Friday, May 25, 2018
Home > विचार/अन्तर्वार्ता > प्रधानमन्त्रीज्यू, अब त उल्लीबिल्ली नपार्नुस !

प्रधानमन्त्रीज्यू, अब त उल्लीबिल्ली नपार्नुस !

Gaytri Mishra

गायत्री मिश्र
माघ महिनाको कठाङ्ग्रिदो जाडोमा ओसिलो धन्यवाद छ नयाँ आधीनेपालको नयाँ आधा प्रधानमन्त्रीज्यूलाई । आफ्नै देशका आधाआधीभन्दा बढी जनता गत ५ महिनादेखि आन्दोलित छन् तर उँहामा दिक्दारी छैन नत पछुतो । जय हो ! नेपालकै मधेश भन्ने भूभागका जनता ५ महिनाभन्दा बढी समयदेखि सडकमा छन् । लगभग ४ महिनादेखि सीमानाकामा अवरोध हँुदैआएको छ । तर उहाँलाई केही थाहा छैन । यी सबै भइरहँदा नत उहाँलाई चिन्ता छ नत लाजगाल नै ।
आफ्नो प्रशंसा गरेर आफै सन्तुष्ट हुने हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूको आनीबानी अचम्मको छ । रतन्धो पनि बाक्लै । मधेशमा आत्मोसर्ग गर्ने वीर योद्धाहरु कुनै बेला उहाँलाई झरेको आप पो लागेको थियो । त्यसैले मधेशमा बलिदानीको यात्रा निरन्तर हुँदा पनि मधेश आन्दोलनलाई सम्बोधन गर्ने हडबडी छैन उहाँमा ।
जनता ग्यासको अभावमा चुल्हो र हिटरमा खाना पकाइरहँदा अब घरघरमै ग्यासको पाइपलाइन पुर्याइदिने आश्वासन दिन थाल्नुभएको छ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू । हामी जनता पनि सन्तोकी, संयमित र विवेकी छौं । असलियत जेसुकै भए पनि अबको युगमा साँच्चिकै ग्यासको सिलिण्डर नबोक्ने ओली सपनामा रमाएका छौं । पाइपलाइनबाटै ग्यास चुल्होमा चुहिन थालेको आडभरोसामा आगो उपताइरहेका छौं । यति मात्र कहाँ हो र ? ग्यासको सास्तीले ओहोरीदोहोरी निम्त्याएको बेलामा उपत्यकाबासीलाई बिहान र बेलुका बिजुलीमै खाना पकाउन सुविधा दिइएको छ । तर बिचरा ग्यासको हाहाकारबाट अबुझ खाम्बोमा झण्डिएका ट्रान्सफरमरहरु भटाभट पड्किन पो थालेछन् । अनि हाम्रा वैज्ञानिक प्रधानमन्त्रीज्यूलाई बडो गजपको उपाय सुझेछ । हावाबाटै विजुली निकाल्ने । सित्तैमा पाइने हावा र सस्तै बिक्ने हावादारी गफ त ओलीज्यूको परिचय नै बनेको छ ।
दर्जावालाहरुको लीला पनि पार पाउन नसकिने हुन्छ । अझ उखानटुक्के ओलीज्यूको प्रदूषक र फोहोरी गफहरुले त जनतालाई खिन्न मात्र बनाउँदैन । उहाँको अपाहिज विवेक र शरीरमाथिको खाली भाँडोबाट उत्सर्जित दुर्वचन र दम्भी सपनाहरुले मर्नेगरी हाँस पो उठाउँछ । पीडामा परिहासको एउटा नयाँ महाकाव्य लेख्ने प्रधानमन्त्रीज्यूको जनतालाई सन्चोसुविस्ता दिने तरिकाहरुले इहलोकमै परलौकिक सुख पो भोगिने हो कि जस्तो प्रतीत हुन्छ । प्रधानमन्त्रीज्यूको फूर्तीफार्ती देखेर धेरैका मनमा डाह उब्जिदोँ हो । उहाँको इमानजमानमा प्रश्न उठाउनेहरुले पनि सोच्दो हो कि प्रधानमन्त्रीका कुराहरु गुड्डी हकाइँ हो कि गमदार गफ । आफ्नै पार्टीका नेताहरुले नै प्रधानमन्त्रीका उडन्ते कुराको गबाही नबन्ने भन्दै रिस ओकल्न थालेका छन् । हाँसखेल र ठट्टाले देश चलाउन सकिदैँन भन्ने बालबोध बल्ल भएको छ प्रधानमन्त्रीको पार्टीका नेताहरुमा ।
विद्वान र विदूषकमा धेरै फरक हुन्छ । तर अक्षरको निकटताले यी दुबै शब्दबीच तारतम्य पनि एकखालको । जब विद्वान सनकी, लहडी र गफाष्टक बन्छन्, उनी विदूषक कहलाउँछ । हाम्रो आधा नयाँनेपालका आधा नयाँ प्रधानमन्त्रीज्यू चैँ आफ्ना चटके कुराहरुले जसरी चकारी गरिरहनुभएको छ , यसले उहाँको उद्वेलित मनस्थितिलाई प्रष्ट पार्छ । हो पनि भूकम्प गएपछि त्रसित मनलाई नाचगानले सामान्य बनाउने प्रयास त देशमा भएकै हो । प्रधानमन्त्रीज्यू पनि आफ्नो रन्थनिएको मनोदशालाई मत्थर पार्न चुलबुल कुराहरु गरिरहनुभएको छ ।
केही दिनअघि मात्र निजामती सेवामा महिलाको सहभागितासम्बन्धी कायक्रममा प्रमुख अतिथि भएर पुग्नुभएका ओलीज्यूले महिलालाई पुरुषको तुलनामा इमानदार र सोझा देखाउन गाई र कुखुराको पोथीसँग तुलना गर्नुभयो । अनि प्रसिद्ध अमेरिकन समाजशास्त्री मोर्गनकै शैलीमा विश्लेषण गर्दै उहाँले कुखुराका भाले र पोथीको विशेषता केलाउँदै भालेहरु आपसमा भेट हुँदा बाझ्ने र गोरुहरु नजिक पर्दा जुधिहाल्ने उदाहरण दिनुभयो । उहाँले दुईओटा गाई भेट हुँदा कहिल्यै झगडा नगरेको बताउनुभयो । उहाँको भनाइ थियो –‘दुईओटा गोरु भेट भए भने जुध्छन् । जिन्दगीमा पहिलोपटक भेट भएको हुन्छ तर निहुँ खोजिहाल्छन् ।’ प्रधानमन्त्रीले यसो भनिरहँदा बिसर्नु भयो कि त्यो प्रसङका लागि उहाँ पनि आधिकारिक पुरुष पात्र हुनुहुन्छ ।
आत्मचेतले निर्देशित नहुने , आफैँमाथि शंका गर्ने र जनताका अत्यासलाई ख्यालठट्टाको विषय बनाउने ओलीजी विश्वका कुनै देशका सम्भवतः पहिलो प्रधानमन्त्री हुनुहुन्छ । यसो हामीले विक्रम सम्बत २०७२ मा हरेक क्षेत्र र काममा विश्वरेकर्ड बनाएका छौं । बैशाख १२ को प्रलयकारी भूकम्प, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक हजार एक सय ५५ किलोमिटरको मानव साँङलो वा मधेशी मोर्चाको ५ महिनाभन्दा बढी समयको आन्दोलन विश्वमा कीर्तिमान कायम गरेको छ । तर बोलीको किफायतमा जनताको गर्जो टार्ने ओलीशैलीले सकसको घाउलाई आलो बनाउँदै गरेको छ ।
कित्ताकाट गरेर मधेशी जनतालाई किस्तामा पनि अधिकार नदिने बरु प्रधानमन्त्रीको पगरी गुथेर उखानटुक्काबाट जनमानसमा भ्रम फैलाउने ओलीजीको कार्यकालमा अझ कति कीर्तिमानहरु बन्नेछन् । हेरौँ, कीर्तिमानको चिमोट्याइँ र चेपमा परेका हामी जनताका लागि ओलीजीको अर्को उवाच के आउँछ ?
(लेखिका मिश्र जनकपुरकी सक्रिय सञ्चारकर्मी हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: