द्वेष र निषेधको राजनीति र जनकपुर घटना

anil_kumar_karna

अनिलकुमार कर्ण

“जनकपुरमा विमलेन्द्र्र निधिको घरमा आक्रमणको घटनाले आन्दोलनको स्वरुप, शैली र आयामका बारेमा नयाँ बहसको थालनी गरेको छ ।  छमहिना लामो आन्दोलनले कतै प्रदर्शनकारीहरुको मन र व्यवहारलाई पनि सरकारजस्तै हिँसक त बनाइदिएको छैन भन्ने प्रश्न तेर्साएको छ । अधिकारको लडाइँमा विध्वंसक हुने स्थितिलाई निराशा, कुन्ठा र थकाइको रुपमा लिइन्छ । कतै साँच्चिकै आन्दोलनकारीहरु राज्यले खोजेजस्तो थाकेको र गलेको अवस्थामा पुगिसकेका त छैनन् । यदि यो सत्य हो भने मधेश आन्दोलनको गजेन्द्रपरम्परा अब खतरामा पुगिसकेको निष्कर्षमा पुग्नु अनुचित हुँदैन ।”

ओशोले एउटा प्रसङ्गमा भन्नुभएको थियो,‘आन्तरिक चित्त र आधारमस्तिष्क क्रान्तिकारी नहुने व्यक्ति यथास्थितिवादी हुन्छन् । धम्की दिनु, तर्साउनु र मार्नुजस्ता काम यथास्थितिवादीहरुको मूलभूत चरित्र रहँदैआएको छ । नेपालको स्थायी राज्यसत्ता र यसको सर्वाधिक क्रियाशील अङ्ग नेपाल सरकारलाई यस अर्थमै परिवर्तनकारी शक्तिहरुले यथास्थितिवादको पृष्ठपोषकको  रुपमा परिभाषित गर्दैआएको छ । सम्मान, मर्यादा र प्रतिष्ठाका लागि परिवर्तनको पक्षमा लडाइँ गर्दैआएका निहत्था मधेशी जनतामाथि क्रुरतापूर्ण दमन गर्ने र अत्याधिक बल प्रयोगबाट आन्दोलनलाई समाप्त गर्ने सरकारको प्रयासलाई शासकीय जडतालाई निरन्तर बनाउँने परम्परागत अभ्यासको रुपमा लिइँदै आएको छ । बलिदानीको शाब्दिक परिभाषा जेसुकै भए पनि यसको गहिरो अन्तर्सम्बन्ध स्वहितविपरित उत्सर्गको भावनासँग छ । सरकारको सङ्कीर्ण र साँघुरो सोच त्यसैले क्रान्तिकारी हुँदैन किनकी यहाँ पछि हट्नुभन्दा पनि सनक, अहङ्कार र जिद्दीको प्रबृत्तिले गहिरो जरो गाडेको हुन्छ ।

हतारो र चटारो अर्थात अधीरताको व्यवहार सामान्यतः गैरक्रान्तिकारीलाई चिन्ने सबैभन्दा सजिलो प्रदर्शित हुने बृत्ति हो । विगतमा परिवर्तन र रुपान्तरणको नाउँमा सत्तामा आएका कथित क्रान्तिकारीहरु सत्तासीन हुनेबित्तिकै राजकीय सत्ताको परम्पराका सहजै कट्टर अनुयायी बन्नेगरेका घटना छन् । एमाओवादीको काँचुली फेर्दै कुरुप बनेको क्रान्तिकारी स्वरुप त्यसैको परिणाम हो ।

शान्तिपूर्ण, अहिँसक र संयमित विद्रोहको शैलीले पछिल्लोपटक मधेश आन्दोलनलाई बढी तागतिलो, यशस्वी र ओजपूर्ण बनाउँदैआएकोमा कुनै सन्देह छैन । आत्मत्यागको उत्कर्षले यसलाई सङ्गतिपूर्ण र सुपथगामी पनि बनायो । आन्दोलनमा प्रदर्शित जनकपुरको एउटा ब्यानरमा लेखिएको छ,‘तिमी हाम्रो खुन लेऊ तर हामीलाई अधिकार देऊ ।’ असाधारण विद्रोहको सन्तोकी मनले लेखिएका यी वाक्यले अधिकारप्राप्तिको मधेशवाञ्छित मार्गचित्रबारे बोलेको छ । तर आज जनकपुरमै सोमबार भएको एउटा घटनाले मधेश आन्दोलन अब असीमित र अन्धो क्रोधमा परिणत भइरहेको छनक दिएको छ । क्रोधपूर्ण प्रतिक्रियाको भद्दा र वर्जनायोग्य ढङ्गले काँग्रेसका नेता विमलेन्द्र निधिको जेठो दाइ नवेन्द्र निधिको जनकपुरस्थित घरमा आक्रमण हुनुले आन्दोलनको स्वरुप, शैली र आयामबारे नयाँ बहसको थालनी गरेको छ ।  छमहिना लामो आन्दोलनले कतै प्रदर्शनकारीहरुको मन र व्यवहारलाई पनि सरकारजस्तै हिँसक त बनाइदिएको छैन भन्ने एउटा प्रश्न तेर्साएको छ । अधिकारको लडाइँमा विध्वंसक हुने स्थितिलाई निराशा, कुन्ठा र थकाइको रुपमा लिइन्छ । कतै साँच्चिकै आन्दोलनकारीहरु राज्यले चाहेजस्तो थाकेको र गलेको अवस्थामा पुगिसकेका त छैनन् । यदि यो सत्य हो भने मधेश आन्दोलनको गजेन्द्रपरम्परा अब खतरामा पुगिसकेको निष्कर्षमा पुग्नु अनुचित हुँदैन । देशको नश्लवादी सरकारलाई लिएर निकै कठोर धारणा राखेका र स्वतन्त्र मधेशकै वकालत गर्दैआएका सीके राउतका कार्यकर्ताहरु पनि बोलीमा अहिँसाकै कुरा गर्छन् । हाकाहाकी बन्दूक माग्दैनन् लड्नका लागि । यस्तोमा आगो लगाउन बम र बारुद नै नचाहिने सलाईको काँटी भए पुग्ने विश्वासमा अर्काको घर जलाउन पुगेका आन्दोलनकारीहरुको एउटा हिस्साले अबको आन्दोलनको कस्तो स्वरुप चाहन्छन् भन्ने बुझनुपर्ने हुन्छ । सदभावनाको स्थानीय नेता सञ्जय सिँहको यस्तो कार्वाहीलाई जायज मान्ने आक्रोशपूर्ण, आवेगात्मक र उग्र प्रतिक्रियाले पनि अब आन्दोलनको अनियन्त्रित दिशालाई आँकलन गर्न सकिन्छ ।

शान्तिपूर्ण प्रदर्शन, जागरणसभा र सीमानाका मूलभूतरुपमा आन्दोलनकारीहरुको नयाँ संविधानलाई विरोध गर्ने तरिकाहरु रहँदैआएका छन् । योजनाबद्ध ढङ्गले कसैलाई शत्रु किटान गर्ने र उनको घरमा आक्रमण गर्ने तथा आगजनी गर्ने कार्यक्रमिक योजना आन्दोलनका सरोकारवाला कुनै पनि राजनीतिक शक्तिले घोषणा गरेका छैनन् । तर आज जनकपुरमा यस्तो हुनुले आन्दोलनको व्यवस्थापनमा ती शक्तिहरु अंशियार नरहेको आन्दोलनकै स्वामित्वहरण हुन थालेको पहाडिया आशंकालाई मजबूत बनाएको छ । आन्दोलनको यो जोखिमपूर्ण मोडले प्रष्ट पार्दछ कि अब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र अन्य आन्दोलनकारी शक्तिहरुले अब अराजक, उपद्रवी र संयमहीन प्रदर्शनको उच्चदबाबलाई झेल्नु पर्नुपर्छ ।

विमलेन्द्र निधि घरमा हुँदा यस्तो भए उचित हुने वा नभएको बेला पनि अनुचित नभएको दुई फरक अभिव्यक्तिहरु सामाजिक सञ्जालमा पोखिएका छन् । यी दुवै धारणा आन्दोलनको अहिलेसम्मको शैलीलाई समर्थन गर्दैन । काँग्रेस नेता निधि घरमा हुँदा स्वाभाविकरुपमा सुरक्षाकर्मीहरु तैनाथ हुन्थे । र, यस किसिमको कार्वाहीपछि आन्दोलनकारीहरुलाई ठूलो क्षति व्योहोर्नुपर्ने हुन्थ्यो । के आन्दोलनरत दलले आन्दोलनमा क्षतिको आयतनलाई बढाउन खोजेकै हुन त भन्ने अर्को प्रश्न पनि छ । होइन भने सोमबार सञ्चार डटकममै प्रकाशित एउटा अन्तर्वार्तामा पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीले भनेझैं बलिदानी ठूलो र उपलब्धि न्यून भएको बारे आन्दोलनको जिम्मेवारी लिने नेताहरुले उत्तर दिनुपर्ने हुन्छ । निधिको जेठो दाइसमेत अर्थात पुरुष अभिभावकसमेत नभएको बेला आक्रमण गरेर ढुङ्गामुडा गरेर महिलालाई घाइते बनाउने कार्यलाई जङ्गली व्यवहार नमान्नेहरुको बौद्धिक दारिद्रयले पनि आन्दोलनलाई प्रभावित गर्न असभ्य र आमकेन्द्रित धारणा राख्नेहरु छन् भन्ने पुष्टि भएको छ । घरमा पुरुष अभिभावक हुँदै पनि यस्तो बद्मासी हुनुलाई सामाजिक वैधता प्रदान गर्न मिल्दैन ।

जनकपुर घटनाको अन्तर्यका बारेमा काँग्रेसको आधिकारिक टिप्पणी आउँछ नै । पीडितहरुका आफन्तलाई मान्ने हो भने यसमा आन्दोलनकारीहरुको राजनीतिक विचारभन्दा दुश्मणी साँध्ने कारणले गराइएको छ । यस्तो हो भने एकइन्च साँधसीमाका लागि कङ्गाल भएर पनि सर्वोच्च अदालतको ढोकासम्म पुग्ने इखालु मधेशी समाजका लागि ठूलो दूर्भाग्य हुनसक्छ । राजनीतिक आवरणमा खुलेआम अपराधलाई प्रश्रय र प्रोत्साहन दिने एउटा अन्त्यहीन श्रृंखलाको यसले सुरुवात गराउने छ । मधेशको आन्दोलनबाट तस्कर र कालोबजारीहरुले फाइदा उठाएको र उनीहरुले नै जुनसुकै निहुँमा यसलाई लम्ब्याउन खोजेको आरोप निराधार छैन । यद्यपी आन्दोलनबाटै अधिकारप्राप्तिको बाटो सम्भव छ भन्ने बुझेकाहरुले यस्तो अप्ठ्यारो स्थितिलाई लिएर आँखा चिम्लनु नै श्रेयस्कर ठानिरहेका छन् । सायत् यो राजनीतिक बाध्यता पनि हो सरकार र आन्दोलनकारीहरुका लागि । तर तस्कर र कालोबजारीको आन्दोलन भनेर दुष्प्रचार वा केही अर्थमा यथार्थ यस महान आन्दोलनलाई असमाजिक तत्व र अपराधीहरुको आन्दोलन हो भनेर कसैले भन्दा र त्यसलाई प्रतिवाद गर्न सक्ने ठोस आधार आन्दोलनकारी शक्तिसँग नहुँदाको अवस्था के होला ? यसमा दलहरुले गहिरिएर सोच्नुपर्छ ।

संविधानसभाको अहिलेको प्रतिगामी र पुनरुत्थानवादी संरचनाका लागि मधेशी जनता पनि जिम्मेवार छन् । संविधानसभा सदस्यका लागि मतदान गर्दा मधेशका मुद्दाप्रति असहिष्णु र अनुदार देखिएका दलका उम्मेदवारहरुलाई रक्सी, पैसा र जातका आधारमा मतदान गरेर विगतमा गल्ती भएकै हो भने यथार्थबाट अहिले पछि हट्न मिल्दैन । एउटै माग, एउटै मुद्दा र नजिकको विचार भएका मधेशकेन्द्रित दलहरुले मिल्नुको साटो फुटेर चुनावमा जानु पनि गल्ती नै थियो भन्ने पुष्टि भइसकेको छ । त्यसैले कोइराला, ओली र दाहालका पार्टीबाट जोसुकैलाई पठाए पनि सिटौला, रावल र भट्टकै मार्गचित्रमा चल्ने कुरालाई त मधेशी जनताले पनि बेलामा बुझ्नुपर्ने थियो । र, यस कुरालाई बुझाउने जिम्मेवारी मधेशकेन्द्रित दलका नेताहरुको पनि थियो । यसो भएन भने अब मधेशी जनतालाई आपराधिकबृत्तिमा धकेलेर आस्था र जातपातमा विभाजित पतनोन्मुख समाज दिने कार्य अब गर्नु हुँदैन । मधेशलाई अधिकारसम्पन्न बनाउन पेट्रोम्याक्स लिएर दिउँसै भारतीय संसदको परिक्रमा गर्ने रघुवंश ठाकुर निष्ठा असान्दभर्भिक भइसकेको छैन ।

रह्यो विमलेन्द्र निधिले मधेशविरोधी संविधानमा हस्ताक्षर गरे । उनको बुझाइ र विश्वासमा संविधानलाई लिएर फरक दृष्टि हुनसक्छ । उनले संविधानलाई हिजोको मस्यौदाभन्दा थोरै अग्रगामी बुझेका छन् र आवश्यक संशोधनको औचित्यलाई अस्वीकार पनि गरेका छैनन् । यस्तोमा सीधा उनलाई मधेशविरोधी भएको आरोप लगाउनु राजनीतिक धर्मान्धता हो । लोकतन्त्र हो र आज मधेशी जनताले बोल्न पाएका छन् , विभिन्न मधेशवादी आस्थाका आधारमा संगठित हुन पाएका छन् । आन्दोलनको स्रोत पनि लोकतन्त्र नै हो । यद्यपी ओलीको लोकतन्त्र अहिले विशुद्ध यान्त्रिक बनेको छ । के लोकतन्त्रको दायरालाई फराकिलो बनाउने काम मधेशका आन्दोलनकारीहरुको होइन । मधेशकेन्द्रित दलहरुले यसका लागि पहल गनुपर्ने होइन । तर आज जनकपुरमा विमलेन्द्र निधिको घरमा भएको घटनाबारे मधेशकेन्द्रित दलहरुको चुप्पीलाई अशोभनीय मान्नुपर्ने हुन्छ । यसले शुभसंकेत गर्दैन । भोलि मुठभेडको अवस्था मधेशमा निम्तियो भने यो आन्दोलन तुहिने एउटा ठूलो कारण बन्नसक्छ । साम्प्रदायिक दङ्गाभन्दा पनि आफ्नै भाइदैयादबीचको लफडा झण्झटिलो र क्षतिकारक हुन्छ भन्ने इतिहास त छँदैछ नि । त्यसैले आन्दोलनरत दलहरुले आफ्ना कार्यकर्ताहरुलाई द्वेष र निषेधको राजनीतिमा नलाग्न सचेत गराउनुपर्छ ।

इतिहासको एउटा कठोर सत्य बिर्सन हुँदैन । लोकतन्त्रका लागि काँग्रेस क्रान्तिकारी थिए । उत्पीडित जनताका मुक्तिका लागि कम्यूनिष्ट र आज मधेशीका आधिकारका लागि मधेशकेन्द्रित दलहरु क्रान्तिकारी छन् । भोलि स्वतन्त्र मधेशका लागि सीके राउत वा अन्य कुनै शक्तिको क्रान्तिकारी प्रभाव बढ्नसक्छ । त्यतिबेला अहिलेका आन्दोलनकारी संशोधनवादी र प्रतिगामी बन्नेछन् । जसरी मुद्दाको सन्दर्भमा सीके राउतका लागि छन् मधेशकेन्द्रित दलहरु अस्पृश्य । त्यसैले राजनीतिक शक्तिसँग छुवाछुतको सोचलाई परित्याग गर्नुपर्छ । सिक्नुपर्छ महन्थ ठाकुरसँग । मधेशीलाई अधिकारको दृष्टिले बन्ध्याकरण गर्ने राजनीतिक कसाइ सुशिल कोइरालासँग उनको कमजोर स्वास्थ्यस्थितले गर्दा उनकै निवासमा गएर कुराकानी गरेका छन् ठाकुरले । काठमाडौंमा देखिने यस्तो सदभाव जनकपुरको सडकमा पनि देखिनुपर्छ ।

(लेखक सञ्चारकडटकमका प्रबन्धनिर्देशक हुनुहुन्छ)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *