दाउरा बेचेर कितापकपीको जोहो गर्दै बालक

Balak in cycle
गोपाल बराल, बर्दिवास, ३० पुस ।
पढ्नकै लागि खर्चको जोहो गर्न विद्यार्थी आफैँले केसम्म गर्न सक्छन् ? महोत्तरीको वर्दिबास–१० माइस्थानका १२ वर्ष ननाघेका दुई बालकले पढ्ने खर्च जोहो गर्नकै लागि जङ्गलबाट दाउरा काट्ने काम रोजेका छन् ।
जङ्गलबाट काटेर ल्याएको दाउरा बेचेर आएको पैसाले कलमकपीको गर्जो टार्ने गरेको बताउने यी दुबै बालकको काम गराई टिठलाग्दो छ ।

माइस्थानकै कामीडाँडा माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्दै गरेका १२ वर्षीय शिव श्रेष्ठ र सोही विद्यालयमा कक्षा छमा अध्य्यनरत ११ वर्षीय अनिल मगरले पढाई खर्च जुटाउनका लागि दाउरा काट्ने र बेच्ने बाटो अपनाएका छन् । सामान्यतया विद्यालयमा चार घण्टी पढेर छुट्टी हुने शुक्रबारका दिन दाउरा काटेर ल्याउने र विदाको दिन शनिबार सो दाउरा वर्दिबासचोक पु¥याएर बेच्नु आफूहरुको नियमित तालिका रहेको दुबै बालकको भनाइ छ ।

वर्दिबासचोकमा एउटा साइकलमा ससाना दुई भारी दाउरा बेच्न ल्याउने गरेका उनीहरुले अहिले दाउराको माग बढेको बेला आठ सय रुपियाँ पाउने गरेको बताएका छन् । ‘‘बाबा बीरगञ्जनिर फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो, अहिले हड्ताल छ रे !’’ शिवले भने–, ‘‘त्यसैले कापीकलम किन्ने पैसा जुटाउन मैले दाउरा काटेको हुँ ।’’ कापीकलम किनेर उब्रेको पैसाले जाडो छल्ने स्वीटर किन्ने शिवको इच्छा छ । त्यस्तै शिवभन्दा एक वर्ष कान्छा अनिल पनि पढाई खर्च जुटाउन दाउरा काट्ने काममा लागेका छन् । कामीडाँडा माविमा कक्षा छमा पढ्दै गरेका अनिल भने शिवले दाउरा बेचेर नयाँ कलम र कपी किनेको थाहा पाएपछि उनका साथी बनेका रहेछन् । विद्यालयमा शिक्षकले लेख्न लगाउँदा कपी नभएको दिन भनाइ खेप्नु पर्ने र घरमा मागेको बेला पैसा नपाउँदा शिवसँगै दाउरा काट्न जाने र बेच्न वर्दिबास ल्याउने गरेको अनिलले बताए । आपूmहरुले पछिल्लो चार महिनायता बाबुआमासँग कपी, कलम र आफ्ना अन्य खर्चका लागि पैसा नमागेको दुबै बालकले एकसाथ बताएका छन् । ‘‘गएको दशैंमा त, मैले नयाँ लुगापनि आफ्नै दाउरा बेचेको पैसाले किने’’ अनिलले भने–, ‘‘मासुचैँ घरकै कुखुरा काटेर खाइयो ।’’

दाउरा काट्न जङ्गल पस्ने गरेका यी दुबै बालकले अपनाएको उद्यममा घरकै सानो बञ्चरो र थोत्रो साइकल सहारा बनेका छन् । एक ठाउँमै घर भएका र विद्यालय पनि एउटै रहेका दुबै बालकले दाउरा काट्दा भने भर्खरका साखुका लाथ्रा काट्ने गरेका छन् । सुकेको ठूलो रुख काट्न सा¥हो हुनाले सजिलै सानो बञ्चरोले काट्न सकिने लाथ्रो रोजाइमा पर्नेगरेको उनीहरुको भनाइ छ । साखुका काँचा लाथ्रा काट्दा वनरक्षक र प्रहरीले समात्न सक्छन् र यो कानूनीरुपमा अपराध भएको हेक्का नभएका यी दुबै बालक कानूनी कुरा थाहा पाएपछि एकछिन अक्कबक्क बने । केही बेरपछि सहज बनेका शिवले हड्ताल सकिएर बाबा काम गर्न गएपछि दाउरा नकाट्ने बताए । उनीहरु दुबैले हड्ताल चाँडै टुङ्ग्याउन र बाबाको काम गर्ने अवस्था बनाइ दिन आग्रह पनि गरे ।

यसैबीच उनीहरु अध्य्यनरत कामीडाँडा माविका प्रधानाध्यापक बुद्ध पोखरेलले भने दुबै बालकले कपीकलमकै जोहोका लागि दाउरा बेच्ने गरेको कुरा आफूलाई थाहा नभएको बताउनुभयो । विद्यालयका औसत विद्यार्थी रहेका दुबैलाई विद्यालयबाट कपीकलम र अन्य स्टेशनरी सहयोग गर्न सकिने प्रअ पोखरेलको भनाइ छ । आफूले वर्ग (कक्षा) शिक्षकबाट उनीहरुबारे थप जानकारी लिएर गर्न सकिने सहयोग तत्काल गर्ने प्रअ पोखरेलले बताउनुभयो । गरिबीका कारण पढ्न नपाएका मात्र नभई जोखिमपूर्ण काममा रहेका बालबालिकाको सङ्ख्या जिल्लाका गाउँबस्तीहरुमा निकै रहेको सामाजिक कार्यकर्ताहरु बताउँछन् ।

वर्दिबास नपाभित्रकै पनि शिव र अनिल अगाडि देखिएका प्रतिनिधिपात्र मात्र रहेका यस क्षेत्रकै सामाजिक कार्यकर्ताहरुको बुझाई छ । ‘‘यिनीहरु त कमसेकम असल उद्देश्यका लागि खराब काम (काँचो लाथ्रा काट्ने) गर्दा रहेछन्’’– दुबै बालक दाउरा बेचेकै ठाउँ आइपुग्नु भएकी वर्दिबास–१ की बासिन्दा तथा सामाजिक कार्यकर्ता प्रतिमा कोइरालाले भन्नुभयो–, ‘‘कति त घरको गरिबीले पेट पाल्न नै कठिन काममा जोतिएका र कति चैं पेट पाल्न नै बजार क्षेत्रमा ढाँटछल र चोरी गर्दा गर्दै पनि भेटिएका छन् ।’’ पढ्ने उमेरमा अन्य काममा लगाइएका बालबालिका, जोखिमपूर्ण काममा लगाइएका बालबालिका र सडक बालबालिकाहरु सबैको जिम्मेवारी राज्यले लिनुपर्ने सामाजिक कार्यकर्ताहरुको भनाइ छ ।

Share Button

Leave a Reply

Your email address will not be published. Required fields are marked *