँग पनि । तपाईं समानुपातिक समावेशीकरणका लागि आमहड्ताल गर्नुभएको छ । नाकाबन्दी गरिरहनुभएको छ । जनताले आन्दोलन गरिरहेका छन् । कतिजना मान्छे सहिद भएका छन् । राज्यसँग तपाईले लिन चाहने र आफैँले लागु गर्नसक्ने ठाउँमा किन गर्न नचाहने ? जहाँ तपाई गर्न सक्नुहुन्छ, त्यहाँबाट तपाईले सुरुवात गर्नुस न । तपाईंंले किन गर्नुभएन अहिलेसम्म ? तपाईंले पार्टीहरुलाई एकल जातीय चिन्तनबाट माथि किन उठाउन सक्नुभएन ? तपाईलाई राज्यमा चाहियो समानुवेशिक समानुपातिक । तर आफ्नो पार्टीमा चाहिएन । किन ?

योे प्रश्न तपाईंसँगै गरियो भने के लाग्छ किन भएन यसो ?

  • हाम्रो देशमा अहिले गुट, जात, क्षेत्र र धर्मका नेता छन् । सम्पूर्ण जनतालाई अँटाउनसक्ने फराकिलो छाती भएको राष्ट्रिय नेताको आवश्यकता छ । राष्ट्रिय चिन्तन भएको नेताको आवश्यक्ता छ । त्यो छ्रैन हामीसँग ।

यीमध्ये तपाईहरुका पार्टीका अध्यक्ष उपेन्द्र यादव कुन चैँ पक्षका नेता हुनुहुन्छ ?

  • म चैँ त्यसरी प्रत्यक्ष भन्न चाहन्नँ (हाँसो)

भन्नुपर्यो नि ?

rijwan_ansari11

  • उहाँलाई चैँ सबैको नेता बन्नुपथ्र्यौ भन्ने हाम्रो चाहना हो । बन्न सक्नुभएको छैन ।

तर उहाँ नेता त हो नि । अझ तपाईंको पार्टीको नेतृत्वकर्ता पनि हुनुहुन्छ ?

  • सम्पूर्ण नेपाली उत्पीडित जनताको नेता बन्ने जनताको चाहना, अपेक्षा र शुभेच्छाअनुसारको अवस्था देखिएको छैन ।

यो अवस्था नदेखिनुको अन्तर्य के हो ?

  • अन्तर्य त उहाँसँगै सोध्नुपर्छ । मैले पनि सोध्या छैन ।

एउटा पीडित नेताले त कारण खोतल्छन् नि । भन्न के गारो भाको हो ?

  • म मात्र पीडित भएको छैन । म चाहिँ सबै नेपाली जनताको प्रतिबिम्ब देखिने एउटा राजनीतिक शक्तिको निर्माण नेपालमा गर्न चाहन्छु । सबैको अनुहार त्यहाँ देखियोस । र सबैले त्यस पार्टीमा आफ्नो स्वामित्वको बोध गरोस् । कुनै पनि समुदाय, जाति र व्यक्तिले आफूहरुमाथि दमन भएको र स्वामित्व नभएको आभाष नगरुन् । त्यस्तो राजनीतिक शक्तिको निर्माण गर्ने मेरो सपना हो ।

तपाईंकै भनाइअनुसार तपाईंको सपना उपेन्द्रजीभन्दा फरक छ । अब तपाई के गर्नुहुन्छ ?

केही फरक कुराहरु छन् । एउटा, पार्टीको विधान संशोधन तथा संरचना र संगठनका आधारहरुका सबालमा हो । अर्को, मधेश आन्दोलनको उपलब्धिसँग जोडिएको छ । मैले देखेबुझअनुसार मधेशका उत्पीडित जनताले गरिरहेका आन्दोलनको आधार अहिले मधेश हो र मधेशले अहिले बलिदान दिँदैछ । यो लडाइँ भनेको मधेशको लडाइँ मात्र होइन । मधेशले उत्पीडित जनताका लागि राजनीतिक नेतृत्व गरेको छ । यत्रोे ठूलो बलिदानपछि उपलब्धि के त ? मधेश आन्दोलनको नेतृत्व गरिरहेका नेतासँग एउटा प्रश्न के हो भने बलिदानी चाहीँ ठूलो अनि उपलब्धि के ? जबकी नेतृत्वमा हुनुपर्ने गुण के थियो भने कम बलिदानीमा बढी उपलब्धि प्राप्त गर्ने । तर हाम्रो बलिदानी ठूलो भयो उपलब्धिको दृष्टिले हाम्रो हातमा हातमा केही आएन । यसको कारण नेतृत्वको अयोग्यता, अक्षमता र अदूरदर्शिता हो । आन्दोलनलाई सही तरिकाले हाँक्न नसक्नु हो । दिशानिर्देश गर्न नसक्नु हो । जबकी जनता लाखौंलाखको सँख्यामा सडकमा आइरहेका छन् । बलिदान गर्न तयार छन् । साठीजनाभन्दा बढी मान्छे सहिद भइसकेका छन् । मोर्चाको प्रमुख घटक हाम्रो पार्टी भएको हुनाले पार्टीको जुन भूमिका र दिशानिर्देश गर्ने तौरतरिका हुनुपथ्र्यो त्यो हुन सकेन भन्ने हाम्रो ठहर हो ।

उपेन्द्र यादवजी असफल हनुभएको हो त ?

  • मधेश आन्दोलनबाट मधेशी जनताले र नेपाल राष्ट्रले जुन उपलब्धि पाउनुपर्ने थियो त्यो प्राप्त भएन । बलिदानी ठूलो भयो । यसमा मधेशको राजनीति गर्ने कथित नेताहरुको अक्षमता रअदूरर्शिता देखियो ।

भनेपछि तपाईंकै पार्टीका अध्यक्ष पनि कथित हुनुभयो र अक्षम पनि ?

  • त्यो त देखिएकै छ नि त ।

तपाईजस्तो लामो समयसम्म राजनीति गर्ने सचेत व्यक्तिलाई कथित र अक्षम नेताको पछि किन लाग्नुपर्ने स्थिति छ त ?

  • पार्टीलाई सुधार गर्दै एउटा सही दिशामा लगेर राष्ट्रिय पार्टी बनाउन सकिन्छ कि भन्ने हाम्रो प्रयास हो । कमीकमजोरीहरु मान्छे र पार्टीमा हुन्छन् । त्यसलाई सुधार एवं व्यवस्थापन गरेर सही दिशातर्फ अग्रसर गराउन सकियो भने त्यसले परिणाम राम्रै दिन्छ र उत्पीडित जनताको पक्षमा हुन्छ भन्ने एउटा आशाका साथ हामी पार्टीमा लागिरहेका छौं । विश्वास छ कि यो पार्टी सुध्रिनेछ । र, मैले एउटा कमजोर पक्ष के पनि देखे भने मधेश आन्दोलनमा मधेशी जनता आफ्नो मुक्तिका लागि लडिरहेका छन् । बलिदानका लागि तयार भएर बसेका छन् । मधेशका नेताहरु भने तितरवितर भएर टुक्राटुक्रामा आन्दोलन गरिरहेका छन् । किन ? कसको कारणले ? मधेशको यस आन्दोलनलाई एकजुट बनाउने क्षमता नेतृत्वमा किन विकसित हुन सकेन । संगठित भएर सुरुमै लडेको भए मलाई लाग्छ कि साठीजना मान्छेको सहादत दिनु पर्दैन्थियो ।

केही दिनअघि मात्र तपाईंहरुको पार्टीको केन्द्रीय समितिको बैठक भएको थियो । त्यस बैठकमा यी विषयहरुमा चर्चा भएनन र ?

  • मैले जोडदार रुपमा भनेँ कि राजनीतिक प्रतिवेदन अधुरो छ । मधेश आन्दोलनको त्यसमा थोरै चर्चा गरिएको छ । आन्दोलनको सबल र कमजोर पक्ष के थियो त भन्ने प्रश्न गर्दै मैले कसको कारणले यत्रो बलिदानपछि पनि उपलब्धि हातमा आएन त र किन यो अवस्था आयो भनेर सोधे । यसमा प्रमुख यो पनि कारण छ कि मधेश आन्दोलनलाई संगठित गरेर हाँक्न सकिएन । त्यसमा सबैलाई समेट्न सकिएन । त्यो किन गरियो । के पार्टीगत संकीर्णता र स्वार्थका लागि गरियो । अहिलेको स्वार्थ पार्टीको स्वार्थ होइन सम्पूर्ण मधेशी जनताको स्वार्थलाई मध्यनजर राख्नु हो । त्यसलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । किन आजसम्म महागठबन्धनको निर्माण हुन सकेन । किन आजसम्म जयप्रकाश गुप्तालगायतका मान्छेहरु बाहिर बसेर आन्दोलन गर्दैछन् । किन मुस्लिम गठबन्धन बाहिर हुनुपर्यो ? किन संगठित भएन मधेशको आन्दोलन । यसको जिम्मेवारी कसले लिने ? कसको संकीर्णताको कारणले भएको थियो यी सबै कुरा ? मैले भनेँ ।

तपाईंलाई के लाग्छ । साँच्चिकै तपाईंको पार्टीले मुस्लिम भन्ने कलस्टरलाई स्वीकार गर्नै नसकेको हो त ?

  • मधेशवादी दलहरु र हाम्रै पार्टीको दस्ताबेजमा मुस्लिम शब्द उल्लेख गरिएको छ । दस्ताबेजमा आदिबासी , जनजाति र मुस्लिम लेखिएको छ । त्यो पनि लेख्नु नपर्ने हैन । तर मेरो बुझाइ र मैले के सम्झाउने प्रयास गरेँ भने सबैभन्दा पहिले हामी मधेशी हौं । मधेशमा हाम्रो एउटा पहिचान छ । मधेशी बनेर देशमा पहिचान छ । मुस्लिमको समस्या अलिक फरक भएर आयो पहिचानको सबालमा । मुस्लिमहरु तराईमधेश, पहाड र हिमालमा पनि छन् । काठमाडौंमा पनि कश्मिरी मुस्लिमहरु छन् । त्यसैले यी सबैलाई मिलाएर राष्ट्रिय पहिचान चैँ मुस्लिम समुदाय भनेर दिऊ । मधेशमा बसोबास गर्ने चैँ मधेशी मुस्लिम हो । तर पुरा नेपालमा बसोबास गर्ने भनेर मुस्लिम पहिचान हुनुपर्छ । यस कुरालाई मधेशवादी दलहरुले कि त ठाडो रुपमा भन्नुपरयो कि हामी मुस्लिम समुदाय भन्न सक्दैनौं, मुस्लिमहरु मधेशी मात्रै हुन् र अर्को पहिचान दिन सकिँदैन । तर बोल्दा मुस्लिम पनि बोल्ने सबै नेताहरुले । किन बोल्नुपर्यो त ? त्यसकारणले यस विषय प्रष्टता नआउँदा केही दिनसम्म काँग्रेस र एमालेहरुले उपयोग गरे । मधेश आन्दोलनभित्र थारु , मुस्लिम र दलित समुदायलाई विश्वासमा लिएर संगठित आन्दोलनलाई अघि बढाइँदैन ,तबसम्म हाम्रो लडाइँ लम्बिदैँ जान्छ । हामीले छिटो छिनोफानो गर्न सकेनौं यसमा त्यसैले एमालेहरुले खेल्यो केही दिन । केही मुस्लिम नेताहरुबाट मुस्लिम मधेशी होइन भनेर बोल्न लगायो । त्यतिबेला रिजवान अन्सारीले उभेर के भन्यो त ? गठबन्धनको बैठक राखेर रिजवान अन्सारीले निर्णय गरायो कि मुस्लिम मधेशी हुन् । मुस्लिम मधेशबाट पृथक हुनै सक्दैन । मधेशको पुत्र हो र मधेशी हो र मधेशीको मुक्ति मुस्लिमको मुक्तिसँग जोडिएको छ । मधेशलाई समानता जबसम्म मिल्दैन, मुस्लिमले अधिकार पाउन सक्दैन । मधेश जबसम्म स्वतन्त्र हुँदैन, मुस्लिम स्वतन्त्र हुन सक्दैन । त्यसकारणले आजको मितिमा मुस्लिम गठबन्धनको मुद्दा स्वायत्त मधेश प्रदेश, जनसँख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण, अधिकारसम्पन्न मधेश प्रदेश, जल, जमीन र जंगलमाथि मधेशीको अधिकार आदि हुन् । मुस्लिमलाई यस ठाउँसम्म ल्याउने को त ?

यतिको मिहिनेत गर्दा पनि तपाईंलाई पार्टीले उपेक्षा गरिरहेको अवस्था छ । हैन ?

  • मलाई त उपेक्षा गरेको भए त खासै केही थिएन । मूलमर्मलाई नै मार्ने काम गरियो । जुन विशेषताले संघीय समाजवादी फोरम नेपाल अरु पार्टीभन्दा पृथक बन्छ नि त्यही पहिचानलाई गुमाइदिने प्रयास गरियो ।

त्यसो भए फोरम नेपाल मधेशी र जनजातिको पार्टी मात्र भयो । मुस्लिम को त हुँदै भएन नि ?

  • हैन । यो मधेशी र जनजातिको पार्टी मात्र भयो भन्नुभन्दा पार्टीमा केही व्यक्तिहरुको हामलीमुहाली भएको अवस्था सिर्जना भयो । जब तपाई समानुपातिक समावेशीकरण आफ्नो पार्टीको विधानबाट हटाउनुभयो । र, तोकिएको शब्द जोड्नुभयो । भने तोक्ने कसले ? तोक्ने अशोक राई , तोक्ने उपेन्द्र यादव । यसले पार्टी बन्न सक्दैन । म प्रमाण दिन चाहन्छु तपाईंलाई । हामीले नौओटा माग एमालेमा हुँदा गरेका थियौं र ती माग पार्टीले पुरा नगरे हामी पार्टी छोड्छौं भनेर लिखित दिएका थियौं । तीमध्ये दुईओटा माग भनेको पार्टीलाई अबिलम्व समानुपातिक र समावेशीको हिसाबले पार्टीको प्रत्येक तह र कमिटीलाई पुनर्संरचना गर्नुपर्ने थियो ।

तपाईको गुनासो अशोक राईसँग कि उपेन्द्रजीसँग ?

  • मेरो गुनासो भनेको पार्टीको नेतृत्वसँग हो । दुईओटा कुरा छन् । एउटा पार्टी एकताको बेलामा उहाँहरु जसरी प्रस्तुत हुनुभयो र जसरी पार्टीको मूलमर्मलाई नै मेटाएर पार्टी एकीकरण गर्नुभयो र विधानविपरित एकलजातीय तवरले पार्टी पदाधिकारीदेखि केन्द्रीय कमिटीका लागि नामावली प्रस्तुत गर्नुभयो त्यसका लागि अशोक राईसँग । अहिले मेरो गुनासो उपेन्द्रजीसँग छ । केन्द्रीय कमिटीको बैठकमा मलगायत सातजना केन्द्रीय सदस्य जोहरुमा हिजोका दिनमा तत्कालिन सङ्घीय समाजवादी पार्टीका उपाध्यक्ष र उपमहाचिव रहेका वरिष्ठ केन्द्रीय सदस्यहरुले प्रस्ताव दर्ता गरायौं । केन्द्रीय कमिटी सदस्यको वैधानिक अधिकार हो कि पार्टी केन्द्रीय समितिमा प्रस्ताव दर्ता गराउने , छलफल गर्ने र निर्णय गर्ने । त्यो अधिकारको प्रयोग गरेर हामीले प्रस्ताव दर्ता गरायौं । त्यो प्रस्तावलाई छलफलमै नल्याइकन एउटा मान्छेको निर्णयले उसलाई महाधिवेशनमा पठाउने काम गरियो । त्यो नेतृत्वको स्वेच्छाचारिता हो । नेतृत्वको निरङ्कुशता हो । अन्तरपार्टी लोकतन्त्रको समाप्ति हो । केन्द्रीय कमिटीको अपमान हो ।

यति भएर पनि तपाई अझ पार्टीमा रहिरहनुभएको छ त ?

  • किनभने पार्टी हामीले बनाएका हौं । पार्टीको हामीलाई माया छ । पार्टीमा केही व्यक्तिहरुको सोच गलत हुनसक्छ । तर पार्टीलाई हामीले सकेसम्म सही दिशामा लिएर जान सक्यौं भने त्यो उत्पीडित जनताको पक्षमा हुन्छ भन्ने हाम्रो ठहर छ । त्यसकारणले हामी अहिले पार्टीभित्र संघर्ष गरिरहेका छौं । तर यदि हामीले कुनै पनि हालतमा यो पार्टी सुधार्न सक्दैनौं र हाम्रा आवाजलाई यसरी नै दमन गरिन्छ जसरी यो दोस्रो केन्द्रीय कमिटीको बैठकमा गरियो । नेतृत्वले वैधानिक अधिकारको प्रयोग गर्न दिएन । लोकतन्त्रको प्रयोग गर्न दिएन । केन्द्रीय समितिमा प्रस्ताव राख्न दिएन । त्यसमाथि छललफल गराइएन । यसरी निरकुंशता अगाडि बढेको छ । यसमा हाम्रो गम्भीर असहमति र गम्भीर आपत्ति हो । र, यो कुरा सुधार्नका लागि हामीले एउटा नवविचार समूह गठन गरेका छौं । जसको नाम हामीले सङ्घीय नवविचार मन्थन समूह राखेका छौं । यसको माध्यमले हामीले संगठितरुपमा दवाव दिन्छौं र पार्टीलाई सही दिशामा ल्याउने प्रयास गर्छौं । अब समूहको निर्माण जिल्ला जिल्लामा गरेर दबाब सिर्जना गर्ने र त्यतिले पनि नेतृत्वले मानेन भने राष्ट्रिय कार्यकता भेला बोलाएर नेतृत्वमाथि दवाव दिने तहसम्मको हाम्रो सोच छ ।

सबै नेताहरु आन्दोलनका लागि मधेशकेन्द्रित भइरहेको बेला तपाईको यस्तो कुराहरुले त आन्दोलनलाई नै क्षति पुर्याउँछ । हैन त ?

  • आन्दोलनलाई थप सशक्त बनाउँछ । हाम्रो फरक मत के रह्यो भने मधेश आन्दोलनलाई संगठित गर । सबैलाई समेट । किन एउटा मोर्चा , अर्को मोर्चा , तेस्रो मोर्चा र चौथो मोर्चा किन ? किन एउटा मोर्चा बन्न सक्दैन्थ्यो ।

त्यसमा त प्रगति भएकै छ नि । तपाईहरुकै पार्टीको केन्द्रीय कमिटीको बैठकले सबैलाई एकताबद्ध गर्नका लागि पहल हुने भनेको छ त ?

  • सङघीय गठबन्धन बनाउन पहल गर्न भनिएको छ । अहिले भएको सङ्घीय गठबन्धनको बिस्तारका लागि पहल गर्ने भनिएको छ । तर अहिलेसम्म किन हुन सकेन । मधेश आन्दोलनमा ६० जना मान्छे मारिएका छन् । लाखौं जनताले क्षति व्योहोरेका छन् । अनिश्चिकालिन आमहड्ताल भएको छ । नाकाबन्दी गर्नेहरु आफैँ नाकाबन्दीमा परेका छन् । यसको जिम्मेवार को ? तपाईंले कस्तो परिस्थिति बनाउनुभयो कि नाकाबन्दी चैँ सरकारलाई दवाव बनाउन गर्ने तर नाकाबन्दी गर्नेहरु नै नाकाबन्दीमा पर्ने । सर्लाहीको मलंगवामा तेल पाइँदैन, हरिऔनमा पाउँछ । मलंगवामा ग्यास पाइँदैन , हरिऔनमा पाइन्छ । काठमाडौंमा कहिल्यै अभाव भएन । नाकाबन्दी गर्ने शक्ति नै नाकाबन्दीमा पर्यो । कसको कारणले भयो । कस्तो अदूरदर्शी, अक्षम र असफल नेतृत्व हो । जसको कारणले मधेशको जनताले यो पीडा भोग्नुपर्यो ।

तपाईको बुझाइ र विश्वास ठिक छ भन्ने तपाईंले त अक्षम नेतृत्वको राजिनामा माग्नुपर्ने होइन र ?

  • राजिनामा माग्नुभन्दा पनि केन्द्रीय कमिटीको बैठकबाट हामीले सच्चयाउने प्रयास गरेका छौं । हाम्रो प्रयास के हो भने मधेश आन्दोलनलाई संगठित गर । संगठित गरेर अगाडि बढाऊ । हाम्रो पार्टीबाट महत्वपूर्ण भूमिकाको निर्वाह होस । हाम्रो पार्टीको पहलमा छिट्टै महागठबन्धन वा महासोच निर्माण होस । हाम्रो फरक विचार हो, नव विचार हो । अर्को के हो भने हामीले यो पनि भनेका छौं कि संसदमा मतदान गरेर पार्टीले गल्ती गर्यो । त्यो गल्तीका लागि पार्टीले जनतासमक्ष आत्मालोचना गर्नुपर्छ । यो पनि आन्दोलनका लागि थप कुरा हो । यदि सक्छौं भने पार्लीयामेन्ट छोडेर आन्दोलनमा आऊ । किनभने वर्तमान संविधानसभाको बनौट यस्तो छ जसबाट उत्पीडित जनताको पक्षमा संविधान आउने न्यून सम्भावना छ । बिल्कुलै सम्भावना छैन । एउटा प्रतिगामी तागतको रुपमा उभरेको छ यो संविधानसभा । प्रतिगमनको उपज हो यो संविधानसभा । त्यसलै हाम्रो यो प्रयास मधेश आन्दोलनलाई बल दिने, संगठित पार्ने र थप सशक्त बनाउने हो । क्षति कम होस र उपलब्धि बढी होस भन्ने हो ।

तपाईंहरुको नवविचारले पार्टीभित्र समानान्तर संरचनाको काम त गर्दैन ?

  • अहिले त हामी विचार समूह र दबाब समूहकै रुपमा जान्छौं । एमालेले हाम्रो नौबुँदे मागलाई गम्भीरतापूर्वक लिएको भए र छिट्टै समाधान गरेको भए सायत् हामी पार्टीबाट अलग हुँदैन्थ्यो । जब एमालेले अन्तिम अवस्थामा लेखेर दियो तपाईंहरुको यो नौबुँदे मागलाई पुरा गर्न सकिँदैन । त्यसपछि हामीले अलग पार्टी खोल्यौं, अलग गराइएको हो । फरक मत र फरक विचारधारालाई अँटनै नसक्ने बनाउने कुनै पनि संस्थापन पक्षको निरंकुशताले यो अवस्था आउँदो रैछ । तर प्रयास के छ भने पार्टीलाई एकताबद्ध बनाएर सही दिशामा लाने र पार्टीलाई सम्पूर्ण नेपाली जनताको पार्टी बनाउने तथा आन्दोलनलाई नेतृत्व दिने सही सिपाही वा नेतृत्वकर्ताको रुपमा उभ्याउने हो ।

तर कोट्याएको पृष्ठभूमिलाई पत्याउने हो भने प्रिवर्तन आउने छाँट देखिँदैन नि ?

  • हामीले अपेक्षा गरेका छौं तर दोस्रो केन्द्रीय कमिटीको बैठकमा जसरी नेतृत्व प्रस्तुत भएको छ । त्यो चैँ हुने विरुवाको चिल्लो पात नहुनेको खस्रो पातझैं देखिएको छ । निरंकुशता र तानाशाही देखिएको छ । यो सिंगो पार्टीको हितमा छैन । अबिलम्व सच्चयाउनुपर्छ । दोस्रो केन्द्रीय कमिटीको बैठकबाट जुन कार्यविभाजन गरिएको छ , त्यो पनि योग्यता र क्षमताका आधारमा गरिएको छैन । त्यसलाई पनि सच्चयाउनुपर्छ भन्ने हाम्रो मान्यता छ ।

निराशाको यस्तो बाक्लो कुहिरोबीच अर्को पार्टी खोल्ने योजना त छैन ?

  • त्यहाँसम्मको सोच छैन । पार्टीलाई सच्चयाउने कुरा हो । त्यो भएन भने राष्ट्रिय कार्यकर्ता भेलाले के निर्णय गर्छ त्यो हेरौं ।
Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *