मधेशी नेताहरुले सहनशीलताको चक्की खाए भने महागठबन्धन सम्भव

Anil Kumar Karn_for Lekh
अनिलकुमार कर्ण

आन्दोलन अवश्यम्भावी थियो । तर मधेशकेन्द्रित दलहरुले पनि आन्दोलनको यतिविध्न बिस्तारित तथा बहुआयामिक स्थितिका बारेमा सही आँकलन गरेका थिएनन् नत सरकारको विश्लेषण नै यथार्थपरक थियो । मधेशकेन्द्रित दललाई लिएर जनतामाझ छरिएका भ्रम, वास्तविकता र केही अस्पष्ट बुझाइहरु थिए । जसले गर्दा सरकारलाई पनि आन्दोलनले कठाङ्ग्रिदो चिसोमा पनि यतिको उष्णता दिने   अनुमान गर्न कर लागेन । मधेशकेन्द्रित दलहरुले त   क्रमशः पातलिँदै गएको साखलाई आन्दोलनले नै पुनसर््थापित गर्न सकिन्छ भन्ने दिलचस्पीले जनविद्रोहको आश गर्दै थिए भन्दा अत्युक्ति नहोला । यता आन्दोलनलाई सँख्यात्मक दम्भ, दुष्प्रचार र बल प्रयोगले सजिलै नियन्त्रणमा लिनसक्ने शासकहरुको विश्वास आन्दोलन सुरु हुनुभन्दा केही समयअघिसम्मका लागि निराधार थिएन । तर पहिलो मधेश विद्रोहमा आफूजस्तै अनुहार भएकाहरुको सहादतका कथाहरु, गाउँदेखि सहरसम्म जनसागर उर्लिएका दृश्यहरु र मधेशी भएकै कारणले काठमाडौंसँग ‘अपनत्व’ कायम गर्न नसकेका बालखहरु समयसँगै तन्नेरी भइसकेका थिए । जातभात, रक्सीमासु र रुपियाँपैसाका भरमा मत बेच्ने ‘मुखिया’ हरुका कर्तुतका बारेमा सुनेका र जानेका यी तन्नेरीहरुको जात नै फेरिइसकेको थियो । उनीहरु यो राज्यका लागि मधेशी मात्र थिए । मधेशी अर्थात आत्मत्याग, सङ्घर्ष र विद्रोहका लागि तयार भविष्यनिर्धारकहरु ।

हो, यो नै पुस्ता हो जसले गर्दा अनपेक्षित मधेश विद्रोहको पृष्ठभूमि तयार भयो । महन्थ ठाकुरको सुझबुझ, राजेन्द्र महतोको जाँगर, उपेन्द्र यादवको मिहिनेत र शरत्सिँह भण्डारीहरुको सत्ताविमुख मनस्थितिले भने आन्दोलनका लागि मजबूत र पत्यारिलो पटकथा सिर्जना मात्र गरेको हो ।
अनिलकुमार झाको अलमलमा सेँध लगाउन थोरबहुत जयप्रकाश गुप्ताको निरन्तर जारी मधेश जागरण अभियान र सीके राउतका चर्का कुराहरुले पनि काम गरेकै हुन् । विश्लेषक सीके लाल, अधिकारकर्मी दिपेन्द्र झा, तुलानारायण साह र विजयकुमार कर्णका अध्यय्न र विश्लेषणले पनि आन्दोलनलाई उचाइँमा पुर्याएकै हो । मोहन सिँहलगायतका काठमाडौं खाल्डोलाई कार्यक्षेत्र बनाएका सञ्चारकर्मीहरुले निर्दयी सत्तालाई कपाउँने गरी राजधानीमा चलाएको श्रृंखलाबद्ध विरोध प्रदर्शन पनि विद्रोहका स्वरहरु सिँहदरबारसम्म प्रक्षेपित भएको हो ।
मधेशवादी दलले सभासद बनाउने कुरामा पछिल्ला दिनमा प्रकट गरेको सङ्कीर्ण र द्रव्यमुखी व्यवहार, त्यसअघि सत्तारुढ हुँदा आत्मकेन्द्रित हुने रहर र एकलनेतृत्वबाट प्रेरित  दलीय अभ्यासहरुले जसरी जनमानसमा नकारात्मक छाप पारेको थियो त्यसले पनि कतै न कतै आन्दोलनको पटकथामा ती दलहरुले एकल स्वामित्व भएन । र, विभिन्न शासकीय आशङ्काहरुका बाबजूद आन्दोलन उदय हुनुको जस  स्वतःस्र्फूतरुपमा सडकमा उत्रेका जनताहरुले नै लिन पुगे ।

भिड आवेशी हुन्छ । भिडसँग उन्माद हुन्छ । कहिलेकाँही भिड अराजक र उपद्रवी पनि हुन्छ । आन्दोलनमा देखिने बाक्लो भिडलाई असंयमित बनाएर आन्दोलनलाई तुहाउने राज्यसत्ताको अथक प्रयास पनि सतहमा देखियो ।  आन्दोलनलाई उत्तेजक बनाउने, साम्प्रदायिक दङ्गामा परिणत गर्ने र अन्ततः आन्दोलनलाई तेजोबध गर्ने राज्यसत्ताका नौटङ्कीहरु खासगरी भैरहवा घटनाबाट आरम्भ भएको थियो । जसलाई मधेशकेन्द्रित दलहरुको मोर्चा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि टड्कारै अनुभूत गर्यो । र, आन्दोलनको महायज्ञमा बिनातयारी आफ्नो उपस्थिति जनायो केही आन्दोलनात्मक कार्यक्रममार्फत् ।
सम्भावित विघ्नहरुलाई नकेलाउँदै समयको आवश्यकताले मोर्चालाई आन्दोलनको नेतृत्व गर्ने अवस्थामा पुर्याएको सत्य हो । कार्यारम्भ गर्न ढिलाइ हुँदा देखिने दुष्परिणामको चिन्ताले उचित प्रबन्धन गरेर बुद्धिमतापूर्ण ढंगले आन्दोलनमा जानुपर्ने आधारभूत कुरालाई वेवास्ता गर्दै आन्दोलनमा होमिनु मोर्चाको बाध्यता पनि थियो । जसको प्रतिअसरको रुपमा आन्दोलनमा सहिद हुनेहरुलाई ५० लाख रुपियाँ दिने घोषणा पनि थियो । यस्तो घोषणाले मधेश आन्दोलनलाई जबर्जस्ती क्षेत्रीय आन्दोलनमा रुपान्तरित गर्ने शासकीय प्रयासलाई टेवा पुगेको कुरालाई अस्वीकार गर्न सकिन्न ।
शासकहरुलाई बेहोस हुनुहुँदैन भन्ने एउटा सत्य हो भने अर्को शाश्वत तथ्य यो पनि हो कि शासकहरुसँग शक्ति, संयन्त्र, आत्मविश्वासका साथै साधन र स्रोत पनि हुन्छ । जसलाई मोर्चाले बुझन समय नपाएको अनुभव भएको थियो त्यसबेला । सत्तारुढ दलहरुले संविधान जारी गर्दा  तमाम राजनीतिक अन्तर्विरोधहरुलाई सुल्झाएका थिए । ती गहिरा र पुराना अन्तर्विरोधहरु हल हुन राज्यसत्ताको दम्भ वा प्रभावबाट उत्पन्न हुने दकस  कारक बन्यो ।  तर सडकमा बढी तिक्कखर देखिएका मधेशी दलहरुले राजनीतिक अन्तर्विरोधका सबालहरुलाई छर्लङ पार्दै अन्य दलका मधेशी तथा जनजाति सभासदहरुलाई विश्वासमा लिन नसक्नु दोस्रो ठूलो गल्ती थियो । यसलाई सच्चयाउने प्रयास नहुनु त महाभूल नै थियो । जसको परिणाम आन्दोलनका सम्भावित ठूलो जनशक्ति जनजातिहरुलाई आन्दोलनका मूल कार्यक्रमसँग जोड्न सकिएन । र उनीहरु पनि कथित राष्ट्रियताको रणभूल्लमा परे ।
सरकारसँग सरल व्यवहार नगर्नु मोर्चाको अडान हुनसक्छ । तर मधेशमा आन्दोलनरत अन्य दलहरुसँग उदारतापूर्वक प्रस्तुत नहुनु बरु दोषारोपण र निषेधको क्षुद्र प्रबृत्ति देखाउनुजस्ता अक्षम्य गल्ती पनि मोर्चाले गर्यो । आन्दोलनलाई योजनाबद्ध, सिलसिलेवार र नियन्त्रित बनाउने हैसियत विरासतमै पाएको मोर्चाले आन्दोलनलाई एकीकृत बनाउन सकेन । जसले गर्दा मधेश मुद्दामै काम गर्ने अन्य दल र शक्तिहरुका उर्जा अनुत्पादक हुने खतरा बढ्यो । केही समय त उनीहरु असरल्ल छरिए । अस्तित्वको संकट समाधान गर्ने उपायका रुपमा  सङ्घीय समावेशी गठबन्धनको निर्माणपछि बल्ल मधेशको अर्का आन्दोलनकारी शक्तिहरुले   एउटा स्वरुप प्राप्त गर्यो । तर यतिञ्जेल बन्द, हड्ताल, सरकारको अवज्ञा, सीमानाकामा धर्नाजस्ता साझा कार्यक्रममा दुबै शक्तिका लागि टाउको फर्काएरै अघि बढ्नुपर्ने स्थिति रहिरह्यो । विपत्तिमा एक हुने सनातनी पाठलाई नसिक्दा आन्दोलनले धेरै बढी क्षति व्योहोर्नु परेको कुरा भनिरहनु पर्दैन ।
आन्दोलन लम्बिएको छ । यसको उपलब्धि निकै कमजोर छ । सम्भावित उपलब्धिका लागि पनि मार्गचित्र प्रष्ट छैन । आन्दोलनको विकल्प आन्दोलन मात्रै छ । यस्तोमा मधेशमा आन्दोनरत दुवै शक्तिका बीचमा महागठबन्धनको प्रयास थालनी भएको छ । यसलाई सकारात्मक मान्नुपर्छ । एउटै उद्देश्य लिएर आन्दोलनमा होमिएकाहरुले पृथक पृथक ढंगले एउटै कार्यक्रमको परीधिमा रहेर काम गरिरहँदाको दुःखद अवस्थाको अन्त्य महागठबन्धनको निर्माणले जुराउने छ ।
महागठबन्धनको कुरा सतहमा आए पनि यसको निर्माण हुनु मुश्किल काम हो । खासगरी लड्नका लागि महागठबन्धन बन्ने कामलाई विश्वमै चुनौतिपूर्ण मानिएको छ । फरक फरक संगठन, फरक फरक संरचना र कार्यप्रणाली तथा फरक बुझाइले गर्दा धेरै चुनौतिहरु निम्तिन सक्छन् । इष्र्या, द्वेष र पूर्वाग्रहको राजनीतिक संस्कारमा हुर्केका मधेशी नेताहरुका लागि एकै ठाममा उभिनु कम गारो हुने छैन । ठूलो र प्रखर हुनुको दम्भले विगतमा मधेशकेन्द्रित पार्टीहरुबीचका एकीकरण प्रयास प्रदर्शन हुन नसकेको कुनै चलचित्रझैं बन्द डब्बामा थन्किन पुगेको विगतले पनि आशंका गर्ने यस्तो सुविधा दिन्छ । आन्दोलनको पीडादायी अवधिमा पनि मोर्चाको स्वरुप तन्किन नसक्नु बरु एउटा घटक तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादवले अन्य दललाई मोर्चामा लिन नसकिने कडा अभिव्यक्ति दिनुले पनि महागठबन्धन निर्माणको यात्रा कठिन हुने छाँट देखिन्छ । हेलाहोचो गर्ने मधेशकेन्द्रित राजनीतिक दलको अभ्यासलाई हेर्दा पनि लाग्छ, कुनै एउटा घटकको विषपूर्ण बोलीले महागठबन्धनको प्रयासलाई ढिलो बनाउन सक्छ ।
अर्को कुरा महागठबन्धनको रुपरेखा कोरिन दल वा शक्तिहरुको फरक कार्यशैलीले पनि बाधित गर्नसक्छ । संसदमा सहभागी हुने तर मतदान नगर्ने तमलोपा र सदन नै बहिष्कार गर्ने रामसपा, राजेन्द्र महतो निर्घात पिटिदा नाटकको संज्ञा दिने उपेन्द्र यादव र उपेन्द्र यादवले जनजातिको कुरा गर्दा मधेशी छापबाट अलगथलग भएको चर्का टिप्पणी गर्ने महतोनेतृत्वको पार्टीका नेताहरु कारण बन्न  सक्छन् सम्भावित बाधाअड्चनको । शरत्सिँहले आन्दोलनको स्वरुपमा परिवर्तन चाहन्छन् तर महन्थ ठाकुर सीमानाको धर्ना जारी रहने बताउँछन् । हो, आन्दोलनात्मक कार्यक्रमका बारेमा यस्तै विपरित बुझाइले पनि महागठबन्धन अभियान संकटमा पर्नसक्छ ।
महागठबन्धन आवश्यकता र बाध्यता दुवै हो । फरक बुझाइ र कार्यशैलीको खतरनाक गोरेटोबाट यसलाई अघि बढाउनुपर्छ । जनताका आकांक्षा पनि यही नै हो । तुसलाई त्यागेर समान उद्देश्यका लागि समान धारणा र कार्य  यसको आधार बन्नसक्छ । जयप्रकाश गुप्ताको जेलबसाइँलाई आतुरतापूर्वक पर्खेका र उनी जेल जानेबित्तिकै पार्टी कब्जा गरेर सत्तामा रमाएका राजकिशोर यादवप्रति गुप्ताको सदाशयता वा सदभाव हुनु कल्पनाइतर विषय हो । तर आज दुवैजना एउटै गठबन्धनमा छन् । सायत् एउटै गन्तव्य प्राप्तिको यात्रालाई पार गर्न एकअर्कालाई बर्दाश्त गरेर । हो, अब मधेशका नेताहरुले सहनशीलता र धीरताको चक्की खानुपर्छ । अनि महागठबन्धनमा बाँधिएर आन्दोलनलाई बढाउनुपर्छ । मधेशका वीर सहिदहरुका लागि पचास लाख रुपियाँको क्षतिपूर्तिको यो पनि एउटा चेक बन्नसक्छ ।
                                                  (लेखक कर्ण सञ्चारक डटकमका प्रबन्धनिर्देशक हुनुहुन्छ)

Share Button

One thought on “मधेशी नेताहरुले सहनशीलताको चक्की खाए भने महागठबन्धन सम्भव

Leave a Reply

Your email address will not be published. Required fields are marked *