Wednesday, August 22, 2018
Home > समाचार > रङ्गेलीमा घाइते भएकाहरुको ताजा स्थिति यस्तो छ

रङ्गेलीमा घाइते भएकाहरुको ताजा स्थिति यस्तो छ

bp1
सञ्चारक
धरान, माघ ८ ।
रङ्गेलीमा प्रहरी सुरक्षाकर्मीको क्रुरतापूर्ण गोली प्रहारबाट घाइते सातजनामध्ये तीनजनाको अवस्था चिन्ताजनक रहेको छ भने दुईजनाको गम्भीर, एकजना अतिगम्भीर र एकजनाको अवस्था स्थिर रहेको जनाइएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका घाइतेहरुमध्ये १८ वर्षीय विक्रम सहनी, ४० वर्षीय जगरनाथ साह र ३५ वर्षीय सत्यनारायण साहको अवस्था चिन्ताजनक रहेको अस्पतालमा उपचार गराउने मधेश आन्दोलनका घाइतेहरुलाई सहयोग गर्दैआएको चिकित्साशास्त्र पढ्नेहरुको समूह कोशिशले जनाएको छ ।
घाइते सहनीको कानको लोतीमा गोली लागेर चोट लागेको छ भने जगरनाथको गोली प्रहारले आन्द्राभुँडीमा सानो प्वाल पारेको र कलेजोमा गहिरो चोटघाउ लागेको छ । अर्का चिन्ताजनकस्थितिमा रहेका सत्यनारायणको गोली प्रहारले छाती तथा कलेजो सुन्निएको छ ।
गम्भीर घाइते भनिएका ३० वर्षीय मुना मण्डलको गोली प्रहारले देब्रे पाखुरामा चोटसँगै रक्तसञ्चार तथा नशामा समस्या देखिएको छ । गम्भीर घाइते भएकामध्ये २८ वर्षीय सुबोध मण्डलको देब्रे पाखुरामा चोट लागेको छ ।
सदभावना प्रवक्ता ३१ वर्षीय सन्तोष मेहतालाई लाठी तथा खुकुरी प्रहारबाट टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर बताइएको छ । सदभावनाकै अर्का नेता ५२ वर्षीय दिलीप धाडेवाको पनि लाठी तथा खुकुरी प्रहारले टाउकोमा चोट लागेको छ । तुलनात्मकरुपमा धाडेवाको अवस्था कम गम्भीर भएको डा. रामज्ञान यादवले बताएको छ ।
घाइतेहरुलाई औषधोपचारका साथै घाइते तथा कुरुवाका लागि खानेबस्नेलगायतका खर्च कोशिशले व्योहोर्दैआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: