नेपाललाई मेडिकल टुरिज्मको हब बनाउन सकिन्छ : डा.श्याम खड्का

dr shyam

सामान्यतया चिकित्साक्षेत्र कुनै पनि प्रतिकूल परिस्थितिमा प्रभावित हुँदैन । आन्तरिक द्धन्द र घरेलु कलहले गर्दा भने नेपालको चिकित्साक्षेत्रमा गम्भीर असरहरु देखा परिरहेका छन् । बन्द र हड्तालले सुलभ, सुविधायुक्त र सही उपचारका लागि राजधानी आउने क्रम नै बाधित भएपछि यस क्षेत्रलाई थप चुनौतिहरुको सामना गर्नुपरिरहेको छ । तर यस्ता अप्ठ्याराका बाबजूद पनि कुशल, दक्ष र अनुभवी चिकित्सकहरुबाट उपचार उपलब्ध गराउने सामाजिक दायित्व निर्वहन गर्दैआएको काठमाडौंको मित्रपार्कस्थित नेपाल भारत मैत्री हस्पीटलले आगामी माघ १५ र १६ गते स्वास्थ्य शिविरको आयोजना गर्दैछ । भारतको नयाँ दिल्लीस्थित चर्चित म्याक्स हस्पीटलका विशेषज्ञहरुसमेत सम्मिलित रहने स्वास्थ्य शिविर भारतको गणतन्त्र दिवसको अवसर पारेर आयोजना हुन लागेको हो । स्वास्थ्य क्षेत्रका मौजूदा समस्या, चिकित्सकीय पद्धति व्यवस्थापनको सम्भावना र यससँग जोडिएका विविध विषयहरुमाथि केन्द्रीत भएर सञ्चारकले नेपाल भारत मैत्री हस्पीटलका संस्थापक एवं प्रबन्ध निर्देशक डा.श्याम खड्कासँग कुरा गरेको छ । प्रस्तुत छ, कुराकानीको सारसंक्षेप ।

 

अहिले जारी मधेश आन्दोलनको क्रममा बन्द र हड्ताल हुँदा राजधानीका स्वास्थ्यसंस्थाहरु पनि प्रभावित भएका होलान नि ?

  • निश्चित पनि । प्रभावित नहुने कुरा नै छैन किनकी नेपालका अधिकांश जनताको बसोबास तराई क्षेत्रमा छ । उनीहरु सहज ढंगले आवतजावत गर्न पाएका छैनन् । आवागमनकै कठिनाइले गर्दा विशेषज्ञताका आधारमा हुने उपचारबाट उनीहरु बञ्चित भइरहेका छन् । काठमाडौंका धेरै स्वास्थ्यसंस्थाहरुमा विशेषज्ञताका आधारमा स्वास्थ्योपचार हुन्छन् । जहाँसम्म विशेषज्ञहरुको उपचारमा देशका बहुसँख्यक जनताको अहिले पहुँच हुन सकिरहेको छैन । यसअर्थमा स्वास्थ्य संस्था प्रभावित भएको कुरालाई नकार्न मिल्दैन । तर यसरी स्वास्थ्य संस्थाहरु प्रभावित हुनु एउटा विषय हो । हाम्रो चिन्ता भने विशेषज्ञ चिकित्सकीय सेवाबाट बिरामीहरु बञ्चित हुँदा उत्पन्न हुने दीर्घकालिन स्वास्थ्यसम्बन्धी जटिलताहरु हुन् । त्यसैले यस विषयमा हामी सबैलाई गम्भीर र संवेदनशील बन्नुपर्छ ।

यसले गर्दा स्वास्थ्य संस्थाहरुको आर्थिक अवस्था पनि निकै खस्किएको हनुपर्छ । हैन र ?

  • अहिलेको अवस्था सबै क्षेत्र आर्थिकरुपमा ओरालो लागेको बेला स्वास्थ्यक्षेत्र तन्दरुस्त हुने कुरा नै भएन । हामी पनि प्रभावित छौं ।
    तराई बन्द र सीमानाकामा धर्ना हुँदा हस्पीटलमा हुने आधारभूत समस्याहरु के छन् ?
    मुख्यतया लोडसेडिङ्गको मारमा परेका छन् अस्पतालहरु । बिजुलीको प्रयोगबाट सञ्चालन हुने जीवनरक्षक उपकरणहरुलाई नियमित गर्न कठिन भइरहेको छ । इन्धनको सहज र नियमित दरमा उपलब्धता नहुँदा पनि यस्तो समस्या आएको हो । थोरबहुत समस्या भने केही महत्वपूर्ण औषधिहरुको अनुपलब्धता पनि हो । इन्धन अभावले गर्दा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुको आवागमन पनि प्रभावित भएको छ । जसले गर्दा समयमा तत्काल उपचार गर्ने व्यवस्थापकीय प्रक्रियामा असर परेको छ । यद्यपी हामी यस्तो प्रतिकूल अवस्थाबाट पार पाउन लिएर पूर्वतयारी गरेका हुन्छौं ।

यस्तो अवस्थामा तपाईंहरुले स्वास्थ्य शिविरको आयोजना गर्दै हुनुहुन्छ । यसलाई कसरी सफल बनाउन सकिएला त ?

  • भारतबाट विशेषज्ञहरुलाई बोलाएर स्वास्थ्य शिविर गर्ने हाम्रो नियमित प्रक्रिया नै हो । यसपटकको शिविर भने थप विशिष्ठ र महत्वपूर्ण छ । विशेष गरेर क्यान्सर, मुटुसम्बन्धी, मृगौला आदि रोगको सफल उपचार गराउने वा आफ्नो रोगका बारेका सही ठम्याइँ र उपचारविधिबारे परामर्श गर्न भारतका अतिविशेषज्ञहरु भएका स्वास्थ्यसंस्थामा जाने चाहनालाई हामीले नेपालमै पुरा गरिरहेका छौं । यस्ता शिविरहरुका सन्दर्भमा हाम्रो अर्को उद्देश्य पनि छ । त्यो के भने स्वास्थ्यक्षेत्रमा पनि अर्थात दुबै देशका चिकित्सकहरुबीचको निकटता बढोस । एकअर्काका ज्ञान, सीप र अनुभवको आदानप्रदान होस । साथै दुबै देशबीचको परम्परागत मित्रतालाई चिकित्सकीय कुटनीतिको माध्यमबाट सुदृढ हुने मौका जुरोस । मैले सुरुमै भने अहिलेको शिविरको महत्व छ । त्यो के भने हामी यसपटकको शिविरलाई भारतको गणतन्त्र दिवसको अवसरमा आयोजना गर्दैछौं । अर्थात् हामी दुबै गणतन्त्रात्मक मुलुकबीचको ऐतिहासिक, धार्मिक र साँस्कृतिक सम्बन्धमा एउटा नयाँ चिकित्सकीय सम्बन्धको आयाम पनि जोड्न खोजेका छौं ।

विशेषज्ञ वा अतिविशेषज्ञ चिकित्सकबाट उपचारको कुरा आउँदा सामान्यतः हामी भारतकै स्वास्थ्य संस्था र चिकित्सकहरुकै सन्दर्भ आउँछ । किन ?

  • यस कुरालाई हामीले दुईओटा कोणबाट हेर्नुपर्छ । पहिलो दुबै देशबीचको रोटीबेटीको सम्बन्ध । अर्थात् नेपाल र भारतबीच सदियौं पुरानो सम्बन्ध छ । आदिकालदेखिको । रामसीताका कथाहरु सुन्दै दुबै देशका जनता हुर्किएका छन् । सँस्कृति, संस्कार र जीवनशैलीको निकटता, देशपार विवाहको परम्परा र बिनाराहदानी तथा बिनाप्रवेशाज्ञाले सीधा भारत जान सकिने सुविधाको उपयोगले पनि प्रायःअन्तिम परामर्शका लागि भारत जाने स्थिति बनेको हो । हामी बिरामी पर्दा सामान्यतया जेठोबाठोकै सल्लाह लिन्छौं । र, यथार्थ हो कि चिकित्सकीय सेवा र सुविधाको दृष्टिले भारतीय अस्पताल हाम्रो तुलनामा लामो समयदेखिको चिकित्सकीय पृष्ठभूमिबाट आएका हुन् । त्यसैले पनि नेपालीहरुको चिकित्सोपचारका लागि एउटा गन्तव्य भारत बन्नपुगेको हो । हामीले भारतमै उपलब्ध सेवा र सुविधालाई अझ सरल, सहज र विशिष्ठीकृत ढंगले आफ्नै घरआँगनमा उपलब्ध गराउन खोजिरहेका छौं । भारतीय स्वास्थ्यसंस्थासँगको हाम्रो दौत्य सम्बन्धको आधार पनि यही उद्देश्य हो । जसलाई हामीले विगत चार वर्षदेखि स्वास्थ्य शिविरका रुपमा अभ्यास गरिरहेका छौं ।
    अर्को कोणबाट हामीले के बुझ्नुपर्छ भने आज भारतले स्वास्थ्यक्षेत्रमा जुन उन्नति हासिल गरेको छ , त्यसको यथार्थ के हो भने त्यहाँका उपल्ला स्वास्थ्यसंस्थाको अधिकांश आम्दानी ‘मेडिकल टुरिज्म’ बाट हुने गर्दछ । पर्यटकको ठूलो हिस्सा विदेशीहरु हुन्छन् । ती विदेशीहरुमध्ये नेपालीहरुको सँख्या पनि हुनु स्वभाविकै हो । त्यसैले पनि त्यहाँका स्वास्थ्यसंस्थाहरुले फड्को मारेका छन् ।

के नेपालका हस्पीटलका तुलनामा भारतीय स्वास्थ्यसंस्था बढी सुविधायुक्त र सस्तो छन् ?

  • स्वास्थ्यक्षेत्रमा सस्तो र महँगो भन्ने कुरा हुँदैन । सेवाखर्च तिर्ने भन्ने कुरा उपलब्ध सुविधाहरुमा भर पर्छ । हामीले नेपालमा जुन सुविधाहरु प्रदान गरिरहेका छौं ती सुविधाहरु भारतमा प्राप्त गर्दा अलि महँगो नै हुन्छ । भारतको तुलनामा अमेरिकामा ती सुविधाहरु महँगा हुन्छन् ।

त्यसो भए नेपालीहरु बिरामीहरुलाई नेपालमै किन रोक्न सकिएको छैन त ?

  • पहिलेको तुलनामा अहिले धेरै उपचारहरु नेपालमै हुन्छन् । तर मैले अघि पनि भने, विशेषज्ञताका आधारमा उपचार गर्न अन्यत्र जाने संसारकै प्रबृत्ति छ । यसलाई नेपालीहरुले अनुकरण गर्नु पनि स्वाभाविक नै हो ।

नेपाललाई मेडिकल टुरिज्मको दृष्टिले विकसित गर्न मिल्दैन ?

  • संसारमै उत्कृष्ट पर्यटकीय थलोको रुपमा नेपाल भएको कुरालाई अन्तर्राष्ट्रिय क्षेत्रले स्वीकार गरिसकेको अवस्था छ । तर नेपाललाई मेडिकल टुरिज्मकै दृष्टिले विकसित गर्न निजि क्षेत्रले मात्र सम्भव हुँदैन । यसमा सरकारको संस्थागत प्रयास अपरिहार्य हुन्छ । मूलतः चिकित्सा क्षेत्रमा लगानीमैत्री वातावरणको सुनिश्चतता, सहुलियत र सुरक्षालाई सरकारले हेर्दिनु पर्ने हुन्छ । पक्कै पनि नेपाललाई मेडिकल टुरिज्मको हब बनाउन सकिन्छ । र, यसबाट नेपालका चिकित्सा शिक्षण संस्थानहरुका लागि भारतीय छात्रलाई पनि आकर्षित गर्न सकिन्छ ।

साँच्चिकै नेपालको चिकित्सा क्षेत्रलाई मजबूत बनाउन हामीले भारतको चिकित्सकीय परम्परा र अभ्यासबाट कस्तो लाभ लिन सक्छौं ?

  • नेपालको चिकित्साक्षेत्रको राम्रो सहयोगीको रुपमा भारत सधैँ रहँदैआएको छ । जसको उत्कृष्ट उदाहरणका रुपमा बीर अस्पतालको स्थापना, पूर्वाधार विकास र स्तरीकरणलाई लिनसक्छौं । मेडिकलसेक्टरको कुरा गर्ने हो भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनामा भारतको सहयोग रहेको बिर्सन मिल्दैन । तसर्थ भारतले हामीलाई सदैव स्वास्थ्यक्षेत्रमा सहयोग पुर्याउँदैआएको छ । र, यो निरन्तर रहने विश्वास गर्ने आधार पनि छन् ।

तर तपाईंले त भारतले सरकारी क्षेत्रमा सहयोग गरेको उदाहरण मात्र दिनुभयो । यस्तो सहयोग आदानप्रदानको कुरा निजि क्षेत्रमा पनि सम्भव छ ?

  • मैले अघि भनेको कुरा निरपेक्षरुपले सरकारी क्षेत्रलाई सहयोग मात्र भएको विषयसँग सम्बद्ध छैनन् । नेपालमा स्वास्थ्य संस्थाको स्थापना र उपचार प्रक्रियामा भारतले पुर्याउँदैआएको योगदानका कुरा छन् । अहिलेको एक्काइसौ शताब्दीमा नेपालको स्वास्थ्य उपचारमध्ये लगभग ७० प्रतिशत निजिक्षेत्रले प्रदान गरिरहेको बेला निजि क्षेत्रको संलग्नताबिना स्वास्थ्यक्षेत्रलाई उँभो लगाउन सकिने अवस्था छैन । त्यसैले हाम्रो अस्पतालले भारतका प्रख्यात अस्पताल म्याक्स र फेर्टिससँग सहकार्य गरेर अघि बढेका छौं ।

यसपटकको शिविरमा भारतबाट के के विषयका चिकित्सकहरु र कोहरु आउँदै हुनुहुन्छ ?

  • भारतमै ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरुमा मृतक व्यक्तिबाट लिइएको सफल मुटु प्रत्यारोपण गर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा.रजनीश मल्होत्रा, वरिष्ठ मृगौला एवं मृगौला प्रत्यारोपण विशेषज्ञ डा.अनन्तकुमार (जो प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण गर्नुभएको थियो), वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. रंग राव र वरिष्ठ स्नायु शल्यचिकित्सक डा. प्रो. भीके जैन हुनुहुन्छ ।

शिविरमा बिरामीहरुलाई उपचार गराउने प्रक्रिया के हुन्छ त ?

  • शिविरमा आउने भारतीय अतिविशेषज्ञ चिकित्सकहरुको उपचार पाउन भारतमै महिनौं कुर्नुपर्छ । तर हामीले एक दिनमै उहाँहरुबाट उपचार गराउने कार्यलाई व्यवस्थापन गरेका छौं । जसका लागि बिरामीहरुको हकमा हामीले सार्वजनिक सूचना पनि जारी गरेका छौं । र, अझ प्रष्ट भन्दा मित्रपार्कस्थित हाम्रो अस्पतालमा बिरामीहरुले सोझै सम्पर्क गरेर उपचारका लागि आफ्नो नाउँलाई सूचीकृत गर्न सक्नुहुन्छ ।

कतिको महँगो हुन्छ उपचार ?
हामीले व्यापारिक दृष्टिभन्दा पनि सामाजिक दायित्वका रुपमा शिविर सञ्चालन गर्ने गर्दछौं । त्यसैले नेपालका विशेषज्ञलाई तिर्नुपर्ने शुल्कमै उपचार गराउने व्यवसथा गरेका छौं हामीले ।
फोटो : जीवन गिरी

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *