आन्दोलनले १४ हजार हेक्टर उर्वर जग्गा बाँझै

uncltivative_land_nepal

गोपाल बराल

 वर्दिवास ,  माघ १८ ।

महोत्तरी जिल्लाको उर्वर मानिने १४ हजार हेक्टर जग्गा अब पाँच महिनासम्म बाँझो रहने भएको छ । यसपाली जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योग झण्डै डेढ महिना ढिलो सञ्चालन भएकाले खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) ठिक समयमा कटान हुन नसक्दा सो क्षेत्रफलको उर्वर जग्गा आउँदो पाँच महिनासम्म बाँझो रहने भएको हो ।
खुट्टी उखु पुस मध्यभित्रै काटिसकेर गहुँ, बैशाखी तरकारी आदि बाली लगाउने गरिएकोमा यसपटक उद्योग नै पुस मसान्तमा सञ्चालन भएकोले खुट्टी उखु रहेको खेतबारी अब आउने जेठ–असारसम्म बाँझो रहने पशुपतिनगर–४ का किसान ७५ वर्षीय नथुनी महतोले बताउनुभयो ।
‘गहुँ ढिलोमा पुस २२ भित्र छर्ने र बैशाखी तरकारी पुस २५ सम्म रोपी सक्नु पर्छ’– जिल्लामै उद्यमशील किसान मानिने महतोले भन्नुभयो–, ‘यसपाली खुट्टी उखु समयमा कटान हुन नसकेकाले अबका पाँच महिनासम्म खुट्टी उखु रहेको खेतबारी बाँझो रहने भयो ।’ नयाँ बाली लगाउने उपयुक्त बेला खस्केकोले पुसमा लगाएर बैशाखभित्र उत्पादन लिइने बाली खुट्टी उखु खाली गरिने खेतबारीमा लगाउन नपाइएको जिल्लाका किसानले चिन्ता जनाएका छन् । आफ्नो राम्रो उत्पादन दिने उर्वर जग्गा पाँच महिना बाँझो रहने भएपछि खाद्यान्न जुटाउन नसकेर जहान परिवार के गरेर पाल्ने भन्ने चिन्ताले पिरोलेको भङ्गाहा–३ का किसान हरिदेव साहको चिन्ता छ ।
जिल्लामा करिब २६ हजार हेक्टरमा उखुबाली रहेमध्ये १४ हजार हेक्टरमा खुट्टी रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीले जनाएको छ । विगतमा उद्योग मङ्सिर तेस्रो साताभित्रै सञ्चालन हुँदै आएको भएपनि यसपाली मधेशवादी दलको अवरोधले पुस अन्त्यमा मात्र सञ्चालन हुनसक्दा खुट्टी उखु कटानमा ढिलाइ हुँदा खेतबारीको एक बाली मर्ने स्थिति आएको सङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।

यसैबीच महोत्तरीका किसानले उद्योग पुस मसान्तदेखि सञ्चालनमा आए पनि जिल्लाका किसानले उखु कटानको चलान पुर्जी पाउन नसकेको गुनासो गरेका छन् । उद्योगले सुरुमा अन्य जिल्लाबाटै उखु ल्याउने नीति लिएकोले आफूहरुले चलानपुर्जी पाउन नसकेको जिल्लाका किसानको गुनासो छ । यता उद्योगले भने आफ्नो उत्पादन क्षेत्रका महोत्तरी, धनुषा, सर्लाही, सिरहा र रौतहट जिल्लामा जिल्लाले दिने उत्पादनको अनुपातमा समानुपातिक ढङ्गबाट चलानपुर्जी वितरण गरिएको जनाएको छ ।

यसपाली आन्दोलन र नाकाबन्दीको अवरोधले उद्योग सञ्चालनका लागि आवश्यक पर्ने मेशिनरी पार्ट्स ठिक समयमा आउन नसक्दा उखु कटानमा ढिलाइ भएर किसान मर्कामा परेको उद्योग प्रशासनले स्वीकार गरेको छ । यस क्रममा किसानसँगै उद्योग पनि अप्ठ्यारोमा परेको उद्योगका प्रबन्धक कृष्णचन्द्र दासले बताउनुभयो ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *