Tuesday, September 25, 2018
Home > कृषि/वन/वातावरण > जहाँ बालुवामा उम्रिदैँछ जिन्दगी

जहाँ बालुवामा उम्रिदैँछ जिन्दगी

bagar kheti final
गोपाल बराल
महोत्तरी, ९ माघ ।
जाँगर र लगन भएपछि कुनै काम असम्भव हुँदैन भन्ने उदाहरण महोत्तरी जिल्लाको भङ्गाहाका युवाले गेगर्यानढुङ्गे जग्गामा लहलह बाली फलाएर चरितार्थ गरेका छन् ।
भङ्गाहाको रामनगर बस्तीका १८ देखि ३५ वर्ष उमेरसमूहका युवाले बैशाखयाममा दुबोसमेत मर्ने गेगर्यानढुङ्गे जग्गामा आफ्नो पौरखले कुनाकुनामा पानी पु¥याएर लहलह बाली फलाएपछि उनीहरु गाउँलेबीच उदाहरणीय बनेका हुन् । जिल्ला कृषि विकास कार्यालय महोत्तरीको प्रोत्साहनले श्री गढीमाई कृषि सहकारी संस्था गठन गरी दिलोज्यानले खेतीमा लागेका युवाले केही वर्षभित्रै गरेका प्रगति सबैलाई लोभ्याएको छ ।
संस्थामा आबद्घ युवाले रातुनदीले पुरेको बलौटे, गेगर्यान जग्गामा खनजोत गरी पसिना बगाएर हराभरा बनाएपछि आँटेर गरे जस्तोसुकै काम सम्भव हुने विश्वासलाई बल पुर्याएको छ ।
जिल्ला कृषि विकास कार्यालयकै प्राविधिक र आर्थिक सहयोगमा बोरिङ्ग जडान गरी १० ओटा मोटर लगाएर पर्ती, बलौटे र ढुङ्ग्यान जग्गाको सबै ठाउँमा पानी पु¥याएपछि जुनसुकै बाली पनि लहलहाएको छ । उनीहरुको पौरख हेर्दा बाटो हिँड्ने बटुवासमेत प्रफुल्लित हुँदै उनीहरुको मिहिनेतबाट दङ्ग पर्नेगरेको सो बस्तीका ८५ वर्षीय बृद्ध श्रीनारायण साहले बताउनुभयो । खेतीमा लागेका उत्साही युवाले जडान गराएका बोरिङ्ग र मोटरबाट १० बिग्घा जग्गा सिँञ्चित हुनेगरेको छ । आफूहरुले कृषिविज्ञहरुको सल्लाहबाट पाँच वर्षअघि सुरु गरेको मौसमी बेमौसमी तरकारी खेतीले राम्रो आम्दानी दिन थालेपछि खेतीको क्षेत्रफल बढाउँदै लगिएको संस्थाका अध्यक्ष सत्यनारायण यादव बताउँनुहुन्छ ।
सुरुमा जग्गा लिज (ठेक्का) मा लिएर खेती सुरु गरेका सो संस्थामा आवद्घ युवाले अब आफ्नै आर्जनले जग्गासमेत जोडेर विदेश कमाउन जानेलाई थकथक बनाएको देख्दा सन्तोष लाग्ने गरेको सो बस्तीका बुढापाकाहरु बताउँछन् । आफ्नै गाउँमा जहानपरिवारसँगै बसेर दौंतरीहरुले गरेको पौरख देखेपछि कामकै लागि विदेश जान राहदानी (पासपोर्ट) बनाएका युवा पनि खेतीतिर लागेका छन् । समूहमा आबद्ध साथीहरुले केही वर्षभित्रै खेतीबाट गरेको प्रगतिले अब आफू पनि विदेश जाने कुरा छाडेर खेतीबारीकै काममा लाग्ने टुङ्गोमा पुगेको सो बस्तीका रामजी यादवले बताउनुभयो । सँगैका साथीले गाउँमै मिहिनेत गरेर राम्रो आर्जन गरेकाले आफूले विदेशिने मनसाय छाडेर तरकारी खेती सुरुगरेको सोही बस्तीका बहुरा महतोको भनाइ छ ।
विदेश जाने निर्णय त्यागेर तरकारी खेती सुरुगरेका यादव छोटो अवधिमै गाउँका उद्यमी किसानमा गनिन थालेको सो बस्तीकै पाका किसान ६५ वर्षीय ईस्लाम राइनको मुल्याङ्कन छ । अर्काको पाँच कठ्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेती सुरुगरेका संस्थामा आवद्घ चन्देश्वर राय दनुवारले खेतीकै पौरखले पाँच वर्षभित्रै जहान परिवारको प्रतिपाल गरेर १० कठ्ठा जग्गा जोडेका छन् । गरिबीले दिक्क भएर विदेश जाने निर्णय गर्दै राहदानीसमेत बनाएका दनुवारले गाउँकै साहुले ऋण नपत्याएपछि आफूले भाडामा जग्गा लिएर खेती सुरु गरेको विगत सम्झनुभयो । दिनरात नभनी आफूले गरेको मिहिनेतले राम्रो सफलता पाएर जहानपरिवारको प्रतिपाल गर्दै गाउँघरमा अर्कामर्का पर्दा सहयोग गर्न पाउँदा सन्तोष लाग्ने गरेको उहाँको भनाइ छ ।
गाउँका धनीमनीमा गनिनेका छोराछोरीसँगै आफ्ना छोराछोरीलाई पनि राम्रो शिक्षा दिन सकिएकोमा सन्तोष लाग्ने गरेको संस्थामा आबद्घ किसान बताउँछन् । युवा किसानले खेतीसँगै पशुपालनसमेत गर्न थालेपछि जग्गामा चाहिने मलमा पनि आत्मनिर्भर बन्दै गइएको बताइएको छ । अहिले संस्थामा आबद्घ सबै किसानले गाई, भैंसी, बाख्रा र कतिपय किसानले कुखुरासमेत पालन गर्न थालेपछि दुध र मासुको बजारमा पनि आफ्नो उत्पादनको माग बढेको संस्थाका अध्यक्ष सत्यनारायणले जानकारी दिनुभयो ।
संस्थामा २० जना युवा आबद्घ छन् । परिश्रमी, सहयोगी र सरल वयवहारका आफ्ना बस्तीका युवाले खेतीबाटै पाएको सफलता र त्यसको अनुकरण अरुले गर्न थालेको देख्दा निकै खुशी लागेको बस्तीका ९० वर्षीय बृद्घ लक्ष्मीप्रसाद गिरीले बताउनुभयो । श्री गढीमाई कृषि सहकारी संस्था भङ्गाहा—३ रामनगरमा आबद्घ किसान जिल्लाकै उत्कृष्ट मिहिनेती किसान भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । संस्थामा आवद्घ किसानले कही वर्षभित्रमै खेतीबाटै लाखौं आम्दानी गरेर पैसाकै लागि विदेशिने युवाका लागि गाउँघरमै बसेर मिहिनेत गर्ने सन्देशसमेत दिएको कार्यालयका जेटी सुट्टा मण्डलले बताउनुभयो ।

तस्बीर : अजय साह/चुरे संरक्षणकर्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: