Saturday, December 15, 2018
Home > समाचार > “जहाँ मधेशीका लागि मात्रै निषेधाज्ञा छ !”

“जहाँ मधेशीका लागि मात्रै निषेधाज्ञा छ !”

Nisedhagya
रामविकास चौधरी/
भैरहवा, माघ ४ । लगातारको निषेधाज्ञाले भैरहवाको जनजीवन कष्टप्रद बन्दै गएको छ । कुनै बेला सुन्दर, शान्त र आकर्षक मानिने भैरहवा सहरमा स्थानीय प्रशासनले गत पाँच महिनाभन्दा बढी समयबाट निर्धारित समयका लागि विभिन्न ठाउँमा निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ ।
आफ्नो सुविस्तालाई दृष्टिगत गरी लामो समयदेखि रुपन्देही सदरमुकाममा लगाइएको निषेधाज्ञाले स्थानीयबासीहरु अक्रान्त छन् । निषेधाज्ञाले झ्यालखाना बनेको भैरहवाबासीहरु आफूलाई थुनुवाभन्दा कम ठान्दैनन् । ‘सदरमुकामबाहिर निस्केपछि बल्ल स्वतन्त्रताको साँस फेर्न पाइन्छ’– अधिवक्ता दिलिप मल्लिक भन्छन्–“भैरहवामा त कैदीजस्तै भएका छांै ।”
गत भदौ ३ गते प्रहरीको आडमा भएको नरसंहारपछि स्थानीय प्रशासनले सोही दिनबाट शान्तिसुरक्षालाई व्यवस्थापन गरेको भन्दै रुपन्देहीको सदरमुकाम भैरहवाक्षेत्रमा निरन्तर निषेधाज्ञा लगाएको छ । पश्चिम मायादेवीचोक, उत्तर विद्युत कार्यालय, पूर्व दरखसवाको बाइपास र दक्षिण भैरहवा भन्सार कार्यालयको गेटसम्मको भैरहवाक्षेत्रको चारकिलाभित्रको भाग अशान्त र जोखिमयुक्त रहेको बताउँदै प्रशासनले लगातार निशेधाज्ञा लगाउँदैआएको हो ।
विगतका कुनै पनि आन्दोलनमा भैरहवा अशान्त नबनेको र अहिले पनि अशान्त नरहेको स्थानीयको भनाइ छ । मधेश आन्दोलनमा जनसहभागितालाई रोक्न स्थानीय प्रशासनले निषेधाज्ञाको सहारा लिएको बताइएको छ । सिनपा ३ का बुद्धिजीवि महेश्वर चौधरी भन्छन्, “मधेश आन्दोलनलाई तुहाउने र पछाडि पारिएका समुदायको आवाजलाई सधैँभरिका लागि थुनछेक गर्न तथा बोधो बनाउने प्रशासनिक प्रपञ्चको परिणाम लगातारको निषेधाज्ञा हो ।”
निषेधाज्ञा लगाइएका क्षेत्रमा गैरमधेशीहरुलाई व्यक्तिगत तथा सार्वजनिक क्रियाकलाप गर्न छुट दिइँदैआएको छ । उनीहरुले यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको समयमा बेरोकटोक सबैखाले गतिविधि गर्छन् । स्थानीय सुरक्षाकर्मीहरुले उनीहरुलाई छेकबार लगाउँदैनन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीका संयोजक महेन्द्र यादव भन्छन्,–“यो निषेधाज्ञा मधेशीका लागि मात्र हो ।” निषेधित क्षेत्रभित्रै गाईजात्रा मनाउन, मन्त्रीका लागि स्वागत जुलुस निकाल्न, विभेदकारी संविधान जारी भएकोमा दीपावली मनाउन र मधेशीहरुको प्रतिकार गर्न गैरमधेशी समुदायका लागि निषेधाज्ञा नभएको यादवको भनाइ छ ।
रुपन्देही पूर्णरुपमा शान्त छ । छिटपुट हुने आन्दोलनका कुनै पनि गतिविधिमा हिँसात्मक घटना भएका छैनन् । तर पनि प्रशासनले निरन्तरको निषेधाज्ञालाई फिर्ता लिएको छैन । सद्भावना पार्टीका केन्द्रीय सदस्य मनमोहन चौधरी ठट्यौली पारामा गम्भीर कुरा पस्कन्छन् । उनी भन्छन्,‘समय गणणाको दृष्टिले जसरी मधेश आन्दोलनले विश्व कीर्तिमान कायम गरेको छ त्यसरी नै भैरहवाको निषेधाज्ञा संसारमै सबैभन्दा लामो समयको हुने इतिहास बनाउदै छ ।’ स्थानीय राजनीतिकबृत्तमा एमालेनिकट भनेर चिनिएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु ढकालले ओली सरकारबाट विशेषपुरस्कार थाप्नकै लागि निषेधाज्ञा थप्दैआएको सदभावना केन्द्रीय सदस्य चौधरीको आरोप छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु ढकाल भने गृहप्रशासनका कुशलज्ञाता र गृहका दिग्गज अधिकारी लक्ष्मी ढकालका सहोदर भाइ हुन् । स्थानीयहरुले सहोदर दाजुबाट निषेधाज्ञा लगाउने आधार तथा मापदण्ड एवं यसका अभ्यासका बारेमा सिकेका भए रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले भैरहवाको निषेधाज्ञालाई फिर्ता लिने बताउँछन् ।
यस्तो खालको निषेधाज्ञा प्रमुख जिल्ला अधिकारीले एकपटकमा दुई महिनाको अवधिसम्म लगाउन सक्ने स्थानीय प्रशासन ऐनमा व्यवस्था रहेको अधिवक्ता पंकज कर्णले बताउनुभयो । तर स्थानीयबासीहरुले निषेधाज्ञा पाँच महिनायता कुनै दिन फिर्ता भएको अनुभूति आफूहरुलाई नभएको गुनासो गरेका छन् ।

%d bloggers like this: