Wednesday, February 21, 2018
Home > कृषि/वन/वातावरण > जहाँ जिन्दगीलाई सुर्तीले बनायो सहज

जहाँ जिन्दगीलाई सुर्तीले बनायो सहज

Tobacco2

गोपाल बराल/महोत्तरी, २६ पुस ।
महोत्तरी जिल्लाको मध्यक्षेत्रका किसानले सुर्ती खेतीबाट जीवनस्तर उकासेका छन् । केही वर्षपहिलेसम्म हातमुख जोर्ने समस्या व्यहोर्दै आएका जिल्लाको सो क्षेत्रका बनौटा, धमौरा र पडौल गाविसका किसानले आफूहरु सुर्ती खेतीमा लागेपछि आर्थिक अवस्थामा सुधार भएको बताएका हुन् । पाँच वर्ष पहिलेसम्म परम्परागत अन्नबाली मात्र लगाउँदा अपेक्षित उत्पादन नभएर जीवन धान्न धौधौ परेको बेला सुर्ती खेती गर्न लागेपछि राम्रो आम्दानी हुन थालिएको यस क्षेत्रका किसानको भनाइ छ । कम सिंचाइमा पनि उत्पादन लिन सकिने र भण्डारण एवं प्याकिङ्गको काम गर्न घरपरिवारका सदस्यले भ्याउने भएपछि सुर्ती खेतीले आफ्नो बस्तीमा प्रमुख बालीको स्थान लिएको पडौल–४ का अघनु पासवानले बताउनुभयो ।
थोरै मात्र व्यक्तिको संलग्नतामा गर्न सकिने खेतीले गर्दा रोप्ने र गोड्नेबाहेक अन्य काममा श्रमिक नपाउँदा पनि खेतीमा खासै अप्ठ्यारो नपरेको किसानको भनाइ छ । यादव, कोइरी, मुसलमान र पासवान जातिको बाहुल्य भएको यी गाविसमा सूर्ती खेतीबाट मनग्गे आमदानी हुन थालेपछि नानीहरुको शिक्षादीक्षामा पनि अभिभावकले ध्यान दिन थालेका छन् । यसअघि शिक्षादीक्षाको कुरामा निकै पछि परेका मुसलमान समुदाय र पासवान जातिका दलितले पनि अब छोराछोरी पढाउन थालेको धमौरा गाउँका बासिन्दा एवं नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष सुशीलकुमार यादवको भनाइ छ । आफैं प्रधानाध्यापक रहेको धमौरा–४ को निम्नमाध्यमिक विद्यालयमा अहिले पढ्न आउने नानीहरुमा पासवान र मुसलमानका छोराछोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको यादवले बताउनुभयो । धमौरामा करिब हाराहारी ५० बिग्घाको जग्गामा सुर्ती खेती हुने गरेको त्यहाँका किसानको भनाइ छ । प्रतिकठ्ठा (२० कठ्ठाको एक बिग्घा) १२५ किलोसम्म उत्पादन हुने सूर्तीबाट राम्रो भाउ पाउँदा एक कठ्ठाबाट २५ हजारसम्म आम्दानी भएको धमौरा– ४ का बासिन्दा बासुदेव पासवान बताउनुहुन्छ । भाउ केही खस्कँदासमेत २० हजारभन्दा नघटेको उनीहरु बताउँछन् । पडौल र बनौटामा पनि ५० बिग्घाको हाराहारीमा सुर्ती खेती रहेको बनौटा गाविसका निवर्र्तमान अध्यक्ष तथा किसान विजयकुमार महतोले जानकारी दिनुभयो । खेती गर्नेको सङ्ख्या र क्षेत्रफलसमेत बढ्दै गएपछि भारतीय व्यापारीले घरमै आएर सुर्ती लगिदिएपछि बजार खोज्ने झण्झट हराएको किसानले बताएका छन् । यसपाली भने बन्द र हड्तालले गर्दा सूर्तीको बीउ, मलखाद र सिंचाइमा समस्या भने झेल्नु परेको किसानको भनाइ छ । पछिल्ला दिनमा यी गाविसबस्तीको देखासिकीबाट हतिसर्वा, बलवा, खुट्टापिपराढी, बदियावनचौरी र सरपल्लोलगायतका छिमेकी गाविस बस्तीमा समेत त्यहाँका किसानले सुर्ती खेती गर्न लागेका छन् । आफ्नो बस्तीमा ब्यापक सुर्ती खेती भए पनि सरकारी कृषि विभागबाट कुनै राय सल्लाह, प्राविधिक सहयोग, परामर्श र अन्य अवसर नपाएको किसानले गुनासो गरेका छन् । यता जिल्ला कृषि विकास कार्यालय महोत्तरीले भने किसानहरु बीउबिजन र अन्य कुनै परामर्श सहयोगका लागि आफ्नो सम्पर्कमा नआएको जनाएको छ । कार्यालयका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले आफूहरु नियमित रुपमा बिज्ञसहितको टोली लिएर जिल्लाका विभिन्न भेगका पकेटबाली क्षेत्रको अनुगमन र किसानसँग अन्तरक्र्रिया गर्ने योजनासाथ लागिपरेको बताउनुभएको छ । पछिल्लो समयमा सुर्ती खेतीबाट मनग्गे आम्दानी भए पनि आफ्नो उत्पादन भारतीय बजारमा आश्रित रहेको किसानको गुनासो छ । उत्पादनको मूल्यमासमेत आफूहरुको इच्छा, सहभागिता र परामर्श नरहने हुँदा यो सबै भारतीय व्यापारीमा भर पर्नुपर्ने स्थिति रहेको बनौटाका किसान जगतनारायण महतोले बताउनुभयो । आफ्नो जिल्लामा यसको बजार नरहेको र उत्पादन लिनेदिनेबारे कुनै कबुलियत नबन्ने हुँदा भारतीय व्यापारीको दयामायामा नै सुर्ती बिक्रीको कुरा निर्भर रहेको किसान बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: