Tuesday, November 20, 2018
Home > विचार/अन्तर्वार्ता > ‘ के महामानव बीपी पनि मधेशविरोधी थिए ?’

‘ के महामानव बीपी पनि मधेशविरोधी थिए ?’

BP KOIRALA1

महामानव बीपी कोइराला सिद्धान्तः मधेशमा मधेशीलाई टिकट दिन मधेशवादी दल नै हुनुपर्ने कुराका पक्षधर थिए । उनले निर्वाचनताका मधेशमा मधेशीविरुद्ध पहाडीलाई जिताउने र मधेशका माथ्ला जातविरुद्ध अलि कम माथ्ला जातलाई उचाल्ने रणनीतिबाट राष्ट्रिय राजनीतिबाट त्यतिबेलै दुईजना मधेशीलाई विस्थापित गरे । कोइरालाको यस खुबीबाट प्रभावित र प्रेरित उनका अनुयायीहरुले झण्डै प्रधानमन्त्री बन्न थालेका महेन्द्रनारायण निधिलाई राजनीतिक सन्यास लिने गरी नै हुत्याए । श्वेतांषु शारदको यो खोजपरक विश्लेषण

समाजवाद र प्रजातन्त्रको जतिसुकै कुरा गरे पनि गैरमधेशी नेताहरुमा मधेशीहरुलाई हेर्ने दृष्टिकोण सधैँभरि नै दोयम दर्जाको रह्यो । नेपाली राजनीतिमा निकै संवेदनशील, दुरद्रष्टा कुशल राजनीतिज्ञ मानिएका बीपी कोइरालाको पनि मधेशीलाई हेर्ने दृष्टि फराकिलो थिएन । चाकडी, चाप्लुसी र चुगली गर्ने मधेशीहरुलाई असल मान्छे भन्ने र निर्भिक भएर सही कुरालाई पस्किने मानिसलाई ‘गुण्डा’ भन्ने उनको आनीबानीलाई उनले आफैँले भनेका छन् । बडो आत्मविश्वास र दृढतापूर्वक उनले देशको पहिलो आम निर्वाचनमा कसरी मधेश मुद्दाप्रति सहिष्णु राख्नेहरुलाई तेजोबध गरेको कुरा भनेका छन् । उनले पूर्वीपहाडका जातीय अग्राधिकारका मुद्दा उठाउने जनजातिहरुलाई पनि हेयका दृष्टिले हेरेका छन् ।
बीपीले जीवनका अन्तिम क्षणमा बोलेका कुराहरु सङ्ग्रहित भएको उनको ‘आत्मबृत्तान्तमा’ नामक पुस्तकको २०४ नम्बर पृष्ठमा उनले संसदीय क्षेत्रमा टिकट बाँड्दा दुईतीनओटा घतलाग्दा कुराहरुमा मधेशीलाई अयोग्य, असक्षम र मधेशका कुरा उठाउनेबित्तिकै ‘गुण्डा’ का रुपमा सगर्व उल्लेख गरेका छन् । पहाडीमूलका ब्राह्म्णलाई क्रान्तिकारी र मधेशीमूलका ब्राहम्णलाई सामन्त र प्रतिगामी भएको उनको दृष्टिदोषको दस्ताबेज बनेको छ आत्मबृत्तान्त । र, पहाडी शासकहरुको दबदबामा चलेको तत्कालिन समाजमा कसरी मधेशीहरुले नै मधेशीको विरोध गर्ने अनि पहाडबाट झरेकाहरुलाई अँगालोमा हाल्ने प्रसङ्गहरु पनि छन् ।
बीपीले सरोज कोइरालालाई टिकट दिने विषयमा कार्यकर्ताहरुको बैठक बोलाउँदा कसलाई टिकट दिने विषयमा कुरा गर्दा आफैँ टिकट पाउने कतारमा रहेका निर्गुण यादवले सरोज कोइरालालाई नै टिकट दिनुपर्ने जिकीर गरेका थिए । स्थानीय गिरी र मिश्र परिवारहरुले त्यस क्षेत्रमा बडो प्रभावशाली राजपुत उठ्ने भएकोले यादव बाहुल्य त्यस क्षेत्रबाट यादवलाई नै टिकट दिनुपर्ने दाबीका बीच टिकट पाउने हकलाग्ने निर्गुण यादवले आफ्नो दाबेदारीलाई आफैँले खारेज गरेका थिए ।
निर्गुणले भनेका थिए रे यदि जातीयतालाई आधार बनाउने हो भने नेपाली काँग्रेस किन बनाइयो । उनको कुरामा सही थाप्दै अर्का यादवले सरोजबाबुले नै टिकट पाउनुपर्नेमा जोड दिए । त्यहाँ प्रसङ्ग एउटा अर्को यादव थरका व्यक्तिको आएको छ । जसले आफू उम्मेदवार हुने बताएका थिए । तर उनको नाउँको सम्झना बीपीलाई छैन । बरु बीपीले उनले भकभकाएर बोलेको र पार्टीमा निस्क्रिय रहेको आरोप लगाएका छन् ।
जम्मा पचाससाठीजना सक्रिय कार्यकर्ताको उपस्थितिमा निस्क्रिय व्यक्ति सहभागी हुनु र अन्य यादवहरुले कोइरालालाई नै टिकट दिलाउनुपर्ने योजनाका पात्र भइरहेको बेला टिकट माग्ने आँट गरेका अर्का यादव थरका व्यक्ति भकभकाएर कसरी बोल्न सक्छ ? यस विषयको परीक्षण हुनु जरुरी छ । अन्ततः सरोज कोइरालालाई नै टिकट दिइएको यस प्रकरणमा बीपीको दुराग्रह स्पष्ट उजागर भएको थियो । मधेशका दिग्गज काँग्रेसी नेता र पछि बीपी सरकारका मन्त्री रामनारायण मिश्रको चर्को विरोधका बाबजूद पनि सरोजलाई टिकट दिइएको थियो । “पछिसम्म रामनारायणले ठूलो गल्ती भयो । हामी हार्छौ त्यस निर्वाचन क्षेत्रमा, जित्ने क्षेत्रमा हामी हार्ने भयौं । तर हामीले जित्यौं ।” बीपीको यो अभिव्यक्ति मधेशीमूलका काँग्रेसी नेता मिश्रलाई गिज्याउन पर्याप्त हो ।
राष्ट्रिय चरित्रले जातीयता हेर्दैन, सिङ्गो राष्ट्रकै कुरा गर्छ भन्ने पाठशालामा पढेका निर्गुण यादवले नत उतिबेला नै बीपीसँग प्रश्न गरे कि किन हामी सिन्धुलीको दुम्जाबाट लड्न सक्दैनौ नत उनको प्रश्न अहिले नै उत्तरित छ । बरु राष्ट्रवादको नाउँमा पहाडी ब्राहम्णवादी एकल जातीय शासन संस्कारलाई नेपाली काँग्रेसले विरासतमै पाएको छनक दिन्छ ।
राजनीतिमा उचाइँ लिदैँ गरेका नेताहरुलाई बाटोमै अड्काउन मधेशीलाई नै शिखण्डी बनाउने पहाडी बाह्म्णहरुको रणनीतिक चातुर्य विश्वमै विरलै पाइन्छ । जसले गर्दा धेरै सँख्यामा मधेशीमूलका राजनीतिकर्मीहरु लोकप्रियता चुमिरहँदा विभिन्न प्रपञ्चबाट पार्टी वा राजनीतिबाटै अलग्गयाइएका छन् । काँग्रेसमा पनि सम्भावित प्रधानमन्त्रीका रुपमा अघिआएका महेन्द्रनारायण निधिलाई निस्क्रिय र अन्ततः पार्टी नै छोड्ने गरी विवश बनाउने काममा उनका दौँतरी नेता कृष्णप्रसाद भट्टराईसमेत लागेका थिए । गतिलो मधेशीलाई गतिछाडा बुझ्ने र मुरुख मधेशीलाई भलादमी भन्ने बीपी कोइरालाका सहोदर भाइ गिरिजाप्रसादले यसो गर्नु त स्वाभाविक नै थियो ।
पढेलेखेका र ज्ञानी व्यक्ति थिए भद्रकाली मिश्र । कालान्तरमा तत्कालिन राजपरिषद स्थायी समितिका सभापतिसमेत भएका मिश्र पनि उम्मेदवार थिए । उनको विरुद्धमा बीपीले जातीय उँचनीचको कुरा गर्दै एकअर्के व्यक्तिलाई चुनावमा उठाए । गुरुङ, राइ, लिम्बुजस्ता सीमान्तकृत समुदायमा बाहुन र क्षेत्रीलाई टिकट दिने बीपीको आँखा मधेशको जातीय विभाजनमा पर्नु भनेको अहिले एमालेको दृष्टिसँग मेल खान्छ । एमालेले पनि मधेशको जातीय विविधतामा खेलेर राजनीतिमा ठाउँ बनाउनसक्ने व्यक्तिहरुलाई महासामन्त नै भन्नेगरेको छ । तर एमालेले कहिल्यै प्रष्ट पारेको छैन कि करिब १३ प्रतिशतको सँख्यामा रहेका बाहुनहरु नै किन त्यस पार्टीलाई हाँक्ने गरेका छन् ।
वेदानन्द झाले तराई काँग्रेसको स्थापना गरिसकेका थिए । उम्मेदवारी दिएका उनको पक्षमा जोडतोडले प्रचार भइरहेको थियो । काँग्रेसका अधिकांश कार्यकर्ताहरुले झाका विरुद्ध मधेशीलाई नै टिकट दिन माग गरे । तर यो विचार बीपीलाई ठिक लागेन । बीपीका अनुसार त्यहाँ पनि मधेशीलाई टिकट दिनुपर्ने कुराको झा थरकै एकजना मधेशीले विरोध गरेका थिए रे । मधेशियालाई टिकट दिनुछ भने वेदानन्द झाकै पार्टी छँदैछ नि भनेर । भनेपछि बीपी कोइराला मधेशमा पनि मधेशीलाई नै टिकट दिन मधेशी पार्टी नै हुनुपर्छ भन्ने कुरामा सिद्धान्ततः सहमत थिए ।
उनले पछि त्यस क्षेत्रबाट माधव रेग्मीलाई टिकट दिए र त्यसको प्रविाद गर्ने वेदानन्द झासमर्थक पूर्व काँग्रसी कार्यकर्ताहरुलाई गुण्डा टाइपको व्यवहार गर्ने मान्छे भन्दै झाविरुद्ध रेग्मीको प्रचार आफूले गर्ने बताएका थिए ।
निवर्नचनमा काँग्रेस परित्याग गरेर तराई काँग्रेस बनाएका वेदानन्द झाको जमानत जफत भयो । भद्रकाली मिश्रको अवस्था पनि फरक भएन । राष्ट्रिय पहिचान बनाएका यी दुबै नेतालाई मधेशीविरुद्ध पहाडी उम्मेदवार र कथित माथ्लो जातविरुद्ध कथित अलिक तल्लो जातलाई लडाएर बीपीले एकाधिकारवादी पहाडी शासनसत्ताको रुपरेखा कोरिसकेका थिए ।
आज पनि नेपाली राजनीतिमा बीपीको यो चिन्तन गैरमधेशी र खासगरी खसआर्यहरुका लागि अनुकरणीय रहँदैआएको छ । जसको परिणाम विगतमा पनि देखिएका थिए र मधेशी जनता सतर्क नहुने हो भने भावी दिनहरुमा पनि आइ नै रहनेछन् ।

%d bloggers like this: