Sunday, June 24, 2018
Home > समाचार > फोरम नेपालले काठमाडौं थर्काउने

फोरम नेपालले काठमाडौं थर्काउने

FN
सञ्चारक
काठमाडौं, माघ ८ ।
मधेश आन्दोलन जारी रहँदै सङ्घीय समाजवादी फोरम नेपालको देस्रो केन्द्रीय कार्यसमिति बैठक आजबाट काठमाडौंमा सुरुभएको छ । दुई दिनसम्म सञ्चालन हुने केन्द्रीय बैठकले नेपालको वर्तमान राजनीतिक अवस्था, जारी मधेश आन्दोलन, पार्टीको भावी कार्यदिशा र आन्दोलनमा पार्टीको आगामी भूमिकालगायतका एजेन्डामा छलफल गर्ने पार्टीका उपाध्यक्ष लालबाबु राउतले बताए ।
मधेशमा पाँच महिनादेखि आन्दोलन जारी रहेको र सरकार–मोर्चाबीचको वार्ता सफल नभइरहेको बेला आन्दोलनरत मोर्चाको घटक फोरम नेपालले केन्द्रीयलाई चासोका साथ हेरिएको छ । केन्द्रीय बैठकलाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारी बेवास्ताले गर्दा वार्ता सफल नभएको आरोप लगाएका छन् । ‘वार्तालाई निष्कर्षमा पु¥याउन मोर्चा तत्पर र इमानदार रहे पनि तीनदलका नेताहरुमा रहेको उच्चजातीय अहंकार वार्ताको बाधक बनेको छ’– यादवले भने । तीनदल वार्ता गर्ने पक्षमै नरहेको भन्दै अध्यक्ष यादवले वार्ताका नाममा सरकारले समय कटाउने षड्यन्त्र मात्रै गरेको टिप्पणी गरे ।
पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्गीय, जातीय, क्षेत्रीय, धार्मिक, भाषिकरुपले उत्पीडित जनताको आशा र भरोसा बनेको फोरम नेपालले जुनसुकै परिस्थितिमा आन्दोलनकारीको माग पुरा गराई छाड्ने अठोट व्यक्त गरेका छन् । उनले भने, ‘समाजवादजस्तो अग्रगामी विचार, सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग, सम्प्रदायको प्रतिनिधित्व भएको प्रभावकारी संगठन र उत्पीडित जनताको पक्षमा हामी निरन्तर संघर्षमा छौं ।’
बैठकमा पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । सो प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धारहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधानविरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्तालगायतका विषयवस्तु समेटिएका छन् । नेपालका सबै परिवर्तनको निर्णायक केन्द्र काठमाडौं भएकोले राष्ट्रिय आन्दोलन काठमाडौंकेन्द्रित हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । पहिचान केन्द्रीत राजनीतिक शक्तिहरुसँग बृहत्त गठबन्धन गर्दै काठमाडौंकेन्द्रित विद्रोह हुनुपर्ने निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । शनिबार केन्द्रीय सदस्यहरुले सुझावसहित आआफ्नो भनाइ राखिसकेपछि बैठक ठोस निष्कर्षमा पुग्ने उपाध्यक्ष लालबाबु राउतले बताए ।
केन्द्रीय सदस्य तथा लामो राजनीतिक संघर्ष गरेका प्रेमकृष्ण पाठकलाई क्रान्तियोद्धाको रुपमा फोरम नेपालले सम्मान गरेको छ । बैठकको उद्घाटन सत्रमा पूर्व उपराष्ट्रपति परमानन्द झाको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: