विदेशिएका लोग्नेहरु भन्छन्,– ‘धन र धरम दुबै गए’

Bidesh

 

वैदेशिक रोजगारका थुप्रा आकर्षक पक्षहरु छन् । यसले विपन्नतामा जेलिएकाहरुलाई सुखसयल दिएको छ । तर यसको डरलाग्दो र दुखलाग्दो परिणामका रुपमा मोजमस्ती र परपुरुषगमनलाई पनि बढावा दिएको छ । लोग्ने विदेशमा हुँदा एकलोपना, सामाजिक असुरक्षा र अन्य पुरुषको सामीप्य हुने लोभले मधेशको समाजलाई कतातिर डोर्याउँदैछ । जनकपुरबाट सञ्चारक प्रतिनिधि बीरेन्द्र रमणको यो रिपोर्ट

 

माघ, ३ ।

वैदेशिक रोजगारीमा जानु अदक्ष र अद्र्धदक्ष नेपाली युवकहरुको बाध्यता छ । यसो त वैदेशिक रोजगारीको आकर्षणले पढेलेखेका दक्ष युवालाई पनि पराई देशमा पसिना काढ्न विवश तुल्याइरहेको छ । गर्जो टार्न नसक्ने गरी दरिद्रतालाई अन्त्य गर्न र सजिलो जीवनयापनका लागि विदेश जाने युवकहरु बढ्दो लर्कोसँगै यसको गलत असरका  रुपमा उनीहरुका दाम्पत्य जीवन सोतर हुँदैछन् ।

महोत्तरीको सुगा–३ मा सामान्य उद्यम गरे जेनतेन गुजारा गरिरहेका जीवछ मण्डल अचानक अलप भएपछि उनको खोजीनिति सुरु भयो । उनले सञ्चालन गरिरहेको चियापसल भएको कोठाको ताल्चा धेरै दिनसम्म नखुलेपछि गाउँलेहरुले सजिलै लख काटे कि उनी किन बेपत्ता भए । उनी सुटुक्कै छिमेकमा रहेको बहुअर्वा गाउँकै तीन छोरी र तीन छोराकी आमालाई लिएर ‘जोइल’ गएको पत्तो लाग्यो । एक वर्षयता जीवछकै पसलमा दुध बेच्दैँ आएकी मिनाक्षी(नाम परिवर्तन) का श्रीमान मजदूरी गर्न लामो समयदेखि कतारमा छन् । श्रीमानबिना गाउँमा  पशुपालन गर्दैआएकी मिनाक्षी जीवनसँग एकलोपना मेटाउन लसपस गर्दैआएकी थिइन । थोरै समयको अन्तरालमा मिनाक्षी र जीवनले बिहे गर्ने निर्णय गर्दै सामाजिक र पारिवारिक दायित्वको हेक्का नराखी फरार भए ।

गाउँसमाजको डर र लाजधाकले केही महिना भारतका विभिन्न सहरमा बसेर अहिले उनीहरु गाउँ फर्केका छन् । उनीहरु गाउँ फर्कने बित्तिकै लगतै मिनाक्षीका पूर्व श्रीमान पनि विदेशबाट आए । गाउँमा सरसमाजका ठूलाबडाहरु डाकेर ‘पञ्चायत’ गरियो । पञ्चले एकैस्वरमा मिनाक्षीलाई पूर्वलोग्ने वा अहिलेको लोग्नेसँग बस्ने भनेर सोधे । उनले भने आफू एक्लै बस्न नसक्ने भएकीले अहिलेकै लोग्नेसँग बस्ने उत्तर दिइन । उनको गुनासो थियो, –‘पैलेको श्रीमान पटकपटक विदेश गएकोले आजित भएर लोग्नेसँग अलग्गिने टुङ्गोमा पुगेकी हुँ ।’

यसैगरी महोत्तरीकै पिपराका चौधरी थरकी एउटी महिला लोग्नेले विदेशबाट दुखजिलो गरी पठाएको रकम लिन बैंकमा जाने गरेकी थिइन । रेमिट्यान्सको रकम संकलन गर्न आवतजावत गरिरहँदा बैंकमै उनको कलाउद्दिन नाउँ गरेको एकजनासँग भेट भयो । लोग्नेले पठाएको पैसाले उनीहरुले लामो समयसम्म मोजमस्ती गरे । लोग्ने फर्कने समय भएपछि दुबैजना फरार भए । अहिले बिहासमेत गरिसकेका उनीहरुले विदेशबाट आएका रकम र सरसामान लिएर फरार भएपछि चौधरी थरकी महिलाको लोग्नेको बिल्लीबाँठ भएको छ ।

गाउँसमाजमा अचेल हुनेगरेका यस्ता घटनाहरु प्रतिनिधिमूलक मात्र हुन् । यस्ता घटनाहरुको फेहरिस्त लामो छ । यीमध्ये लोकलाजले गर्दा कतिपय घटना सार्वजनिक हुँदैनन् भने धेरै पीडितहरुले पैसा पाउनका लागि जिल्ला प्रहरी कार्यालय र अदालतको ढोका ढक्ढक्याएपछि मात्र ती घटनाहरुका सन्दर्भमा चर्चा चुलिने गरेका छन् ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने क्रमसँगै पारिवारिक विखण्डन अत्यासलाग्दो ढंगले बढेको छ । एकअर्कासँग छुट्टिएर बस्दा युवा दम्पतीमा आउने विचलनबाट उनीहरुका बालबच्चाहरु मनसिक दबाबमा परेका छन । विवाह भएपछि यवकहरु विदेश जाँदा यो समस्या झन विकराल बनेको छ । वैदेशिक रोजगारकै कारणले विवाहोत्तर यौन सम्बन्ध र अर्कासँग वैवाहिक सम्बन्ध सुरुवात गर्ने घटना समान्य बन्दैगएको जानकारहरु बताउँछन ।

वैदेशिक रोजगारमा गएकाहरुका श्रीमतीहरुको पररपुरुषसँग सम्बन्ध भएका घटनाहरु उजुरीका रुपमा प्रहरीसमक्ष पनि पुग्नेगरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलको तथ्यांकअनुसार धेरैजसो महिला सम्बन्धी मुद्दामा वैदिशक रोजगार नै कारण भएर आउने गरेको छ । लोग्ने विदेशिएका कयौं पत्नीहरुको मनोमानीपूर्वक जिन्दगी जिउने तरिका र रेमिट्यान्सका रकमलाई दुरुपयोग गर्ने प्रबृत्तिका कारण घरबिग्रका घटनाहरु बढेका छन् । लाखौं मूल्यबराबरका सम्पतिसहित पत्नी बेपत्ता हुने घटनाहरुलाई यसैको परिणामको रुपमा लिइएको छ ।

विदेश गएका पत्नीको कमाईलाई उडाउने, परमहिला गमन गर्ने वा अर्को विवाह गर्ने पतिहरुको संख्या पनि कम छैन । लोग्ने विदेशिएपछि घरपरिवार र समाजबाट पाइने तिरस्कारका कारण पनि कतिपय महिलाहरु सञ्चोसुविस्ता र सहाराका लागि पनि परपुरुषको निकटम आउने गरेका छन् । महिला हिँसा न्यूनिकरणको क्षेत्रमा काम गर्ने ओरेक धनुषाका प्रमुख रेखा दत्त भन्छिन, ‘पुरुषहरु कमाउनका लागि विदेश गएपछि विभिन्न समस्याको कारणले महिलाहरु घर बाहिर निस्किने र घरमा रहेका सासुससुरालगायतले सास्ती दिएपछि बाध्यतावश पनि महिलाहरुलाई यस्तो कदम उठाउनु परेको छ ।’

कतिपय अवस्थामा सम्भावित दुष्परिणामप्रति सचेत नएर विवाहोत्तर सम्बन्ध हुँदा सम्बन्धविच्छेदका घटनाहरु भइरहेका छन् । यौनसम्बन्धका विषयमा हुने चियोचर्चा र असुरक्षित समागमले हुने अनिच्छित गर्भधारणले समस्यालाई बल्झाउने गरेको जानकारहरुको भनाइ छ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१।०७२ मा सम्बन्धविच्छेदका मुद्दा मात्रै एक सयओटा दर्ता भएका छन् । जसमध्ये ७२ वटा फछर्यौट भइसकेको छ २८ ओटा थाँती छन् । अदालतका अनुसार नयाँ आर्थिक वर्षको सुरुवातसंगै अहिलेसम्म सम्बन्धविच्छेदका करिब २५ ओटाभन्दा बढी मुद्दा दर्ता भइसकेका छन् । जसले चालु आर्थिक वर्षमा सम्बन्धविच्छेदको क्रमलाई थप तीब्र बनाउने छ ।

यसैगरी वैदेशिक रोजगरीसँगै जोडिएर महिलाहरुमाथि विभिन्न प्रकारका मुद्दा दर्ताको संख्या बढेको छ । जिल्लामा फौजदारी मुद्दाको दर्ताको संख्या घटिरहेको भए पनि महिलासम्बन्धी मुद्दाहरु अत्याधिक बढेको हो । आर्थिक वर्ष २०७१।०७२ मा नाताकायमको मुद्दा ३२ ओटा परेका थिए । जसमध्ये २७ ओटा फर्छौट भएका छन् भने ५ ओटा बाँकी रहेका छन् । त्यसैगरी बहुविवाहका २ ओटामध्ये सबैको फर्छयौट भइसकेको छ । जिल्ला अदालत धनुषामा मानाचामलको १९ ओटा मुद्दा परेका थिए भने ७ वटा फछर्योट भएका छन् भने १२ ओटा बाँकी छन् ।

पारिवारिक कलेष र भाइदैयादबीचको इखले हिजोआज संयुक्त परिवारको विघटन हुने क्रम बढेको छ । विवाहपछि सगोलमा नबस्ने र विदेशिएकाहरुले बालबच्चा र श्रीमतीलाई सुखसयल र शिक्षादीक्षाका लागि गाउँको घरभन्दा सहरमा राख्ने चलन बढेको छ । यसरी थाँतथलोबाट ढाढा बस्ने महिलाहरुको पारिवारिक सामञ्जस्य कमजोर हुने र लोग्नेले पठाएको पैसाबाट आर्थिक सबलता बढेपछि परपुरुषसंग यौन सम्बन्ध गाँसिने बताइएको छ । कानून व्यावसायी रेखा झा भन्छिन्–‘वैदेशिक रोजगारीसँगै महिला हिँसाको घटनासमेत बढेकाले अहिले आएर सम्बन्धविच्छेदको घटनामा बृद्धि भएको हो ।

जिल्लामा बढिरहेको सम्बन्धविच्छेदको मुद्दामा अन्य कारणले भन्दा बढी वैदेशिक रोजगार नै मूलकारण रहेको छ । वैदेशिक रोजगारले आर्थिक सम्पन्नता दिए पनि परिवार भन्ने संस्थालाई नै छिन्नभिन्न पार्ने सामाजिक विकृतिलाई बढावा दिइरहेको छ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *