अब ठूला दलका प्रसाद र बहादुरले बुझ्नुपर्छ

एकीकृत नेकपा माओवादीका सांसद मोहम्मद जाकिर हुसैन लेख्छन्,“सरकारले सीमाङ्नमा लचकता देखाएन र अन्य दुईओटा मुद्दामा सहजरुपमा प्रस्तुत भएन भने मधेशकेन्द्रित दलहरुले पनि आन्दोलन रोक्न सक्दैनन् । र, अन्ततः मधेशको आन्दोलन ‘स्वतन्त्र’ मधेश’ को रुपमा विखण्डनतिर लम्किनेछ ।” सांसद हुसैनको यो ताजा विश्लेषण                                      zakir_hussain

 

 

 

 

 

 

 

 

 

 

 

“हामीले के बुझ्नुपर्छ भने भारतले कदापि नेपालको विखण्डन चाहँदैन । ऊ हाम्रो सबैभन्दा नजिकको मित्र हो जोसँग सदियौंदेखिको अटुट भावनात्मक सम्बन्ध पनि छ । नेपाली राजनीतिमा उसको चासो स्वाभाविक हो । कुटनीतिक पहलबाट उसको विश्वास यो सरकार र प्रमुख राजनीतिक दलहरूले जित्नैपर्छ । चिसिएको सम्बन्धलाई सुधार्नैपर्छ ।”

 

“फेरि एकपटक मधेशमा ठूलो विद्रोह हुनेछ । र, त्यो विद्रोह ‘स्वतन्त्र मधेश’ को नामले हुने पक्कापक्की छ जसलाई हामी ‘विखण्डन’ भन्दछौं । हो, मधेशमा यसकै तयारी भइरहेको छ । यो कुरा सवै मधेशी नेताहरूले राम्ररी बुझेका छन् । ठूला दलका बहादुर र प्रसादहरूले पनि बुझुन् ।”

संविधानसभालाई प्रक्रियामा लगेर संविधान जारी गर्न फोरम लोकतान्त्रिकसहित चार ठूलादलबीच १६ बुँदे समझदारी भएपछि केही मधेशकेन्द्रित दलहरू आन्दोलनमा गए । काँग्रेस, एमाले र एमाओवादीको अग्रसरतामा संविधानसभाले संविधान जारी गर्यो ।

लगभग ६ महिनादेखि मधेशमा आन्दोलन भइरहेको छ । ६ दर्जन जति प्रदर्शनकारीलाई राज्यपक्षले गोली हानी मारेका छन् – मेरो भाषामा ६ दर्जन जति आन्दोलनकारी सहिद भएका छन् । लामो समयदेखि भारतको अद्र्ध तर अघोषित नाकाबन्दी जारी छ । आफूले नाकाबन्दी न गरेको भारतको दाबी छ । राज्यपक्ष र प्रदर्शनको नेतृत्व गरेको पक्षबीच लामो समयदेखि वार्ता पनि भइरहेको छ । तर कुनै सहमति बनिरहेको छैन । आमजनताले हदैसम्मको सास्ती भोगिरहेका छन् । कालोबजारी व्याप्त छ । विशेषतः पहाड र राजधानीभन्दा पनि मधेशकै जनताले बढी दुःख पाएका छन् ।

देशमा स्थानीय निर्वाचन नभएको झण्डै दुईदशक हुन लागेको छ । स्थानीय संयन्त्र नेतृत्वविहीन अवस्थामा चलिरहेको छ । सुशासनको दृष्टिकोणबाट यो ठूलो टाउको दुखाई बनेको छ ।

संविधान जारी भएको पनि चार महिना हुन लाग्यो । संविधानको पहिलो संशोधन पनि भएको छ । मधेशको आन्दोलन र नाकाबन्दी आदिले वर्तमान संविधानअनुसारकै संघीयता कार्यान्वयनमा चुनौति थपिँदै गएको छ । स्थानीय निर्वाचन गराउनसक्ने अझै कुनै ठोस आधार बनेको छैन । सरकार गिर्ने–रहने हल्ला दिनदिनै चलेको छ । गतिरोधको समाधानका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग कुनै ठोस रणनीति छैन । सोचमा एकरूपता छैन । बडो संगीन मोडमा छ मुलुक ।

संघीय समाजवादी फोरम (उपेन्द्र), तराई–मधेश लोकतान्त्रिक पार्टी (महन्थ), सद्भावना पार्टी (राजेन्द्र) र तराई मधेश सद्भावना पार्टाी (महेन्द्र) संलग्न मधेशी मोर्चाले आन्दोलनको मुख्य नेतृत्व गरिरहेको छ । उनीहरूले मुख्यतः सीमांकनको मुद्दामा आन्दोलनलाई केन्द्रित गरेका छन् । यता काँग्रेस–एमाले नेतृत्वले भने झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरको विषयमा केही सुन्न चाहने मुडमा छैन । अनि काँग्रेस–एमाले–एमाओवादीलाई उक्त मधेशी दलहरूले मधेशमा जान नदिने रणनीति लिएको छ । मधेशकेन्द्रित दलहरूले संविधानमा कमजोरी देखाउने अनि ठूला दलहरूले राम्रो संविधान जारी भएको फरक बुझाइ आमजनतामा जान सकेको छैन । लोकतान्त्रिक मूल्यमान्यता स्थापित हुन सकिरहेको छैन ।

के हुँदैछ मधेशमा ?

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले पनि मधेशी मोर्चाको एक घटकका रुपमा चारमहिनासम्म आन्दोलन गर्यो । गठबन्धनका महासचिवको हैसियतले चार महिनासम्म म पनि मधेशको आन्दोलनमा थिएँ । पछि हामी मोर्चाबाट बाध्यात्मक रूपमा अलग्गियौं । हामीले त्यो आन्दोलनमा धेरै देख्यौं र भोग्यौं । मधेश आन्दोलनमा के हुँदैछ, त्यो म सत्तापक्षको सांसदले पनि मधेशमै गएर अनुभूत गर्न पाएँ । मधेशमा जे हुँदैछ, ठूला पार्टीका मुख्य नेतृत्वले नजिकबाट अनुभूत गर्नैपर्छ । उखानटुक्काले देश चलाउने परिपाटीको अन्त्य गर्नैपर्छ । अन्यथा उपेन्द्र, महन्थ, राजेन्द्र, महेन्द्र, जयप्रकाश, राजकिशोर, शरतसिंह र अनिल झाहरूलाई मधेशका युवाले अब थुनेर राख्न बेर लगाउँदैनन् । उनीहरूको भूमिका झन् कठिन मोडमा छ । उनीहरूको भूमिकाबाट युवा सन्तुष्ट छैनन् । म निरन्तर मधेशमा गइरहेको छु । सत्तापक्ष र ठूला दलहरूले यो ठान्दछन् कि दमन गरेर वा स्वतःस्फूर्तरूपमा समस्याको समाधान भइहाल्ला भने यो उनीहरूको दिवास्वप्नबाहेक केही होइन । मधेशमा ठूलो संख्यामा युवापुस्ता सीके राउतको विचारतर्फ उन्मुख हुँदैगएका छन् । सीमांकनलाई आयोगको जिम्मा दिएर थाँति राखी बाँकी मुद्दामा यी मधेशी दलहरूले सम्झौता गर्नसक्ने कुनै अवस्था छैन । उनीहरूले चाहेर पनि यस्तो गर्न सक्ने छैनन् । यसो गरेमा मधेशी युवाले उनीहरूलाई थुन्नेछन् । फेरि एकपटक मधेशमा ठूलो बिद्रोह हुनेछ । र, त्यो बिद्रोह ‘स्वतन्त्र मधेश’ को नामले हुने पक्कापक्की छ जसलाई हामी ‘विखण्डन’ भन्दछौं । हो, मधेशमा यसकै तयारी भइरहेको छ । यो कुरा सबै मधेशी नेताहरूले राम्ररी बुझेका छन् । ठूला दलका बहादुर र प्रसादहरूले पनि बुझुन् ।

समाधान के त ? 

पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने भारतले कदापि नेपालको विखण्डन चाहँदैन । ऊ हाम्रो सबैभन्दा नजिकको मित्र हो जोसँग सदियौंदेखिको अटुट भावनात्मक सम्बन्ध पनि छ । नेपाली राजनीतिमा उसको चासो स्वाभाविक हो । कुटनीतिक पहलबाट उसको विश्वास यो सरकार र प्रमुख राजनीतिक दलहरूले जित्नैपर्छ । चिसिएको सम्बन्धलाई सुधार्नैपर्छ । अब हुने प्रधानमन्त्रीको भारत भ्रमणले यति गर्न सक्नैपर्छ ।

दोस्रो कुरा एमाओवादी अध्यक्ष प्रचण्डले सुझाएको लाइन समस्याको समाधान हो । उखानटुक्काहरूले दिनप्रतिदिन समस्या बल्झाउँदै लगेको छ । आदरणीय प्रधानमन्त्रीले संघीयतालाई स्वीकार गरिसकेपछि झापामोह त्याग्न सक्नुपथ्र्याे । मधेशलाई दुई भागमा राखेर सीमांकन त पहिलो संविधानसभाकै बेला झण्डैझण्डै टुंगिएको विषय हो । संघीयतालाई मानिसकेपछि यस्ता झिनोमसिनो कुरामा अल्झिएर देशलाई कसैले पनि बन्दी बनाउनुहुन्न । दुई–चारजना बहादुर र प्रसादको मात्र यो देश होइन, यो देश सनत थारू, शिवकुमार मण्डल, अतहर हुसेन र उमेश यादवहरूको पनि हो ।

मधेशमा जुन समस्याले विकराल रूप लिंदैछ, यसको भागिदार उपेन्द्र र राजेन्द्र हुने छैनन् । यसको जिम्मेवारी अन्ततः काँग्रेस–एमालेले नै लिनुपर्छ । एमाओवादीले सुरुबाटै सीमांकनको मुद्दामा लचक नीति लिंदै आएको छ । विजय गच्छदारले पनि स्वाभाविक विकल्पहरू सुझाएका छन् ।

मधेशमा ठूला पार्टीको साख :

मधेशमा ठूला पार्टीहरूको साख गिरेको छ, यो सही हो । तर, त्यहाँ कसको साख मजबूत भएको छ त ? के आन्दोलनमा लागेका यी मधेशकेन्द्रित दलहरू मधेशमा मजबूत भएका छन् ? मैले मधेशमा यस्तो देखिनँ । मधेशी जनताले यी पार्टीका नेताहरूलाई पनि राम्ररी चिन्दछन् । उनीहरूले विगतमा के गरे, मधेशको विकासमा कस्तो भूमिका निर्वाह गरे, मधेशी दललाई कसरी सम्भाले–सम्भालेनन्, आममधेशी जनतालाई थाहा छ । अर्थात् यी दलहरूको पनि साख त्यहाँ बचेको छैन । कति ठाउँमा आन्दोलन गरेका छन् यी नेताहरूले ? गनेर ४–५ ठाउँमा हो । यीमध्ये पनि सबै ठाउँमा निरन्तरता पनि छैन । सीमांकन, समानुपातिक समावेशिता, नागरिकताजस्ता मुद्दाहरूले मधेशी जनतालाई जगायो । सुरुमा स्वतःस्फूर्तरूपमा मधेशी युवा सडकमा आए । यी नेताहरूले त्यो प्रदर्शनलाई भजाउन मधेशको दौडाहामा दिनरात एक गरे । मेरो यो कुरा गलत हो भने मधेशी नेताहरूले सरकारकारसँग सम्झौता गरेर आन्दोलन रोकेर देखाओस् । हो, मधेशको आन्दोलन रोकिन्छ । यसको एउटा मात्र उपाय छ । सरकारले सीमांकनमा लचकता देखाउनुपर्छ । मधेशका अन्य प्रमुख मुद्दाहरूलाई सहजरुपमा लिनुपर्छ । अन्यथा यो गतिरोध अनियन्त्रित भएर विखण्डनतिर लम्किनेछ । यसको भागीदार को को, त्यो इतिहासले त देखाउने नै छ ।

 

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *