Sunday, February 18, 2018
Home > समाचार > नयाँ शक्तिमा विवाद / मधेशीसँग विभेद भएकोमा डा. भट्टराईले गरे आत्मालोचना

नयाँ शक्तिमा विवाद / मधेशीसँग विभेद भएकोमा डा. भट्टराईले गरे आत्मालोचना

                                                   मधेशी नेता अधीर छैनन् : रामचन्द्र झा
                                           अन्तरिम परिषद्को स्वरुप सन्तुलित : डा. प्रवीण मिश्र

Ramchandra jha
सञ्चारक
काठमाडौं, माघ १३ ।

नयाँ शक्तिको पहिलो चरणमा गठित अन्तरिम केन्द्रीय परिषदमा मधेशबाट रामचन्द्र झाबाहेक कोही पनि राजनीतिकर्मीहरु पर्न नसकेपछि शक्तिमा आबद्ध मधेशीमूलका नेताहरुले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले नयाँ शक्ति निर्माणको घोषणासँगै डा.बाबुराम भट्टराईसँग एकीकृत नेकपा माओवादी परित्याग गरेर आएका नेताहरुलाई अन्तरिम परिषदको पहिलो चरणमा स्थान नदिएर ‘राजनीतिक हैसियत’ लाई सङ्कुचित र तेजोबध गर्ने प्रयासका रुपमा लिएका छन् ।
सिद्धान्त र नीतिमा समावेशी भनिए पनि अन्तरिम परिषदमा स्थान दिँदा क्षेत्रगत सन्तुलन नभएको र पूर्वकर्मचारी तथा गैरसरकारी संस्थाकर्मीहरुलाई मात्र प्राथमिकता दिइएको भन्दै मधेशी राजनीतिकर्मीहरुले नयाँ शक्तिका संयोजक डा.भट्टराईलाई भेटेरै गम्भीर आपत्ति जनाएका हुन् । उनीहरुले नयाँ शक्तिका नेता एवं मधेशका प्रभावशाली राजनीतिकर्मी रामचन्द्र झालाई समेत भेटेर एमाओवादी परित्याग गरेर डा.भट्टराईको राजनीतिक विटुलोपनलाई मत्थर बनाउने मधेशी नेताहरुको सीमान्तीकृत गर्ने प्रयासको विरोध गरेका छन् ।
नयाँ शक्तिको प्रारम्भिक कार्यालय अर्थात अनौपचारिक निर्णायक समितिमा डा.भट्टराई र देवेन्द्र पौडेलका अतिरिक्त मधेशबाट रामचन्द्र झा रहँदैआएका थिए । तर अन्तरिम परिषद गठन गर्दा नेता झाको सुझाव नलिइएको बताइएको छ । झाले भने अन्तरिम परिषद गठन हुनुभन्दा केही बेरअघि मात्रै आफू काठमाडौं आएको हुँदा यस्तो खालको प्राविधिक त्रुटी भएको बताए । ‘राजनीतिमा संयमता आवश्यक छ र नयाँ शक्ति समानुपातिक समावेशी संरचनाकै आधारमा अघि बढ्ने कुरालाई बुझेका साथीहरुमा अधीरता छैन’– नेता झाले भने ।
यसबीच मधेशी नेताको असन्तुष्टिलाई सम्बोधन गर्न दोस्रो चरणको बिस्तारमा थपिएका २२ जनामा केही मधेशी नेताहरुलाई समेटिएको छ । पहिलोचरणमा छुट भएका महेन्द्र पासवान, रामकुमा शर्मासँगै मधेशकै डा.भोगेन्द्र झा र कलाउद्दीन राइनलाई दोस्रोचरणको बिस्तारमा समावेश गरिएको छ ।
नेता झाले मधेशी नेताहरुका असन्तुष्टिबारे थप टिप्पणी गर्न नचाहे पनि यस विषयलाई लिएर नयाँ शक्तिका संयोजक डा.भट्टराईले आत्मालोचना गर्नुभएको बताइएको छ । एकअर्का मधेशी नेताका अनुसार डा.भट्टराईसँग एमाओवादी परित्याग गरेका नेताहरुबाहेक अन्य नभएको आरोपलाई चुनौति दिन र राजनीति गर्न खोजेका नयाँव्यक्तिहरुले आफूहरु माओवादी बनेको सन्देश प्रवाहित नहोस भन्ने चाहेकाले अन्तरिम परिषदको पहिलोचरणमा गैरराजनीतिकर्मीहरुलाई समेटिएको बताएका छन् । उनले यस प्रक्रियामा त्रुटी भएको भन्ने विषयमा डा.भट्टराई आत्मालोचित हुनुभएको जानकारी दिए ।

Dr pravin
नयाँ शक्तिको अन्तरिम परिषदको केही दिनपछि हुने पहिलो बैठकबाट असन्तुष्ट नेताहरुका विषयमा टुङगो लगाउने बताइएको छ ।
नयाँ शक्तिका अन्तरिम केन्द्रीय परिषदमा पहिलोचरणमै समावेश भएका पूर्वप्रशासक डा.प्रवीण मिश्रले अन्तरिम परिषद्ले पूर्णता पाइनसकेको अवस्थामा मधेशीहरुको सहभागिता र भूमिकालाई लिएर चिन्तित नै हनुपर्ने अवस्था नदेखिएको बताए । उनले अहिलेसम्मको बिस्तारमा परिषदको सन्तुलित स्वरुप देखिएको दाबी गर्दै समानुपातिक समावेशिताका लागि डा.भट्टराई सचेत र संवेदनशील रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: