Tuesday, December 11, 2018
Home > विचार/अन्तर्वार्ता > आन्दोलरत दलहरुबीच महागठबन्धन हुन्छ : महन्थ ठाकुर

आन्दोलरत दलहरुबीच महागठबन्धन हुन्छ : महन्थ ठाकुर

Mahabtha Thakur G

मधेश मु्द्दाबाट ढलपल नहुने स्थितिप्रज्ञ र दूरदर्शी राजनीतिज्ञ हुनुहुन्छ तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर । उहाँको भद्र, सरल र शान्त जीवनशैलीलाई नेपाली राजनीतिमा अनुकरणयोग्य पनि मानिन्छ । तर जारी मधेश आदोलनलाई सरकारले सम्बोधन गर्न ढिलो गरिरहँदा उहाँका अभिव्यक्तिहरुमा थामिनसक्नु आक्रोश परिलक्षित भइरहेको छ । सञ्चारकका लागि अनिलकुमार कर्णले गरेको कुराकानीमा सरकारी रवैयाको तिखो आलोचना गर्नुभएका ठाकुरले आन्दोलनरत दलहरुबीच महागठबन्धन सम्भव रहेकोमा जोड दिनुभयो । अत्यन्त शालिनतापूर्वक जिज्ञासाहरुको छोटो तर सुक्ष्म उत्तर दिनुभएका ठाकुरसँगको कुराकानी प्रस्तुत गरिएको छ ।

  • आन्दोलनरत दलहरुबीच महागठबन्धनको प्रयास जारी छ
  • विषयवस्तु ट्याकल नहुँदा सहमति नभएको हो
  • राजनीतिक संयन्त्रबाट सीमाङकनको ग्यारेन्टी छैन
  • मौसमको कठोरताले आन्दोलन सुस्ताएको छ
  • असन्तोष रहँदासम्म उथलपुथल हुन्छ
  • थारु  र मुस्लिमका एजेन्डा पनि मधेश नै हो
  • सरकारले आन्दोलनरत दलहरुलाई फुटाउन खोजेको छ

 

 

सरकार, प्रतिपक्ष र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यदलहरुबीच भइरहेको छलफल कुन चैँ मोडमा पुगेको छ ?

  • अहिले पनि निर्णायक मोडमा त आएको छैन किनकी वार्ता समय समयमा  भए पनि बिनानिष्कर्ष स्थगित हुँदैआएको छ । तर सम्बोधन गर्नुपर्ने विषयहरुमा केही दिन यता आएर कुराकानी भइरहेका छन् । पहिलाका कुराहरुमा सैद्धान्तिक कुराहरु मात्र आउथ्यो । तर अहिले संविधानमा जुन विवादका अन्तर्वस्तुहरु छन्, त्यसमा केन्द्रित भएर कुराकानी भइरहेका छन् ।

कतिको सकारात्मक र सार्थक ढङ्गले कुराकानी अघि बढिरहेको छ ?

  • होइन, सकारात्मक र नकारात्मकको कुरा छैन । त्यसलाई कसरी चैँ सम्बोधन गर्ने कुरा महत्वपूर्ण हो । सीमाङ्कनको कुरा छ । अहिले विद्येयक दर्ता भएर प्रारम्भिकचरणको छलफल पनि भइसकेको छ । संसदमा सैद्धान्तिक छलफल भएर त्यसमा संशोधन पनि परेको छ । अब कुन हदसम्म संशोधनले मधेशको मागलाई सम्बोधन गर्छ त्यसो अहिले भन्न सकिँदैन । किनकी यस विषयमा समितिमा छलफल सुरु भइसकेको छैन । यता पनि अहिले त्यस विषयमा सहमति भएको छैन ।

सहमति नहुने मूलभूत कारणहरु चैँ के छन् ?

  • कारणहरुका जहाँसम्म प्रश्न छ । शब्दका हेरफेर र विषयवस्तुलाई ट्याकल नगर्नु हो । यस विषयमा खिँचातानी भइरहेको छ । जस्तै निर्वाचन क्षेत्र निर्धारण जनसँख्याका आधारमा गर्ने एउटा कुरा छ अर्को जनसँख्या र भूगोलका आधारमा । संविधानसभाको निर्वाचनमा जनसँख्याको प्रतिशतका आधारमा मधेशले सीट पाएको थियो । अहिले पनि हाम्रो भनाइ त्यही छ । त्यसअनुसार नै हुनुपर्छ । समानुपातिक समावेशीको सन्दर्भमा पनि धेरै क्लस्टर बनाउनुको अर्थ छैन भनेका छौं । यी सबै कुराहरुलाई समावेश गर्नुपर्ने हो ।

भनेपछि अझ धेरै अभ्यास(गृहकार्य) गर्न बाँकी नै छन् ?

  • अ….हँ । त्यसमा चैँ एकमत भएर विधेयकलाई संशोधन गर्नुप¥यो । यस किसिमको संशोधन हुनुपर्छ भन्ने कुराको निक्र्योल भएको छैन । सुरुदेखि नै फरक फरक पक्षको आआफ्नै अडानहरु थिए । ती अडानबाट कोही पनि पछि हट्न तयार छैनन ।

यस्तोमा वार्ता तत्काल नै निष्कर्षमा पुग्ने स्थिति छैन । हैन र ?

  • जहाँसम्म सुनिश्चितताको प्रश्न छ । उत्कृष्ट संविधानमा संशोधन परिसक्यो हैन त (हाँसो) । तर संशोधनको अहिलेको प्रस्तावले हाम्रो माग र आवश्यकता पुरा भएन । भइरहेको छैन । त्यस संशोधन विधेयकमा पनि संशोधन हालिएको छ । संशोधन विधेयकले संविधानमा त्रुटी भयो भन्ने कुरालाई स्वीकार गरेको छ । तर सबै कुरा मिले र सबैले अधिकार पाए भन्ने देखिएन । त्रुटीलाई कसरी सुधार्ने भन्ने कुरा महत्वपूर्ण छ । अहिले विधेयकमा दुईओटा कुराहरु छन् । अरु पनि कुराहरु आउनुपर्छ । सीमाङ्कनसम्बन्धी विषयलाई पनि समावेश गरिनुपर्छ ।

संशोधन विधेयकमार्फत संविधानमा त्रुटी भएको कुरालाई सरकारले स्वीकार गर्नु तपाईंहरुको सफलता हो । हैन ?

  • हामीले पहिलेदेखि नै भनिरहेका छौं । सरकारले अहिले स्वीकार गरेको छ । त्यसअनुसार भएका त्रुटीहरुलाई हटाएर सम्बोधन गर्नुपर्छ ।

अध्यक्षज्यू, सीमाङ्कन तपाईहरुको बटमलाइन रहँदैआएको छ । पछिल्लोपटक सीमाङ्कनका लागि राजनीतिक संयन्त्र बनाउने र निश्चित अवधिभित्र छिनोफानो गर्ने कुरा भइरहेको छ नि ?

  • यसको ग्यारेन्टी भएन ।

ग्यारेन्टीको विधि के हुनुपर्छ ?

  • हैन, गरेन भने । तीन महिनाभित्र भएन भने के गर्ने ? त्यसपछि के हुने ?

भनेपछि तपाईंहरुका लागि निश्चित अवधि र राजनीतिक संयन्त्रको प्रस्ताव स्वीकार्य छैन ?

  • निश्चित अवधिको कुरा होइन । निश्चित अवधि त हुनैपर्छ तर त्यस अवधिमा मागहरुका अनुसारका प्रोभिन्सको कसरी डिमार्केसन गर्ने । विवादित जिल्लाहरु छन्, त्यस विषयमा के छ ? जुन दुईओटा प्रोभिन्सको कुरा उठेको थियो । राज्यपुनर्संरचना आयोगको जुन प्रतिवेदन आएको थियो । हामीले जुन आधारहरु बताएका छौं, त्यस आधारमा सीमाङ्कन हुनुपर्छ । र, त्यतिको मात्रै गर्ने हो कि वा पहाडमा पहिचानका आधारमा माग भएको छ । ती सबै राज्यका लागि पुनरावलोकन नै गर्ने हो कि ? सत्ता पक्षले भन्छ कि यसो गर्दा अर्को पक्षले पनि आवाज उठाउँछ । त्यसैले यी सबै कुराहरु प्रष्ट हुनुपर्छ । सीमाङ्नका आधारहरु तय हुनुपर्छ ।

केही दिनयताका वार्ताहरुबाट सीमाङ्कनका आधार तय होला जस्तो देखिएन । कतै तपाईंहरुलाई वार्ताबाट फिर्ता(ब्याक) हुने अवस्था त सिर्जना हुँदैन ?

  • वार्ताबाट ब्याक वा फोरवार्ड हुने कुरा नै भएन । हामीले वार्तालाई कहिल्यै पनि अस्वीकार गरेका छैनौं । लोकतन्त्रमा विश्वास गर्नेहरु सम्वादबाट कहिल्यै पछि हट्दैन । हामीले सुरुबाट नै सम्वादबाटै समस्या समाधान गर्ने पक्षमा छौं । जब संवाद समिति, मस्यौदा समिति र संविधानसभाबाट सम्वादका माध्यमले हाम्रा माग सम्बोधन भएन अनि मात्र हामी सडकमा आयौं ।

तपाईंहरुले सीमाङकनका लागि जुन कार्यविधि प्रस्तुत गर्नु भएको छ । त्यसमा सरकार र मुख्यप्रतिपक्षी सहमत हुन सकेका छैनन् । तपाईंहरुको बटमलाइन नै सीमाङ्न हो । त्यसो भए अब के होला ?

  • के होला ?(जोड दिँदै) । जे होला त्यो त भइ नै राख्या छ नि ।

त्यसो भए आन्दोलनको विकल्प अझ पनि छैन ?

  • जनताका माग र आकांक्षाहरु पुरा नहुँदासम्म असन्तोष रहिरहन्छ । असन्तोष रहँदासम्म उथलपुथल भइरहन्छ । आन्दोलन भइरहेको हुन्छ ।

तपाईंहरुले मधेशमा दुईओटासम्म प्रदेश हुनुपर्ने बताउँदै आउनुभएको छ । तर सत्तारुढ दल मधेशी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार र अन्य दलका नेताहरुले कुनै पनि हालतमा दुई प्रदेश मात्र नहुने कुरा गरेका छन् नि ?

  • उनीहरुले त मधेशमा सङ्घीय व्यवस्थाको आवश्यकता छैन पनि भनिरहेका छन् तर सङघ त बनिसक्यो नि ।

भनेपछि मधेशमा दुईओटाभन्दा बढी प्रदेश हुनुपर्ने उनीहरुका धारणाको कुनै अर्थ छैन ?

  • छैन । सङ्घ चाहिँ जनताका आकांक्षाअनुसार आउनु पर्छ । यो जनताको आकांक्षा हो । कुनै प्रशासनिक सुविधाका लागि सङ्घको माग भएको होइन । प्रशासनिक सुविधाका लागि जहिले पनि अन्तरिक सीमामा परिवर्तन भइ नै रहन्छ ।

जनताका आकांक्षालाई संयुक्त लोकतान्त्रि मधेशी मोर्चाले नै प्रतिनिधित्व गर्छ भन्ने कुराको ग्यारेन्टी के छ ?

  • यसको विश्वास गर्ने आधार आन्दोलन हो । तपाई पनि सरकारजस्तै भन्दिनुस न कि त्यो आन्दोलन होइन । एकै दिनमा बीसौं लाख मानिस चाहिँ सडकमा खडा भएर बिहानदेखि बेलुकासम्म दिनभरि  आफ्ना असन्तुष्टि जाहेर गर्छन् । उनीहरुलाई किन सडकमा खडा हुनुपथ्र्यो ?

बिस्तारै तपाईंहरुको आन्दोलन मत्थर हुँदै गएको भनिन्छ नि ?

  • हरेक चीजको एउटा मोमेन्टम हुन्छ । कहिले इमर्ज गर्छ कहिले उसको उत्थान हुन्छ । फेरि डिक्लाइन गर्छ । अहिले देशमा जुन वातावरण छ । मौसममा जुन कठोरता आएको छ । जाडो छ, घाम कम लागिरहेको छ । खेतीपातीको समय छ । आन्दोलनमा भाग लिने त किसानहरु नै हुन् नि । यी सबै कुराले यस्तो महसूश हुन गएको छ । तर अहिले पनि आन्दोलनकारीहरु राति राति जागि नै राख्या छन् । धर्नामा बसि नै राख्या छन् । अहिले पनि मधेशमा विरोध प्रदर्शन भइ नै रहेका छन् ।

कतिको लम्बिन्छ आन्दोलन ?

  • जबसम्म अन्याय, अत्याचार र विभेद रोकिँदैन । तबसम्म उसको विरोध भइरहन्छ ।

विरोध गर्ने अहिलेको आन्दोलनात्मक शैलीमा परिवर्तनको आवश्यकता छ कि छैन । जनताले पीडा र सास्ती भोगेका छन् नि ?

  • हामी निहत्था छौं । उनीहरु(सरकार) लाठी लिएर आउँछन्, कुट्छन् र जेलमा हालिदिन्छन् । गोलीले मार्दिन्छन् । यत्रो अन्याय र अत्याचार भइरहेको छ । अनि तपाई प्रश्न गर्नुहुन्छ कहिले समाप्त हुन्छ तपाईंको आन्दोलन भनेर । हामी चैँ हात खुट्टा बाँधेर बस्ने । बोल्न पनि नपाउने । जब जब अत्याचार हुन्छ , हामी विरोध गरिरहन्छौं । अहिले पनि विरोध गरिरहेका छौं ।

तर आन्दोलनबाट सिर्जित पीडा मधेशी जनतालाई पनि खप्नु परिरहेको छ नि ?

  • आन्दोलनमा चाहिँ दुःख र सुख हुँदैन । को मर्न चाहन्छन् ? जबकी सबैलाई थाहा छ, जन्मपछि मृत्यु हुन्छ । को कोही मर्न चाहँदैनन् ।

अध्यक्षज्यू, भनिन्छ छिटोभन्दा छिटो सहमतिमा पुग्न भारतले तपाईंहरुलाई दबाव दिएको छ ?

  • खोइ । त्यो त हामीलाई थाहा भएन ।

साँच्चिकै थाहा नभएकै हो ?

  • हामीलाई केही थाहा छैन । त्यस्तो कुरा भएको छैन । अब नाम लगाउनलाई त जसले पनि लगाउछन् । यस्तो भयो, उस्तो भयो । भारतीयले गराइरहेका छन् पनि भन्दिन्छन् ।

मोर्चाकै एउटा घटक सदभावना अध्यक्ष राजेन्द्र महतोले भारतीय गृहमन्त्री राजनाथ सिँहले सीमानाकामा भइरहेको अवरोध खोल्न आग्रह गर्नुभएको बताउनुभएको छ ?

  • अखबारमा त्यसो आएको होला । उहाँसँग भारतीय गृहमन्त्रीको के कुरा भएको हो भन्ने जानकारी मसँग आएको छैन । राजेन्द्रजीले पनि मलाई केही भन्नुभएको छैन कि उहाँसँग भारतीय गृहमन्त्रीको त्यस किसिमको कुरो भएको छ भनेर ।

अध्यक्षज्यू, तपाईंले धेरैपटक मधेश एउटा राष्ट्र हो भनेर कुरा गर्नुभएको छ । यसलाई सरल ढंगले कसरी बुझ्न सकिन्छ ?

  • राष्ट्र, राज्य र देशलाई मानिसहरुले एउटै किसिमले हेर्ने गरेका छन् । एउटा देशमा एउटा राज्यमा अनेक राष्ट्रका मानिस बस्न सक्छन् । र, एउटै राष्ट्रको अनेक देश र अनेक राज्य पनि हुनसक्छन् । जस्तै अरब राष्ट्र भन्छन् । अब अरब राष्ट्रमा कति देश छन् भन्नुस त । एउटै देश त छैन । तर ती सबै देशहरुले अरब सँस्कृति, अरब राष्ट्रिता भन्छन् नि ।

भनेपछि मधेश एउटा सिङ्गो देश हो ?

  • राष्ट्रको परिभाषा छ । कुनै समुदाय निरन्तर एक ठाउँमा बसिरहेको छ । उसको भाषा, सँस्कृति र इतिहास छ भने त्यो एउटा राष्ट्र हो । त्यसमा सँस्कृति हुनुप¥यो, त्यसको इतिहास हुनुप¥यो, त्यसको भाषा हुनुप¥यो । जो तमाम जीवनपद्धति र जीवनशैली हुन्छ । त्यो समान हुन्छ । त्यसलाई चाहिँ एउटा राष्ट्र भन्छ । तर एउटा भूमि जहिले पनि अर्को भूमिसँग जोडिएको हुन्छ । हामी एथनिक नेशनालिटी किन भन्छौं । जनजातिलाई एथनिक नेशनालिटी त भन्छौं नि ।

यस्तो खालको राष्ट्रको आफ्नै सार्वभौमसत्ता हुनुपर्छ । होइन र ?

  • फेरि तपाई सुन्नुभएन । मैले के भने कि एउटा देशमा विभिन्न राष्ट्रका मानिस बस्न सक्छन्  । देश उसको एउटै होला । त्यसमा विभिन्न राष्ट्रका मानिसहरु हुन्छन् । विभिन्न भाषभाषी, विभिन्न सँस्कृति, विभिन्न जातजाति र विभिन्न धर्मका मानिसहरु बसिरहेका छन् कि छैनन नेपालमा एउटै धर्मका मानिस बस्छन् र ?

विविधता त छ नै ?

  • विविध राष्ट्रको देश हो त कुन र कहाँको तारा झरिहाल्यो । के भयो ? नोक्सान त तब हुन्छ जब त्यो विविधतालाई स्वीकार गरिँदैन र त्यसको आधारमा शोषण गरियो । भदेभाव गरियो तब न समस्या उत्पन्न हुन्छ ।

यस्तोमा मधेशले छुट्टै सार्वभौमसत्ताको माग गर्नसक्छ ?

  • त्यो त भविष्यले बताउँछ नि । अहिले नै कसरी बताउने ।

तपाईंले धेरैपटक भन्नुभएको छ कि अन्याय रहिरह्यो भने मधेश छुट्टै धारमा जानसक्छ । यस्तो सम्भावना छ ?

  • सम्भावना जुनसुकै चीजको हुन्छ । दूर्घटनाको पनि सम्भावना हुन्छ । तर दूर्घटनाको सम्भावना भए पनि मान्छेले गाडी चलाउँछन् नै ।

सरकारले मुस्लिम गठबन्धन र थारु सङ्घर्ष समितिसँग छुट्टै वार्ता गरिरहेको छ । भनिन्छ छ यसबाट तपार्इंहरुको मनमा चिसो पसेको छ ?

  • तपाईंहरुले जहिले पनि हरेक चीजलाई नकारात्मक ढंगले हेर्नुहुन्छ । त्यस कारणले नै हाम्रो समस्या समाधान हुनमा ढिलो हुन्छ । सबैका समस्या त्यहीँ नै हुन्, एजेन्डा पनि समान । मधेश नै एजेन्डा हो । अब उसले तराई भनिरहेको छ , थरुहट भनिरहेको छ । के भयो त ? नाउँ त परिवर्तन भइरहन्छ नि । हामी दुनियाँमै देखिरहेका हुन्छौं कहिले कुनै सडकको नाउँ के हुन्छ र पछि के भइहाल्छ । कुनै सडकको नाउँ महेन्द्र राजमार्ग राखिदियो, कहीँ त्रिभुवन नगर नामाकरण गरियो । भोलि चाहिँ ती नाउँका सट्टा अर्को नाउँ पनि आइहाल्छ । थारु र मुस्लिमहरु आन्दोलनमा छन् कि छैन त्यो भन्नुस । यतातिर तपाईंहरुको सोच जाँदैन । हामीले साथसाथ आन्दोलन गरिरहेका छौं । साथसाथ गोली खाएका छौं । साथसाथ मरेका छौं । यो कुरा चाहिँ किन आउदैन ।

मधेशमा आन्दोलनरत दलहरुको एउटा सङ्घीय समावेशी गठबन्धन छ । तर तपाईंहरुले उससँग सहकार्य गर्न सक्नुभएको छैन ?

  • वार्ताको सन्दर्भ हो भने  सरकारले हामीलाई एक ठाउँमा बोलाइरहेको छैन । हामीबीच गठबन्धन छैन तर सहकार्य छ । यस अर्थमा गठबन्धनमा पनि हामी छौं । उहाँहरुका कार्यक्रम अलग छ, हाम्रो अलग । तर कहिलेकाँही हामी संयुक्तरुपमा कार्यक्रम गरिरहेका छौं । सरकारले हामीलाई फुटाउनका लागि एक ठाउँमा नबोलाउने काम गरेको हो ।

मोर्चाले आफूहरुलाई समेटेर अघि बढ्न नचाहेको गठबन्धनको गुनासोलाई चैँ के भन्नुहुन्छ ?

  • उहाँहरु बैठकमा आउनुहुन्छ । कार्यक्रम पनि संयुक्रुपमा गरिरहेका छौं । सहकार्य छैन भने किन उहाँहरु बैठकमा आउनुहुन्छ र संयुक्त कार्यक्रममा सहभागी बन्नुहुन्छ ?

भनेपछि अनौपचारिकरुपमा गठबन्धनलाई सोधखोज गरिरहनुभएको छ ?

  • तपाई सरकारका प्रवक्ता भएर आएको हो कि के भएर आएको ? त्यो भन्नुस त …….

आन्दोलनमा भएका मधेशकेन्द्रित दलहरुका साझा कार्यक्रम बन्न सक्दैन ?

  • समस्या र एजेन्डा एक किसिमको भएपछि अलग अलग बोलाएर सरकारले फुट गराउन खोजेको छ । हामी आन्दोलनमा पनि साथमै छौं । राज्यले पहाड र मधेशलाई अलग अलग रुपमा हेरिरहेको छ । विभिन्न जातजातिका आधारमा हेरिरहेको छ । राज्यले नीतिगतरुपमै र ऐतिहासिकरुपमै भेदभाव गर्दैआएको छ । यो राज्यको बदमासी हो ।

आन्दोलनमा भएका दलहरुबीच महागठबन्धन सम्भव छ ?

  • छ, यसको प्रयास भइरहेको छ ।
%d bloggers like this: