रङ्गेली घटनाको वास्तविकता यस्तो छ

h tripathi1
हृदयेश त्रिपाठी
तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी निकै प्रखर, तार्किक र ज्ञानी व्यक्तित्व मानिनुहुन्छ नेपालको राजनीतिमा । मधेश आन्दोलनका मागहरुलाई निर्भिकताका साथ पस्किने बानीले गर्दा मधेशी जनतामा उहाँ खासै लोकप्रिय हुनुहुन्छ भने गैरमधेशी समुदायका लागि एउटा त्रास पनि । बिहीबार रङ्गेली, डायनियाँ र विराटनगरमा भएका घटनापछि निकै भावविह्वल हुनुभएका त्रिपाठीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी घटनाको भत्र्सना गर्दै त्यसका अन्तर्निहित कारणहरुलाई केलाउनुभयो । जसको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

बिहीबार मोरङको रङ्गेली र डायनियाँमा भएका घटना तराई मधेश लोकतान्त्रिक पार्टीलाई मर्माहत मात्र बनाएको छैन कि यसले देशमा एउटा नयाँ विषाक्त वातावरण सिर्जना गर्ने आधारभूमि तयार गर्ला कि भन्ने हामीलाई आशङ्का उत्पन्न भएको छ । अहिलेसम्मका आन्दोलनमा हामीले साम्प्रादायिकता फैलिन नदिन मोर्चाको तर्फबाट सतत प्रयत्नशील थियौं र सफल पनि रहेका थियौं । तर राज्यको तर्फबाट एउटा भातृ संगठनको कार्यक्रमलाई सफल बनाउनका लागि बिहीबार जुन ढंगले जातीय नरसंहार गरियो त्यसको हामी घोर भत्र्सना गर्दछौं । त्यहाँ बिहीबारको घटना यस मानेमा पनि अर्थ राख्छ कि हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीजीले मोर्चालगायत काँग्रेस र एमाओवादीलगायत राप्रपा नेपाल, फोरम लोकतान्त्रिकका नेताहरुलाई बोलाएर वालुवाटारमा बैठक गर्दै हुनुहुन्थ्यो ठिक त्यही बेला उहाँका पार्टीका भातृसंगठन र सरकारका सुरक्षाकर्मीहरुले रङ्गेली र डायनियाँमा गोली बर्साउँदै थिए । विराटनगर र यी ठाउँहरुमा पनि खुकुरीहरु प्रहार भएका छन् ।

हामीलाई पहिले नै सूचना थियो कि वर्तमान सरकारले तराईमधेश थरुहट आन्दोलनलाई आफ्नो उद्देश्यबाट विमुख गराउन साम्प्रादायिक रुप दिन विभिन्न प्रपञ्च गर्दैछ । र, यसै प्रपञ्चतहत बिहीबार मोरङग जिल्लाको रङगेली, डायनियाँ र विराटनगरका घटनालाई लिएका छौं । स्थानीय प्रशासनले आन्दोलनकारीको तर्फबाट घरेलु हतियार प्रयोग भएको दाबी गर्दैछ । म चुनौतिका साथ भन्न चाहन्छु यदि आन्दोलनकारीले घरेलु हतियार प्रयोग गरेका हुन् भने त्यसबाट घाइते कतिजना प्रहरी वा युवा संघका कार्यकर्ता छन् ? तर आन्दोलनकारीहरुलाई गोली लागेको र सहादतसमेत भइसकेको तपाई हामी प्रत्यक्षतः थाहा छ । खुकुरी प्रहारबाट पनि अनगन्ति आन्दोलनकारीहरु घाइते भएका छन् । घरेलु हतियारको प्रयोग भएको कुरालाई घाइतेहरुको प्रकृतिलाई हेर्दा प्रष्ट हुन्छ । सादा पोशाकमा रहेका प्रहरीहरु र युवा संघका कार्यकर्ताहरुबाट यस्तो काम भएको हो ।

यस कार्यलाई सकारात्मकरुपले अघि बढिरहेको वार्ता र संवादको प्रक्रियालाई समाप्त पार्ने नृसंश अमानवीय खेलका रुपमा हामीले लिएका छौ । जब जब वार्ता र संवाद एउटा स्वरुप ग्रहण थाल्छ, त्यसबेला नै राज्यको तर्फबाट गोली प्रहार गरी दमन गरेर या त हत्या गरिन्छ या निर्मम दमनको साहारा लिने गरिन्छ । कहीँ न कहीँ तीन राजनीतिक दल कांग्रेस, एमाले, माओवादीले बिहीबारको घटनाप्रति जुन चिन्ता प्रकट गर्नुपर्ने हो त्यसको अभावले गर्दा हामीलाई शङ्का छ कि उहाँहरु वार्ता र संवादमार्फत तराई मधेश थरुहट आन्दोलनलाई सम्बोधन गर्न तयार हुनुहुन्न । त्यसकारणले हामी मोरङका रङ्गेली, डायनियाँ र विराटनगरलगायतका ठाउँमा भएका यसप्रकारका सम्पूर्ण घटनाहरुको न्यायिक छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोगको माग गर्दछौं ।

कार्यदलको स्तरबाट हामीले पटकपटक सरकारसँग न्यायिक छानबिन आयोग गठन गर्न अनुरोध गरेका छौं । जति हत्याहरु गरिएका छन् अधिकांश कि त टाउकोमा कि त छातीमा गोली लागेको अवस्था छ । यो आन्दोलनकारीलाई भन्दा पनि थारु र मधेशीलाई मार्ने एउटा जातीय नरसंहारको रुपमा र राज्यआतङ्कको निकृष्ट रुपको रुपमा हामीले लिएका छौं । तसर्थ यो घटना सामान्य घटनाको रुपमा लिइयो भने आउँदा दिनका वार्ता र संवादलाई यसले पूर्णरुपले प्रभावित गर्नेछ । त्यसकारणले पनि बिहीबारका घटनालाई समान्यरुपले लिन हुँदैन । संवादद्वारा सरकार र सरकारमा रहेका दलहरुले आन्दोलनलाई सम्बोधन गर्न चाहन्छन् भने यसप्रकारका घृणित क्रियाकलाप अबिलम्ब बन्द गर्न र न्यायिक छानबिन आयोग तुरुन्त गठन गर्न आग्रह पनि गर्दछौं ।

यसै सन्दर्भमा तराई मधेश लोकतान्त्रिक पार्टीको प्रतिनिधि मण्डल भोलि आइतबार राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीहरुलाई यी घटनाहरुका विषयमा ध्यानाकर्षण गराउन र आयोगलाई क्रियाशील हुन, मानव अधिकारका हननका यी घटनाहरुका बारेमा अबिलम्ब छानबिन गरी सचेत गराउन र प्रतिवेदन सार्वजनिक गर्नका लागि तराई मधेश लोकतान्त्रिक पार्टीका प्रतिनिधि मण्डल ११ः३० मा आयोगको कार्यालयमै पुगेर ध्यानाकर्षण गराउनेछ । त्यसको पनि म यहाँहरुलाई पूर्वजानकारी गराउन चाहन्छु ।

मोटामोटी हामीलाई चिन्ता परेको विषय के हो भने विगत ५ महिनाभन्दा बढी भइसकेको आन्दोलनलाई हामीले साम्प्रदायिकस्वरुप लिन दिएनौं तर सत्तापक्षले साम्प्रदायिक रुप दिन जुन ढङ्गले षड्यन्त्रपूर्वक आफ्नो कामकारवाही अगाडि बढाएको छ यसले सम्प्रदायिकता फैलियो भने देशले कहालीलाग्दो दुःख प्राप्त गर्नेछ । हाम्रोतर्फबाट र हामीले विशेषगरी मोर्चाको तर्फबाट आममधेशी जनता र थरुहटका जनतालाई पनि आग्रह गर्दछौं । यस साम्प्रादायिक षड्यन्त्रमा नफसी आन्दोलनको कामलाई आन्दोलनको उद्देश्य प्राप्त नभएसम्म अगाडि बढ्न सङ्घर्षशील रहन आग्रह गर्दछौं । साथै हामी खसआर्य समुदायका जनतालाई पनि आग्रह गर्न चाहन्छौं । सरकार सम्प्रदायिक दङ्गा गराएर आफ्नो गुमिसकेको साखलाई फर्काउन चाहन्छ । आफ्नो निष्क्रियतालाई अकर्मण्यतालाई छोप्न चाहन्छ । त्यसकारणले खसआर्य समुदायका जनतालाई पनि सचेत भएर यस षड्यन्त्रमा नफस्न पनि हामी आग्रह गर्दछौ ।

चौतर्फी असफल हँुदैगएको सरकार र यसका दलहरुले अब अत्यन्त घृणित विषाक्त साम्प्रदायिकताको साहारा लिन खोजिरहेका छन् । यसबाट हाम्रो पहाड, मधेश र थरुहटका सबै नेपालीहरुलाई सचेत भएर सरकारको या सरकारी दलहरुद्वारा सिर्जित यसप्रकारका साम्प्रदायिकता फैलाउने गतिविधिको प्रतिकार गर्नु पर्दछ । साम्प्रदायिकताजस्तो विषाक्त अवस्थाबाट मुलुकलाई जोगाउन मोर्चाको तर्फबाट तराई मधेश लोकतान्त्रिक पार्टीबाट पनि म यहाँहरुलाई हार्दिक आग्रह गर्न चाहन्छु ।
रङ्गेलीको घटनापछि वार्ता त त्यसै प्रधानमन्त्रीको अभिव्यक्तिले टुङ्गिसकेको थियो । प्रधानमन्त्रीले वार्तालाई समाप्त गरिसकेको थियो । प्रधानमन्त्री जुन ढङ्गले बिहीबार वालुवाटारमा प्रस्तुत हुनु भयो त्यसले वार्ताप्रति प्रधानमन्त्री स्वयंम गम्भीर हुनुहुन्न भन्ने निष्कर्ष मोर्चाका साथीहरु मात्र होइनन् कि नेपाली कांग्रेस र एमाओवादीका साथीहरु पनि वा प्रतिनिधि जो पनि नेताहरु त्यहाँ हुनुहुन्थ्यो उहाँहरु सबैको त्यही अन्तिम निष्कर्ष के थियो भने प्रधानमन्त्रीले आफैँ पनि वार्ता र सम्वादको पक्षमा हुनुहुन्न । मोरङ, रङ्गेली र डायनियाँ विराटनगरमा जुन घटना भयो, वार्तालाई झन भाड्नका लागि गरिएको प्रयत्न हो भन्ने हाम्रो बुझाइ भयो । जुन पक्षबाट वार्तालाई भाड्न प्रयत्न भएको छ ,त्यो पक्षले वार्ता चाहँदै चाहँदैन ।

मलाई के लाग्छ भने आपूर्ति समस्या देखाएर जुन अपूर्ण संस्थागत कालोबजारी भइरहेको छ त्यसबाट लाभ लिने समूहहरुले बिहीबारको घटनाबाट उत्साहित छन् र सरकारबाट उनीहरुको पक्षपोषण गरिएको छ । सरकार आफैँ पनि, सरकारमा रहेका दलहरु पनि वार्ता र संवाद यस मानेमा पनि चाहेका छैनन् कि जहाँ आन्दोलन हाम्रो लागि जीवन मरणको विषय छ त्यहाँ उहाँहरुका लागि कमाई खाने भाँडो भएको छ । त्यसैले गर्दा वार्तालाई समाप्त गर्नका लागि विभिन्न प्रपञ्चहरु भइरहेका छन् ।
मोरङमा भएका घटना र अलिकति सामान्य हुँदैगएको मधेशका बन्दीलगायतका आन्दोलनका कार्यक्रमहरु पुनः सुरु भएको जिल्ला जिल्लाबाट खबर आइरहेका छन् । कतिपय जिल्लामा दुई दिनका लागि बन्द घोषणा गरिएका छन् । कतिपय ठाउँमा बन्द भइसकेका छन् । बिहीबारबाटै आन्दोलनका थप कार्यक्रमहरु जिल्लास्तरीय मोर्चाका साथीहरुले आफूमार्फत् तर्जुमा गरेर अगाडि बढाइरहनु भएको छ । सामान्यीकरणतर्फ गइरहेको तराई मधेशलाई पुनः जटिलतातर्फ मुठभेडतर्फ बिहीबारको घटनाले धकेल्न प्रेरित गरेको छ ।
संविधान संशोधन गर्नेबारे मोर्चाको तर्फबाट कुनै प्रस्ताव छैन । सरकारको प्रस्ताव हो । संशोधन पनि मोर्चाले दिएको छैन । बिहीबार प्रधानमन्त्रीको भनाइले के पुष्टि गथ्र्यो भने सरकारले ल्याएको विधेयक जस्ताकोतस्तै पारित गर्ने नेकपा एमालेको बटमलाइन हो । उहाँले बैठकमै सबैका अगाडि उहाँले भन्नुभएको थियो । हामीहरु विदावारी भएर नै हिँडेका हौं । यहाँहरुलाई भ्रम नपरोस कि हामी बहिष्कार गरेर हिँडेका होइनौं । उहाँहरुका बीचमा जब तिक्तता बढ्न थाल्यो । हामीलाई उहाँहरुको तिक्तताको साक्षी बस्न मनले मानेन अनि हामी जान्छौं तपाईहरु आफ्नो झगडा आफैँ गर्नुस भनेर हिँड्यौं । पछि जे हुन्छ खबर गर्नुहोला भनेर हामी हिँडेका थियौं । जुन बहुप्रचारित संशोधनमाथिको कुरा गरिँदैछ । त्यसमा धेरै तुक पनि छैन । धेरै दम पनि छैन ।

अन्तोत्गत्वा संशोधनकर्ताहरुले जसरी संशोधन दिएका छन् । हामीले सार्वजनिकरुपले भनेका पनि हौं । बिहीबार पनि हामीले भन्यौं कि नेपाली काँग्रेसका केही सांसदहरुले दिएका संशोधनको निकट हामी छौं । यद्यपी त्यसमा परिमार्जनको आवश्यकता छ । तर प्रधानमन्त्रीले मूलप्रस्ताव मात्रै पारित गर्ने अटोठ देखाइसकेपछि यस विषयमा थप कुराकानी भएन । जहाँसम्म यहाँहरुले सरकारी कार्यदलको चर्चा गर्नुभयो । मैले बुझेसम्म खासै त्यसमा प्रगति हुने लक्षण छैन ।
अहिलेको संशोधन हाम्रो प्रस्ताव होइन । हामीले यस प्रस्तावको विरुद्धमा संसद अवरुद्ध गर्ने नाराबाजी गर्ने , बहिष्कार गर्ने काम सुरुदेखि नै गर्दैआएका छौं । र, जारी हुन्छ ।
प्रधानमन्त्रीलाई थाहा रहेनछ कि दलले संशोधन दिँदैन । सांसदले दिने हो । तर उहाँले भन्नुभयो दलले संशोधन होइन केही सांसदहरुले दिनुभएको छ त्यसमा हाम्रो सल्लाह भएको छैन । यसकारण मूलरुपले जुन प्रस्ताव आएको छ त्यसमा नेकपा एमाले मात्रै प्रतिबद्ध छ ।
(वरिष्ठ उपाध्यक्ष त्रिपाठीको वक्तव्यलाई सञ्चारकका लागि लक्ष्मी चौधरीले साफी र सामान्य सम्पादन गरेकी हुन् ।)

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *