Wednesday, February 21, 2018
Home > समाचार > आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै फोरम बैठक सकियो

आन्दोलनलाई सशक्त बनाउने निर्णय गर्दै फोरम बैठक सकियो

Foroum meeting
सञ्चारक
कठमाडौं, माघ १० ।

सङ्घीय समाजवादी फोरम नेपालले जारी सीमानाका अवरोध र आन्दोलनलाई झन सशक्त बनाउने निर्णय गरेको छ । आन्दोलनलाई राष्ट्रिय स्वरुप दिन र काठमाडौंकेन्द्रित बनाउन पहिचानवादी शक्तिहरुसँग मोर्चाबन्दी गर्ने निर्णय भएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।
काठमाडौंमा आइतबार सम्पन्न फोरम नेपालको केन्द्रीय कार्यसमितिको बिस्तारित बैठकले सरकार वार्ता र निकासका लागि गम्भीर नभएका भन्दै निर्णायक आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । बैठकपछि अध्यक्ष यादवले वार्तामार्फत् समाधानका लागि आफूहरु हदैसम्म लचक र गम्भीर भए पनि सरकार आआफैँ वार्तामा गम्भीर नदेखिएकोले जारी आन्दोलनलाई निर्णायक बनाउन आन्दोलन थप सशक्त पार्ने निर्णय भएको प्रष्ट्याए ।

 

शनिबार राति सरकारले संविधान संशोधन गरेको प्रक्रिया र अन्तर्वस्तुलाई बैठकले अस्वीकार गरेको छ । ‘नयाँ संविधान जारी गरेजस्तै सरकारले संशोधन पनि एकलौटी, जबर्जस्ती र मनपरी ढंगले गरेको छ’, बैठकपछि अध्यक्ष यादवले भने, ‘नयाँ संशोधनले मधेश आन्दोलनलाई सम्बोधन गर्न सक्दैन ।’

 

बैठकले मोरङको रङ्गेलीलगायतका संवेदनशील स्थानमा जबर्जस्ती कार्यक्रम आयोजना गर्न लगाएर सरकारले साम्प्रदायिकता मच्चाउन खोजेको ठहर गरेको छ । आन्दोलनका क्रममा लगाइएका सबै झूठा मुद्दा तत्काल खारेज गर्न पनि बैठकले माग गरेको छ । यसैगरी आन्दोलनमा चरम दमन भएको निष्कर्ष निकाल्दै केन्द्रीय बैठकले सत्यतथ्य छानबिन र दोषीमाथि कारवाहीका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको उपाध्यक्ष लालबाबु राउतले जानकारी दिए ।

 

शुक्रबारदेखि राजधानीमा जारी फोरम नेपालको केन्द्रीय समितिको बैठक १२ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ । बैठकमा प्रस्तुत राजनीतिक, सांगठनात्मक र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । ५१ सदस्यीय राजनीतिकसमिति सहित चारओटा केन्द्रीय निकाय गठन गरिएका छन् । नयाँ संविधान प्रतिगामी रहेको निष्कर्षसहित वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्तालगायतका विषयवस्तु समेटिएका राजनीतिक प्रतिवेदन सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रस्तुत गरेका थिए ।
बैठकका निर्णयबारे सोमबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने सहअध्यक्ष श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: