Tuesday, December 11, 2018
Home > विचार/अन्तर्वार्ता > ‘राजेन्द्र महतो पनि सङ्घीय समाजवादीकै नेता हुन ’

‘राजेन्द्र महतो पनि सङ्घीय समाजवादीकै नेता हुन ’

Shailendra sah
शैलेन्द्रप्रसाद साह
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकहरुबीच मनमुटाव र मतभेद छ भन्ने कुरालाई सञ्चारमाध्यमहरुले उचालेका हुन्छन् । तर यो नितान्त गलत, भ्रामक र दुराशयपूर्ण बुझाइ हो । मधेशी मोर्चाका घटकहरु समान उद्देश्यप्राप्तिका लागि अत्यन्त सौहद्रपूर्ण ढंगले आन्दोलन गरिरहेका छन् । हामीले दलीय संकीर्णता र साँघुरोपनलाई अस्वीकृत गर्दै एक्यबद्ध भएर सडकमा छौं । सहभागिता, सहमति र सदभावकै कारण आज हामीले आन्दोलनलाई उचाइँमा पुर्याएका छौं । आन्दोलनको पक्षमा ठूलो जनमत बनेको छ । यस जनमतकै कारणले हामीले आन्दोलनलाई राष्ट्रिय आन्दोलनमा अनुदित भएको छ । मधेशको महासङ्ग्राम बृहत्त जनआन्दोलनमा परिणत भएको छ ।

 

हो, सद्भावना पार्टीले छुट्टै आन्दोलनको घोषणा गरेको छ । यसलाई अतिश्योक्ति र अनुचित ढंगले लिन हुँदैन । लोकतान्त्रिक मूल्य र मान्यताअनुसार विभिन्न पार्टीका आआफ्नै सोच, सिद्धान्त र त्यसअनुरुपका कार्यक्रम हुन्छन् । कुनै पनि पार्टीले गर्ने क्रियाकलाप उसको अधिकारको विषय हो । हाम्रो सङ्घीय समाजवादी फोरमले पनि केही दिनअघि छुट्टै कार्यक्रमको आयोजना गरेको थियो । सद्भावनाले पनि कार्यक्रम गरिरहेको छ । मलाई लाग्छ, सद्भावना पार्टीका कार्यक्रमहरुले पनि आन्दोलनलाई बल नै पुर्याउँछ । सदभावनाले घोषणा गरेको कार्यक्रममा मोर्चाको पनि समर्थन छ ।

 

सद्भावनाका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोजीलाई राज्यले षड्यन्त्रपूर्वक निर्घात कुटपीट गरेर गम्भीर घाइते बनायो । पार्टीका नेताहरु यस परिस्थितिमा उहाँको उपचार कार्यमा बढी केन्द्रित हुनुभएको छ । र, अध्यक्षलाई नै मरणासन्न हुने गरी घाइते बनाएको सरकारले माफी माग्नुपर्ने माग सदभावनाको छ । त्यसैले सदभावना पार्टीका प्रतिनिधिहरुको वार्ताहरुमा उपस्थिति नदेखिएको हो । वस्तुतः यस्तो प्रक्रियाबाट राज्यको क्रुरताप्रति असन्तुष्टि पनि प्रकट हुने हो । हाम्रो अध्यक्ष उपेन्द्र यादवले सार्वजनिकरुपमै सरकारको यस्तो कदमको निन्दा गर्नुभएको छ । अहिलेको समयमा हामीले बुझ्नुपर्ने कुरा के हो भने मधेश आन्दोलनमा रहेका वा मोर्चामा रहेका कुनै पनि दलका अध्यक्ष त्यस दलका कार्यकर्ताहरुका लागि मात्र नेता होइनन् । मधेशी मोर्चाका सबै नेताहरु हाम्रा नेता नेता हुन् । राजेन्द्र महतो पनि हाम्रो नेता हुनुहुन्छ । मधेशको माग पुरा भएपछि फेरि सबै दल अलगथलग भएर आफ्नो राजनीतिक अभियान सुचारु गर्ने अवश्यम्भावी छ । तर अहिले राजेन्द्रजीको घटनालाई लिएर मोर्चालाई जति सशक्त ढंगले प्रस्तुत हुनुपथ्र्यो त्यसमा चैँ कमजोरी भएको छ । यस विषयमा मोर्चामा थप छलफल हुनुपर्छ र हामीले गर्छौ पनि ।
हाम्रो राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र महतोले हिरो बन्ने प्रयास गरेको टिप्पणी गर्नुभएको कुरा आएको थियो । तर त्यो गलत कुरो हो । मधेश आन्दोलनलाई दिग्भ्रमि तगर्न र विफल तुल्याउन केही राष्ट्रिय भनिएका मिडियाहरु लागिपरेका छन् । यस्तो खालको भ्रमछराइँ तिनै मिडियाहरुले गरेका हुन् । अब भन्नै पर्दैन कि कसले र किन मधेशसँग विभेद गरिरहेका छन् । विभेद गर्नेहरुमा को को छन् । मधेश आन्दोलनलाई लिएर नकारात्मक दृष्टिकोण राख्नेहरु को को हुन् । त्यसैले मधेश आन्दोलनलाई कमजोर गर्नेहरु सधैँ अनावश्यक र नभएका हल्लाहरु फिजाइरहन्छन् । हामीलाई यसको पछि लाग्न हुँदैन ।
बास्तबमा अहिले हामीहरुले जनतालाई धन्यवाद दिनुपर्छ । वीर सहिदहरुप्रति श्रद्धा प्रकट गर्नुपर्छ । मधेश आन्दोलनलाई कमजोर पार्न राज्य र खस अहंकारवादी शासकबाट विभिन्न प्रकारका क्रियाकलाप तथा भ्रामक प्रचारबाजी भइरहेकोे हुँदा ती कुरामा नलाग्न पनि आग्रह गर्नुपर्र्छ । मधेशीहरुका हकहितका लागि मधेशी मोर्चाका कार्यक्रम प्रभावित नहुने गरी हुने जुनसुकै मधेशवादी दलका आन्दोलनका कार्यक्रममा पूर्ण सहयोग र समर्थन गर्न जनतालाई आग्रह पनि गर्नुपर्ने हुन्छ ।
(सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य साहसँग सञ्चारकका पूर्वक्षेत्र संयोजक सञ्जीवविक्रम शाहले गरेको प्रश्नोत्तरमा आधारित)

%d bloggers like this: