Monday, September 24, 2018
Home > समाचार > सदभावना अध्यक्ष महतो रङ्गेलीतर्फ जाँदै, झड्पको सम्भावना तीब्र

सदभावना अध्यक्ष महतो रङ्गेलीतर्फ जाँदै, झड्पको सम्भावना तीब्र

Rajendra Mahato
सञ्चारक
रङ्गेली, माघ ९ ।
एमालेनिकट युवा संघको चेतावनीलाई बेवास्ता गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आज मोरङका रङ्गेली र डायनियाँ क्षेत्रमा जाँदैछन् । रङ्गेलीमा भएको हिँसात्मक घटना महतोकै ग्रयाण्ड डिजाइनमा भएको र आफ्ना दर्जनभन्दा बढी कार्यकर्तालाई महतोकै निर्देशनमा मोर्चाका कार्यकर्ताहरूले कुटपीट गरेको आरोप लगाउँदै युवा संघले महतोलाई विराटनगर छिर्न नदिने र उनीविरूद्ध कार्रवाही गर्ने चेतावनी दिएको थियो ।

युवा संघको चुनौतिका बाबजूद पनि अध्यक्ष महतो आज विराटनगर हुँदै रङ्गेली र डायनियाँ जाने कार्यक्रम रहेको उनका निकट सहयोगी सञ्चारकर्मी पंकज दासले बताए । रङ्गेली प्रहरीसँग भएको झडपका क्रममा तीनजनाको ज्यान गएको थियो । त्यहाँ ज्यान गुमाएका परिवारलाई भेट्न महतो रङ्गेली र डायनियां जाने उनको पार्टीले जनाएको छ ।
यता युवा संघ मोरङका बाहुबली नेता परशुराम बस्नेतले मोरङ जिलामै महतोको प्रवेश निषेध गराउने तयारी गरेका छन् । आफ्नो संगठनको कार्यक्रम विथोल्ने र कार्यकर्तामाथि आक्रमणको निर्देशन दिने राजेन्द्र महतोलाई कुनै पनि हालतमा रङ्गेली, डायनियाँ र विराटनगर आउन नदिने उनले बताएका छन् । बस्नेतले मोरङको अवस्था तनावग्रस्त भएको र महतो आएमा माहौल अझै बिग्रिएर साम्प्रदायिक सौहाद्र बिग्रिने सम्भावना रहेकोले उनलाई मोरङमा प्रतिबन्ध गर्ने निर्णय गरेको बताए । महतो जबर्जस्ती आए प्रतिकार गर्ने चेतावनी पनि उनले दिए ।

युवा संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले पनि हिजो काठमाडौंमा पत्रकार सम्मेलन गरेर रङेली घटनाका प्रमुख योजनाकार राजेन्द्र महतो रहेको भन्दै उनीविरूद्ध कार्वाही गर्ने घोषणा गरेका थिए ।

युवा संघको चेतावनीका बावजुद महतो आउन लागेको सूचनापछि अहिले मोरङ जिल्लामा जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ । बैठकमा महतोको आगमनलाई रोक्ने, आवश्यक परे नियन्त्रणमा लिने र प्रशासनद्वारा रङगेलीमा लगाइएको कर्फ्यू उल्लंघन गरे पक्राउ गर्नेसम्मको तयारी गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: