पाँच महिनापछि २५ एम्बुलेन्स आइपुुगे

काठमाडौँ, ४ माघ ।

लामो समयदेखिको मधेश आन्दोलन र सीमानाकामा अवरोधका  कारण नेपालको आमा सुरक्षा कार्यक्रमका लागि खरिद गरिएका २५ वटा एम्बुलेन्स पाँच महिनापछि नेपाल आइपुगेका छन् ।
वीरगञ्ज नाकामा पाँच महिना रोकिएर पाँच दिनअघिमात्र नेपाल आइपुगेका एम्बुलेन्स वीरगञ्जबाट ल्याउने प्रयास असफल भएपछि एम्बुलेन्स ल्याउने जिम्मा पाएको सिप्रदी टाटा मोटर्सले रिलोड गरी सुनौली नाकाबाट एम्बुलेन्स नेपाल ल्याएको हो ।ambulens
सिप्रदी टाटा मोटर्सका प्रबन्धक प्रविण खतिवडाले वीरगञ्जबाट ल्याउने प्रयासमा लामो समय बितेको र नसकेपछि रिलोड गरी भैरहवा नाकाबाट एम्बुलेन्स ल्याएको बताए । उनले चाँडै नै स्वास्थ्य विभागलाई हस्तान्तरण गरिने पनि जानकारी दिए ।
आपूर्ति व्यवस्था महाशाखाका निर्देशक भीमसेन तिंकरीले परिवार स्वास्थ्य महाशाखाको मागमा २५ जिल्लाका स्वास्थ्य केन्द्रका लागि ती एम्बुलेन्स खरिद गरिएको बताए ।
रु छ करोड मूल्यमा खरिद गरिएका २५ वटा एम्बुलेन्स विभिन्न हिमाली तथा पहाडी जिल्ला अस्पतालमा आमासुरक्षा कार्यक्रमका लागि खरिद गरी ल्याउन लागिएकाले त्यसका लागि निकै ढिला भइरहेको छ ।
परिवार स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक ओम खनालले गर्भवती महिलालाई स्वास्थ्यसंस्थामा आई स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुन प्रेरित गर्न यातायातको व्यवस्था गर्न एम्बुलेन्सको सुविधा प्रदान गर्न लागिएको बताए ।
खरिद गरिएका ती एम्बुलेन्स जिल्ला अस्पतालहरु सिन्धुली, म्याग्दी, बैतडी, बाजुरा, ओखलढुङ्गा, मुस्ताङ, रुकुम, जाजरकोट, अछाम, दार्चुला, ताप्लेजुङ, खोटाङ, रामेछाप, सङ्खुवासभा, कालीकोट, गुल्मी, र तेह्रथुमलाई वितरण गरिनेछ ।
यसैगरी ती एम्बुलेन्स शिकुवा प्राथमिक स्वास्थ्य केन्द्र कास्की, पश्चिमाञ्चल स्वास्थ्य केन्द्र पोखरा, दुल्लु अस्पताल दैलेख, हेडौँडा अस्पताल मकवानपुर, लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्र पर्वत, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङ र चरिकोट अस्पताल दोलखालाई पनि प्रदान गरिनेछ ।
ती एम्बुलेन्स वितरणपछि स्वास्थ्य संस्थामा गई सुत्केरी हुने सङ्ख्यामा वृद्धि भई अकालमा गर्भवती, सुत्केरी महिला र नवजात शिशुको उपचारमा ढिलाइ भई मृत्युहुने अवस्थामा कमी आउने विश्वास जनस्वास्थ्य निरीक्षक खनालले व्यक्त गरे ।
अहिले नेपालका ७५ वटै जिल्लामा आमा सुरक्षा कार्यक्रम सञ्चालित छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा आई सुरक्षित सुत्केरी हुने महिलालाई यातायात खर्च पनि नेपाल सरकारले उपलब्ध गराउने गरेको छ जसअन्तर्गत हिमाली क्षेत्रका गर्भवती महिलालाई रु एक हजार ५००, पहाडी जिल्लाका गर्भवती महिलालाई रु एक हजार र तराईका गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आई सुत्केरी हुँदा यातायात खर्चस्वरुप रु ५०० दिने गरिएको छ । रासस

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *