Wednesday, August 22, 2018
Home > समाचार > सदभावना अध्यक्ष महतो काठमाडौंमा

सदभावना अध्यक्ष महतो काठमाडौंमा

mahato g12345

सहमतिका लागि ठोस र विश्वसनीय खाका आउनुपर्ने

सञ्चारक, माघ ३ ।

नयाँ दिल्लीमा एक साताभन्दा बढी लामो राजनीतिक परामर्श र त्यसअघिको स्वास्थ्योपचारपछि सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो आइतबार दिउँसो स्वदेश फर्केका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा अध्यक्ष महतो नेपाल वायु सेवा निगमको नियमित उडानबाट केही बेरअघि काठमाडौं विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले झुक्याएर वा ठगेर ठोस निष्कर्ष ननिस्किने भन्दै सरकार र मुख्य प्रतिपक्षीलाई ठोस तथा विश्वसनीय ढंगले प्रस्तुत हुनुपर्ने बताऐ । उनले आफूहरु वार्ता र सम्झौताको विरोधी नभएको दाबी गर्दै गणितका आधारमा संविधान बनाउने तीन दललाई जनताका अधिकार पुनसर््थापित गर्न इमानदार हुनुपर्ने पनि उल्लेख गरे ।
प्रधानमन्त्रीले आफू दिल्ली रहँदा फोन गरेर समस्याको समाधान गर्ने विश्वास दिलाएकोले आफू काठमाडौं आएको जानकारी दिँदै त्यसो नभए मधेश आन्दोलनमा फर्किने पनि प्रष्ट पारे । उनले आफू आशा र विश्वासका साथ समस्या समाधानका लागि काठमाडौं आएको भन्दै आजै प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका व्यक्तिहरुसँग भेटेर समस्याका समाधानका लागि छलफल गर्ने थपे । उनले आफू उपचारका लागि काठमाडौं विमानस्थल हुँदै दिल्ली गएको र काठमाडौंबाटै फर्किने क्रममा प्रधानमन्त्रीको आग्रहमा काठमाडौंमा रोकिएको बताए ।
अध्यक्ष महतोले रातारात संविधान सम्बोधन हुन नसक्ने भए पनि मधेशमा दुई प्रदेशसम्बन्धी व्यवस्थाका लागि ठोस आधार तय हुनुपर्ने बताए । सीमाङ्कनका लागि राजनीतिक संयन्त्र गौण विषय भएको उल्लेख गर्दै संयन्त्रको कुरा षड्यन्त्रको रुपमा आउन नहुने जिकीर गरे । उनले आफूसँगको भेटमा सरकार गम्भीर भएर आउने विश्वास पनि व्यक्त गरे ।
भारतीय नेताहरुसँगको भेटमा उनीहरुले नेपालमा शान्ति, स्थिरता र विकास हुनुपर्ने बताउँदै दलहरुले समझदारी बनाउँदै सबैका अधिकार स्थापित हुने गरी संविधान संशोधन हुनुपर्नेमा जोड दिएको बताए ।
अध्यक्ष महतोलाई विमानस्थलमा स्वागत गर्न पार्टीका महासचिव मनीष सुमन, सभासद् विमल केडिया, केन्द्रीय सदस्य उपेन्द्र महतोलगायत सयौं कार्यकर्ताहरु पुगेका थिए । अध्यक्ष महतोसँग उनकी धर्मपत्नी शैलदेवी महतो र उनीनिकटस्थ सञ्चारकर्मी पंकज दास पनि फर्केका छन् ।
विमानस्थलबाट अत्यन्त कडा सुरक्षाका बीच बानेश्वरको लाखेमार्गस्थित पार्टी कार्यालयमा आएका अध्यक्ष महतो अहिले पार्टीका नेताहरुसँग भेट्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: