जब मुसहर बस्तीमा  धुर्मुस र सुन्तली पसे

Suntali-dhurmus11
राजकरण महतो/ वर्दिबास, महोत्तरी ।
महोत्तरीको वर्दिबास नगरपालिका २ को एउटा मुहल्लामा ३५ वर्षीय रामपृत सदा मुसहरले जोडेको झिनो र होचो झुपडी छ । जहाँ उनका परिवारका छजना सदस्यहरुले घाम अस्ताएपछि घाम नझुल्कुन्जेलसम्म ओत लाग्छन् । पुस माघको थुरथुर काम्ने जाडोमा सदा परिवार महिनौदेखि राति पल्टन सकेको छैन् । भुइँमा पराले ओछ्यान छ तर त्यसमाथि बिछ्याउने र ओढ्ने शरीरलाई ठिक्क तातो हुने सिरकडसना छैनन् ।
घासपात र दाउरा गरेर जेनतेन दुईछाक टार्ने सदा परिवारसँग न्यानो लुगा किन्ने बुता छैन । जङ्गलबाट ल्याउने दाउराको भारी बिसाएर नजिकको बजारमा बेच्ने रामप्रीतसँग राति सुत्ने बन्दोबस्तबाहेक पुरुखाहरुले जोड्ेको घडेरी वा खेतबारी पनि छैन । जङ्लबाट दाउरा ओसार्न नपाएको दिन उनका लालाबालाहरु बिलखबन्दमा पर्ने स्थिति मामुली भइसकेको छ । बनिबूतो गरेर केही रकम जोहो गरेको दिन चुल्हो बल्ने नभए भोकसँग पौठेजोरी खेल्ने रामप्रीत सदाको परिवारजस्ता अन्य घरपरिवार तराई मधेशको लोपोन्मुख मुसहर सुमुदायमा असरल्ल छन् ।
वर्दिबास–२ मुसहर बस्तीमा करिब ६० घरधुरीका चार सय २० जना मुसहरहरु कठाङ्ग्रिदो जाडोमा रातभरि जागा रहेर शीतकाललाई पन्छाउनु परेको छ । जातिभेदले गहिरो जरो गाडेको स्थानीय समाजमा मुसहरहरुको दूर्दशाप्रति कसैको चिन्ताफिकीर छैन । उनीहरुमा पनि आफ्नो दुःखदायक स्थितिका बारेमा हारगुहार गर्ने आँट नै छ । चिसोसिरेटोले जिन्दगीलाई नै बेरुवा नै बनाएको छ ।
मुसहरहरुको यस्तै कारुणिक जीवनलाई नजिकबाट नियाल्न केही दिनअघि नेपालका हाँस्य कालाकार धुर्मुश र सुन्तली पुगेका थिए यस मुसहर बस्तीमा । मुसहरहरुको घरघरमा पसेर उनीहरुको गुजारालाई हेरेपछि धुर्मुश र सुन्तली द्रवीभूत भए । कालाकारद्वयले मुसहर समुदायका मानिसहरुसँग उनीहरुको जीवनचर्याबारे करिब दुई घण्टासम्म भलाकुसारी गरे । मुसहरका बालबालिकाहरुको अवस्था हेर्दा निकै भावुक र चिन्तित बनेका हास्यकालकारहरुले टोलमा भेलाजम्मा भएका हास्यरसका पारखीहरुसँग बात मार्न सकेनन् । बरु बोझिलो मनले फर्के मुसहर बस्तीबाट । बरु फर्कने बेलामा धुर्मुश र सुन्तलीले यस बस्तीको एकीकृत विकासका लागि आफुहरु पनि लाग्ने बताए । साथै यस मुसहर बस्तीको विकासका लागि सबैलाई सहयोग गर्न आग्रह गरे ।

suntali-dhurmus12
यस बस्तीको छेउमै जनता माध्यमिक विद्यालय छ । तर सय मिटरनजिकको यस विद्यालयमा मुसहर बस्तीका अधिकांश बालबालिकाहरु पढ्न जाँदैनन् । विद्यालय जाने उमेरका झण्डै १२० जना बालबालिका भए पनि मुश्किलले पाँच सातजना बालबालिाहरुको साइनो विद्यालयसँग जोडिएको छ । सिङ्गो मुसहर बस्तीमा १८ वर्षीय किशोर मञ्जय सदा मात्रै लेखपढ गर्न जानेका छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिककै जनता उच्च माविमा कक्षा ११ मा वाणिज्य संकायमा पढदै्छन् । मञ्जयकै देखासिकी गरेर बस्तीका पाँच–सातजना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर अहिले कसैले कखरा सिक्न सकेका छैनन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको वर्दिबास चोकभन्दा दुई किलोमिटर दक्षिणमा रहेको यो मुसहर बस्तीमा करिब चार सय २० जना मुसहरहरुको बसोबास छ । जसमा महिला २१५, पुरुष २०५ र १ देखि १५ वर्षका १५० जना बालबालिकाहरु छन् । पुरुषको तलनामा महिलाको सँख्या बढी छ । स्थानीयबासीहरुका अनुसार यस मुहल्लाका मुसहरहरु वर्दिबासका रैथाने हुन् । तीन दशकअघि जङ्गल फडानी भएर बस्तीको विकास गर्न यिनै मुसहरका बाबुबराजेहरुले झाडी फाडेका थिए । तर उनीहरुका भागमा भने एकाध धुर जग्गाभन्दा बढी पनि परेन । अधिकांश मुसहरहरु यस ठाउँको ऐलानीपर्ती जग्गामा झुप्डी ठड्याएका छन् ।
यस बस्तीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायले शैक्षिक जागरण ल्याउन धेरै अभियानहरू चलाए । तर अभियानहरुले निरन्तरता पाउन सकेनन् । जसले गर्दा मुसहरहरुको गरिबी, अशिक्षा र चेतनहीनतामा कमी आउन सकेन । अर्काकोमा बनिबुतो र जंगलबाट दाउरा ल्याएर बिक्री गरेर हातमुख जोर्ने कामले धानिएको यस बस्तीका धेरै अभिभावकका ४ देखि ५ जना बालबालिका छन् । छजना छोराछोरी भए पनि कसैलाई पढ्न नपठाएको बताउँछन् सबत सदा । विद्यालय जाने उमेरका तीन छोरा र तीन छोरी भए पनि उनीहरुमध्ये कसैलाई सबतले विद्यालयमा भर्ना गरेका छैनन् । ‘घरमा खाने छैन, केले पढाउनु । हामीले त पढेनौँ, अब छोराछोरीलाई किन पढाउनु प¥यो ?’ सबतले प्रश्न गरे । बालबालिकाले पनि आफूलाई ज्यालामजदुरी गर्न सघाउने गरेको उनको भनाइ छ ।
गर्भनिरोध गर्ने साधनका बारेमा जानकारी नहुँदा धेरै बच्चा जन्मिने र ती बच्चाहरुका बीचमा जन्मान्तर नहुने पिरलो भोगिरहेको यस बस्तीमा व्यक्तिगत र सामुदायिक सरसफाइ तथा आधारभूत स्वास्थ्यको हेरचार गर्ने ज्ञान पनि छैन । सरकारी अस्पतालमा निशुल्क औषधिमूलो हुनेगरेको थाहा नहुँदा बिरामी पर्दा पनि उनीहरु अस्पतालसम्म जाँदैनन् । उनीहरुमध्येका रामप्रीतको भने गुनासो छ–‘अस्पतालको टिकट काट्नै पैसा हुँदैन, त्यसैले हामी त्यहाँ जाँदैनौं ।’ रामप्रीत सदाका पनि दुई छोरा र दुई छोरीसहित चारजना सन्तान छन् । तर अरु मुसहर उनले पनि आफ्ना बालबालिकाहरुको जन्म दर्ता गराएका छैनन् । यस बस्तीमा बालविवाहको समस्या पनि विकराल छ । खानेपानी र शौचालयको उचित प्रबन्ध नरहेको यस बस्तीमा आधारभूत सुविधा पुर्याउन भनेर काम गरेका गैरसरकारी संस्थाहरुको कार्य भने प्रभावकारी देखिएको छैन ।
मुसहर बस्तीका यी समस्याहरुलाई बुझेपछि धुर्मुश र सुन्तली नजिकको जनता विद्यालयमै पुगेर सहायक प्रधानाध्यापक दिलिप तिवारीलाई भेटेका थिए । भेटमा सहायक प्रधानाध्यापक तिवारीले मुसहर समुदायका बालबालिकाहरुलाई लक्षित गरेर वर्षेनी भर्ना अभियान चलाइए पनि मञ्जयबाहेक अरुलाई विद्यालयको दैलोमा ल्याउन नसकिएको दुखेसो पोखे । ‘दलित विद्यार्थीका लागि सरकारले छात्रबृत्ति दिन्छ तर पनि त्यस बस्तीका बच्चाहरु पढ्न आउँदैनन । हामीले नै कति कर गर्नु’ – सहायक प्रधानाध्यापक तिवारीले भने ।
धुर्मुश र सुन्तलीले भने मुसहर बस्तीका बालबालिकाहरुलाई पढ्ने वातावरण बनाउने जिम्मेवारी विद्यालयको भएको र उनीहरुलाई विद्यालयसम्म ल्याउन पहल गर्न सुझाउँदै फर्किएका थिए ।

Share Button

One thought on “जब मुसहर बस्तीमा  धुर्मुस र सुन्तली पसे

Leave a Reply

Your email address will not be published. Required fields are marked *