Sunday, February 18, 2018
Home > समाचार > तमलोपा कार्यालय जलाउने प्रयास, व्यापक सुरक्षाकर्मी परिचालित

तमलोपा कार्यालय जलाउने प्रयास, व्यापक सुरक्षाकर्मी परिचालित

Gerau

सञ्चारक , ३० पुस  ।
राजधानीको बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालय जलाउन भनेर आएका उच्खृंल युवकहरुको एक समूहलाई प्रहरीले बल प्रयोग गरी तितरबितर गरेको छ ।
सीमानाकामा धर्ना दिएर मधेशकेन्द्रित दलहरुले अपराध गरेको तथा राष्ट्रलाई विखण्डन गर्न खोजेको भन्दै उनीहरुले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एउटा घटक तमलोपाको कार्यालयलाई जलाउन खोजेका हुन् । तमलोपा पुगेका ती युवकहरुको आबद्धताबारे ज्ञात हुन सकेको छैन ।
तमलोपाका कार्यालय सचिव प्रदीप पाठकका अनुसार १५–२० जनाको हुलमा आएका ती युवकहरुलाई पार्टी कार्यालय परिसरमा प्रवेश गर्नुअघि नै प्रहरीले बल प्रयोग गरेर धपाएको छ । ती युवकहरु तमलोपा कार्यालय पुगिरहँदा पार्टी कार्यालयमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्लालगायतका नेता तथा करिब दुई दर्जनभन्दा बढी कार्यकर्ताहरु रहेका थिए ।

ती युवकहरुले कार्यालयमा रहेका कार्यकर्ताहरुलाई लक्षित गर्दै गालीगलौज गरेको पाठकले बताए ।
सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरेर तमलोपा कार्यालय वरपर अहिले व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीहरुले तमलोपा कार्यालय पुग्ने बाटोलाई अबरुद्ध गरी आवतजावतमा रोक लगाएको छ ।
यसैबीच तमलोपा कार्यालयमा घेराव गर्नेहरु एमालेनिकट युवा संघका कार्यकर्ताहरु रहेको बताइएको छ । तर संघले भने सो कुराको पुष्टि गरेको छैन । यद्यपी संघनिकट एकजनाका अनुसार एमाले धनुषाको कार्यालयमा मोर्चाले घेराव गरेको प्रत्युत्तरमा आक्रोशित युवाले तमलोपा कार्यालय घेराव गर्ने प्रयास गरेको तर कार्यालय जलाउने योजना नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: