Sunday, June 24, 2018
Home > समाचार > पानी बारेका ओलीले महतोलाई फोन किन गरे ?

पानी बारेका ओलीले महतोलाई फोन किन गरे ?

Oli
सञ्चारक डेस्क
कठमाडौं, पुस २८ ।
प्रधानमन्त्री केपी ओली सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच एक वर्षपछि बोलचाल भएको छ । प्रधानमन्त्री ओलीले सोमबार नयाँ दिल्लीमा रहनुभएका सदभावना अध्यक्ष ओलीलाई टेलिफोन गरी छिट्टै काठमाडौं फर्कन आग्रह गरेपछि ओली–महतोबीच लामो समयको अन्तरालपछि द्विपक्षीय बातचीत भएको हो ।
एक वर्षअघि सुशिल कोइराला प्रधानमन्त्री हुँदा उनको सरकारी निवास वालुवाटारमा राज्य पुनर्संरचनाको सबैभन्दा बढी विवादित मधेशका पाँच जिल्लाबारे छलफल भइरहेको बेला ओली र महतोबीच चर्काचर्की भएपछि दुबैजनाका बीच बोलचाल बन्द रहँदै आएको थियो । एकीकृत नेकपा माओवादीसमेतको तीस दलीय गठबन्धनमा रहेको सदभावनाका अध्यक्ष महतोले मधेशमा बन्ने प्रदेशमा झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई राख्नुपर्ने बताएपछि रन्थनिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले समथर भूमि मधेशमै राख्ने हो भने भारतको बिहार र यूपीलाई पनि मधेश प्रदेशमा ल्याउने भनेर प्रश्न गरेपछि सत्तारुढ दल र तीस दलीय मोर्चाबीचको सो वार्ता नै भाँडिएको थियो ।
ओलीको अभिव्यक्तिलाई गैरजिम्मेवार, अपरिपक्व र नश्लवादी चिन्तनको परिणाम भन्दै सदभावना पार्टीले कुनै पनि वार्तामा ओलीसँग पार्टी अध्यक्षले कुराकानी नगर्ने जनाएको थियो । सदभावनाको सो निर्णयपछि अध्यक्ष महतो र ओलीबीचको संवाद अवरुद्ध भएको थियो ।
प्रधानमन्त्री भइसकेपछि पनि सदभावना अध्यक्ष महतोलाई लिएर ओलीका अभिव्यक्ति तथा व्यवहार निकै अक्रामक रहँदैआएको छ । सदभावना पार्टीले प्रधानमन्त्रीको निर्वाचनमा ओलीविरुद्ध काँग्रेसका उम्मेदवार सुशिल कोइरालालाई मतदान गरेको थियो ।
तर सोमबार अपरान्ह अचानक प्रधानमन्त्रीले महतोलाई फोन गरी वार्ताबाट समस्या समाधान गर्न महतोको खाँचो रहेको भन्दै उनलाई काठमाडौं आउन आग्रह गरेपछि राजनीतिक बृत्तमा हलचल ल्याएको थियो । आफ्ना उखानटुक्का र विषालु अभिव्यक्तिहरुबाट मधेशीको मानमर्दन गर्न माहिर मानिएका प्रधानमन्त्री ओली र त्यसको प्रत्युत्तरमा चर्का र तीखा अभिव्यक्ति दिएर चर्चा बुटेलेका सदभावना अध्यक्ष महतोलाई नेपालको मौजूदा राजनीतिमा अतिवादीका रुपमा परिभाषित गरिँदैआएको छ । उनीहरुबीचको संवाद सामान्य र सहज परिस्थितिमा नभएको जानकारहरु बताउँछन् । ‘महतो भन्नेबित्तिकै रिसले तातोपिरो हने ओलीले आफैँले उनलाई फोन गरेर काठमाडौं आउन आग्रह गर्नु भनेको सजिलै पचाउन सकिने घटना होइन । यसको पछाडि धेरै अन्तर्निहित कारणहरु हुनसक्छन्’–एकजना राजनीतिक विश्लेषकको भनाइ छ ।
भारत भ्रमणको पर्खाइँ र पूर्वतयारीमा रहेका प्रधानमन्त्री ओलीलाई नयाँ दिल्लीमा मधेश आन्दोलन र सरकारबारे भारतीय नेताहरुसँग परामर्श गरिरहेका महतोको दिल्ली उपस्थितिले कठिन भएको हुँदा फोनवार्ताको तारतम्य मिलाइएको बताइन्छ । मधेश आन्दोलनप्रति अक्रामक र रुखो दृष्टिकोण राख्ने तथा भारतलक्षित कटु अभिव्यक्ति दिने प्रधानमन्त्रीको आसन्न भारत भ्रमण दिल्लीमा महतोको उपस्थितिले फलदायक हुन सक्ने अनुमानपछि उनलाई फकाएर काठमाडौं बोलाउने रणनीतिक योजनाअन्तर्गत पानी बाराबार भएको बेला प्रधानमन्त्रीबाट फोन गर्न लगाइएको जानकारहरुको भनाइ छ ।
प्रधानमन्त्री ओली एउटा सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जानु पूर्व भारत जाने पुष्टि नेपाली अधिकारीहरुले गरिसकेका छन् ।

महतो दिल्लीमै रहँदा भारतीय पक्षसँग ओलीको भ्रमण अन्य विषयभन्दा मधेश आन्दोलन केन्द्रित हुने र त्यहाँ प्रधानमन्त्रीलाई सार्वजनिकरुपमै नेपाली मधेशी लगायत भारतीयहरुले विरोध गर्ने विश्लेषण पनि सरकारी पक्षको छ । त्यस किसिमको विरोधले मधेश आन्दोलनको पक्षमा नयाँ दिल्लीमा मधेश आन्दोलनको थप जनमत बन्ने र मधेश मुद्दाको अझ व्यापकरुपमा अन्तर्राट्रियकरण हुने ठम्याइँले नै महतोलाई नेपाल बोलाउने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
स्वास्थ्योपचारको क्रममा रहेका महतो बिहीबार फलोअप चेकपछि मात्र नेपाल फर्किने वा नफर्किने बारेमा निर्णय लिने कुरा पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले बताए । उनले चिकित्सकहरुको सल्लाहपछि मात्र अध्यक्ष महतोको देश फिर्ता हुने कार्यक्रम तय हुने जानकारी दिए । केही दिनअघि विराटनगर नाकामा नेपाली सुरक्षाकर्मीको सांघातिक आक्रमणमा परी घाइते भएका महतो उपचारका लागि दिल्ली पुग्नुभएको थियो ।
अध्यक्ष महतो नेपाल फकिँदा सीधा वीरगञ्ज आउनुहुने र आन्दोलनमा सहभागी हुने पार्टीका महासचिव मनीष सुमनले बताए । मधेश आन्दोलन निष्कर्षमा पुग्ने सुनिश्चित नहुँदासम्म अध्यक्ष महतोले काठमाडौं नआउने बताउँदै आएका छन् । ‘सीमाङ्कनसहित प्याकेजमै सहमति हुने भएपछि अन्तिम समयमा मात्र अध्यक्षज्यू काठमाडौं आउने वातावरण बन्नसक्छ’–पार्टीका केन्द्रीय सदस्य उपेन्द्रले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: