Wednesday, February 21, 2018
Home > समाचार > प्रहरीको अभियोगपत्रमा यस्तो छ

प्रहरीको अभियोगपत्रमा यस्तो छ

JM
वीरेन्द्र रमण
जनकपुर, माघ ४ ।
विवाहपञ्चमी महोत्सवको अवसरमा पारेर जनकपुरको जानकी मन्दिरमा भएको तोडफोडमा संग्लन रहेको भन्दै प्रहरीले १० जनालाई अभियुक्त बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको छ । विवाहपञ्चमी महोत्सवको क्रममा जानकी मन्दिरमा पुजाअर्चना गर्न आउनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी फर्केलगत्तै मन्दिरमा भएको तोडफोड भएको थियो । सो घटनामा संलग्न रहेको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
सो घटनामा अभियुक्त बनाइएहरुमा जनकपुर उपमहानगरपालिका ४ बस्ने कृष्णा साहकी श्रीमती ४० वर्षीया शिला देवी, धनुषाधाम नगरपालिका वडा नम्बर ६ बस्ने रामनरेश परसैलाको छोरो २० वर्षीय अशोकुमार परसैला, धनुषाको बेलापट्टी बस्ने वैद्यनाथ साहकी श्रीमती ३५ वर्षीया विमला साह, रमदैयाभवाडी वडा नम्बर ४ बस्ने श्यामकिशोर यादवको छोरो विवेकचन्द्र अधिकारी, जनकपुर ४ बस्ने शत्रुधनलाल कर्णको छोरो ३५ वर्षीय सुशिल कर्ण, महोत्तरीको महदैया तपनपुर १ बस्ने रामसृष्टि यादवको छोरो ३४ वर्षीय नविन यादव, जनकपुर ६ बस्ने विन्देश्वर चौधरीको छोरो ५० वर्षीय रामचन्द्र चौधरी, सोही वडाका भोगेन्द्र ठाकुरकी श्रीमती ३५ वर्षीया सरिता देवी, वडा नम्बर १० बस्ने ईश्वरनारायण रायको छोरो ४२ वर्षीय रामजी राय र वडा नम्बर ८ बस्ने सुरेश चौधरीको श्रीमती सीता चौधरी रहेका छन् ।
घटनामा संग्लन भएको भनेर अभियुक्त बनाइएकामध्ये दुईजना पक्राउ परेका छन भने अन्य प्रतिवादीहरु फरार रहेको प्रहरीले दायर गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोगपत्रमा धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित जानकी मन्दिरको गर्भगृहमा कालो झण्डा ,ढुंगामुढा बोकेको समूह प्रवेश गरी गर्भगृहको चाँदीको गेटनजिक पुजा गर्ने ठाउँ घेरेर राखेको काठको रेलिंग अगाडिपट्टीको २ ओटा पल्ला उप्काएर भाँचेको, अगाडिको बायाँ पट्टीको पल्लाको एक खण्डको काठ तोडफोड गरी भाँचेर सो स्थानबाट अन्यत्र लगेको, चाँदीको गेटसम्मको रेलिंग दायाँबाँया दुबैतर्फ एक एक ओटा भाँचिएको, पुजा गर्ने गेटको दाहिने साइडको छुट गुठी लेखेको फलेक्स ब्यानर च्यातेको, उक्त गर्भगृह मन्दिरको पछाडि भागमा २ ठाउँमा ढुंगा लागि भत्केको, संग्राहालयको बीच भागमा पिलरमा २ ठाउँमा ढुंगा लागि कुचिएर भत्केको, उत्तर गेटको बाहिर निस्कने तर्फ रहेको २ वटा पिलर र भित्तामा ढुगा लागि कुचिभत्केको अवस्थामा रहेको जनाइएको छ ।
प्रहरीले पक्राउ परेका प्रतिवादी र फरार रहेका प्रतिवादीमाथि प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दफ १२ को क अनुसार कसुरअपराध गरेको भन्दै कारवाहीको माग गरेको छ । सो ऐनअनुसार प्राचीन स्मारकलाई भत्काएर र क्षति पुर्याएको अवस्थामा बिगोअनुसारको रकम असुल तथा २५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुबै सजायको अवस्था रहेको जनाइएको छ । प्रहरीले दायर गरेको अभियोगपत्रमा क्षतिपुर्तिको रकम हालसम्म खुलि नआएकोले खुलिआएको बखत पेश गरिने जनाइएको छ । साथै फरार रहेको प्रतिवादीहरु विमला साह, विवेकचन्द्र अधिकारी, सुशिल कर्ण, नविन यादव, रामचन्द्र चौधरी, सरिता देवी, रामजी राय र सीता चौधरीको नाउँमा अदालतबाटै कानूनबमोजिम म्याद जारी हुन माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: