कृषि कार्यालय छ तर खेती सिकाउने कर्मचारी छैनन्

banana cultivation
                                                             महोत्तरीमा उन्नत जातको केरा खेती फष्टाउँदै
गोपाल बराल

महोत्तरी , १२ माघ ।

महोत्तरी जिल्लाको उत्तरवर्तीक्षेत्रका किसानहरु व्यावसायिकरुपमा उन्नत केरा खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाका भङ्गाहा, पशुपतिनगर, हतिसर्वा र सिङ्ग्याही गाविसका किसानहरु कम जग्गामा बढी आम्दानी पाउन थालेपछि व्यावसायिकरुपमै उन्नतजातको केरा खेतीतर्फ आकर्षित भएका हुन् ।
जिल्लामा परम्परागतरुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराका ठाउँमा अब किसानहरुले खासगरी रोवेष्ट्रा र उन्नत मालभोग जातको केरा खेतीतर्फ आकर्षित भएका छन् । सानो रुख, धेरै हाता लाग्ने ठूलो घरी र स्वादिष्ट भएकाले रोवेष्ट्रा जातको केरा धेरै किसानको रोजाईमा पर्ने गरेको देखिन्छ । पछिल्ला पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दैआएका जिल्लाको भङ्गाहा–३ का किसान सत्यनारायण यादवले आफ्नो प्लटमा उन्नत मालभोग र रोवेष्ट्रा जातको केरा मात्र रहेको बताउनुभयो । अहिले एक विग्घा क्षेत्रफलमा केराखेती गर्नुभएका यादवले पछिल्ला तीन वर्षमा वर्षेनी एक लाखभन्दा बढी आर्जन भएको जानकारी दिनुभयो । सानो रुख हुनाले ढल्ने सम्भावना कम हुने , स्वादिष्ट हुनाले बजारमा माग बढेको र रोपेको नौमहिनामा नै पहिलो उत्पादन लिन सकिने भएकोले रोवेष्ट्रा केरा व्यावसायिक खेतीका लागि उपयुक्त भएको किसानको भनाई छ । एक कट्ठामा ८० ओटा रुख लगाउन सकिने यो केरा स्वादकै कारण उपभोक्ताको पहिलो छनौटमा पर्ने भएकोले बिक्रीमा कुनै समस्या भोग्नु नपरेको हतिसर्वा–२ मदनपट्टी बस्तीका किसान राजनारायण राय थारु बताउनुहुन्छ ।
पछिल्ला वर्षहरुमा त यहाँको उत्पादन भारतीय बजार र उपभोक्ताको छनौटमा परेपछि उत्पादन एकमुष्ठ बिक्री हुन लागेको किसान बताउँछन् । पछिल्ला पाँच महिनायता भने मधेशमा आन्दोलनले यातायात नचल्दा भने आफ्नो उत्पादनले अपेक्षित फाइदा लिन नसकेको थारुको भनाइ छ । कम मिहिनेत र थोरै लगानीमा गर्न सकिने केरा खेतीमा पछिल्लो पुस्ताका युवा किसानहरु बढी सक्रिय भएका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका भङ्गाहा, पशुपतिनगर, हतिसर्वा र सिङ्ग्याही गाविसमा मात्रै १०० हेक्टरभन्दा बढीमा केरा खेती भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो ।
एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहे पाँच वर्षसम्म राम्रो उत्पादन दिने कार्यालयका विज्ञहरुको भनाइ छ । जिल्लाभरिमा केरा खेतीको क्षेत्रफल तीनहजार हेक्टर जति रहेको कार्यालयले जनाएको छ । केरा खेतीमा किसानको अभिरुचि र चासो बढ्न थालेकोले अन्य उन्नतजातका केराका विरुवासमेत कार्यालयले खोजी गरेर किसानलाई उपलब्ध गराउने तयारी सुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत झाले जानकारी दिनुभयो । केरा तरकारी र फलका रुपमा खाइने भएकाले दुबै उद्देश्यका लागि फरकफरक जातका केरा लगाउनु पर्ने विज्ञहरु बताउँछन् । केरा तरकारीका लागि स्वादिष्ट, स्वास्थ्यबद्र्र्धक र आम उपभोक्ताको रोजाइमा पर्ने भएकाले यो प्रयोजनका लागि बत्तिसा र झपरीजातका स्थानीय केराको खेती उत्तम हुने लामो समयसम्म कृषि सेवामा संलग्न रही अवकास लिनुभएका हतिसर्वा–७ का किसान जासर यादवको अनुभव छ ।
फलका लागि भने आम उपभोक्ताको जीब्रोमा स्थानीय मालभोग जातको केरा झुण्डिएकाले यस्को व्यावसायिक विकासका लागि जिल्ला कृषि विकास कार्यालयले थप पहल गरिदिनु पर्ने आवश्यक देखिएको जासरको सल्लाह छ । उन्नतजातमा भने जिल्लाको हावापानीमा रोवेष्ट्रा खुबै फस्टाएको र यसको बजार माग पनि राम्रो रहेकोमा कृषि विज्ञ र किसान दुबै सहमत देखिएका छन् । फल खाने प्रयोजनमा मालभोगको माग र भाउ दुबै उच्च भए पनि बोटमा अति नै रोगको सङ्क्रमण हुने भएकोले यसको खेतीमा निकै जोखिम रहेको किसानले बताएका छन् । यसपाली त लामो बन्द र हडतालले केराको उपचार गर्न औषधि नपाएर हैरान हनुपरेको पशुपतिनगर–६ को दलित बस्तीका किसान महेश्वर रामको गुनासो छ ।
जिल्लामा कृषि कार्यमा उचित सल्लाह, रेखदेख, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालय, कृषि सेवा केन्द्र र उपकेन्द्रहरु भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको मात्र नभई आफूहरुले सल्लाहसुझावका लागि खोज्दासमेत विज्ञहरु फेला नपर्ने गरेको किसानको गुनासो छ । केरा खेतीलाई व्यावसायिककरण गर्न तरकारी र फलका लागि छुट्टै योजना बनाएर किसानलाई अभिपे्ररित गर्नुसँगै प्रमाणिक बिरुवा उपलब्ध गराइदिन, खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको उचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयलाई सक्रिय हनुपर्ने किसानले माग गरेका छन् । यता कार्यालयले भने किसानले खोजेका बेला कार्यालयबाट प्रवाहित हुने खेतीसम्बन्धी सबै सहयोगका लागि तयार रहेको जनाएको छ ।

 

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *