Tuesday, December 11, 2018
Home > विचार/अन्तर्वार्ता > ठूला दलको स्पेस अब नयाँ शक्तिले पाउँछ : डा.मिश्र

ठूला दलको स्पेस अब नयाँ शक्तिले पाउँछ : डा.मिश्र

Dr pravin
डा.प्रवीण मिश्र । नेपाल सरकारका पूर्वप्रशासक र कुशल चिकित्सक । निजामती प्रशासनमा निर्भिक, निडर र चट्टानी व्यक्तित्वका रुपमा आफ्नो परिचय स्थापित गर्नुभएका डा.मिश्र देशको बदलिँदो घटनाक्रमसँगै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँशक्तिमा संलग्न हुनुभएको छ । नयाँशक्तिको सन्देश लिएर केही दिनयता पहिलो चरणको देश दौडाहामा आफ्नो प्रखर, प्रभावशाली र तर्कपूर्ण वाकशैलीले विशिष्ठ र मौलिक परिचय बनाउनुभएका उहाँसँग मौजूदा राजनीतिक परिस्थिति र राजनीतिमा उहाँको संलग्नताबारे सञ्चारकका लागि अनिलकुमार कर्णले कुराकानी गर्नुभयो । प्रस्तुत छ , कुराकानीको सारसंक्षेप ।

तपाईंको जीवनको महत्वपूर्ण कालखण्ड सरकारी सेवामा उच्चाधिकारीका रुपमा व्यतित भयो । अचानक कसरी राजनीति गर्ने निर्णयमा पुग्नुभयो ?

  • यस्तो छ कि विद्यार्थी राजनीतिमा मेरो रुचि र संलग्नता सुरुबाटै थियो । राजनीतिक पारिवारिक पृष्ठभूमिले गर्दा पनि मेरो सोच, संस्कार र स्वभावमै राजनीतिक प्रक्रिया र यसका प्रभावहरुलाई आकलन गर्ने सुझबुझ थियो । नेपाल सरकारको सचिवका रुपमा पाँच वर्ष काम गरिसकेपछि अहिले म काठमाडौं विश्वविद्यालयमा प्राध्यापकका रुपमा कार्यरत छु । तर पछिल्लोपटक नेपालको राजनीतिलाई लिएर मभित्रको गम्भीरता र संवेदनशीलताको कारण भने मधेश आन्दोलनका घटनाक्रमरु नै हुन् । वर्षौदेखि उत्पीडन, बहिष्करण र अन्यायमा परेका मधेशी जनता जब देशमा जारी संविधानले आफ्ना हकअधिकार, सम्मान र प्रतिष्ठाको तेजोबध भयो भनेर आन्दोलन गरे त्यतिबेला ती मागहरुलाई सरकारले धीरता, संयमता र गहनातापूर्वक केलाएर सम्बोधन गर्नुको साटो आन्दोलनलाई निस्तेज पार्न दमनमा उत्रियो । लोकतान्त्रिक मूल्य, मान्यता र मर्यादाविपरित सरकार आफ्नै नागरिकविरुद्ध हत्या र हिँसामा उत्रिएपछि मलाई असाध्यै चिन्तित र दुःखी बनायो । प्रजातन्त्रमा आफ्ना अधिकारका लागि आवाज उठाउने अधिकार सबै जनताको हुन्छ । यसलाई प्रजातन्त्रको सुन्दर पक्षको रुपमा संसारभरि नै परिभाषित गरिएको छ । तर देशको लोकतान्त्रिक तथा गणतान्त्रिक सरकार भनाउँदाले जसरी तानाशाही शैलीमा क्रुरतापूर्वक आन्दोलनलाई दबाउने दुष्प्रयत्न ग¥यो यसले मलाई पनि छोएको हो । सरकारको यस्तो कृत्यबाट के प्रष्ट भयो भने देशमा प्रजातन्त्र सही ढंगले अघि बढेको छैन । नेतृत्वले प्रजातान्त्रिक विधि र अभ्यासलाई आत्मसात गर्न सकेका छैनन् । यस्तो विषम परिस्थितिमा प्रजातान्त्रिक प्रक्रिया र आचरणलाई बुझ्ने व्यक्तिहरु राजनीतिमा नआउँदा लोकतन्त्रको स्थायीत्व र यसको प्रतिफल आमजनतामा पुग्न सक्दैन भने मलाई बोध भयोे । र, यी घटनाका बीचमा मलाई मेरा असँख्य शुभचिन्तकहरुले तपाईंजस्ता व्यक्तिलाई राजनीतिमा आउनुपर्छ भन्ने कर र आग्रह गर्नुभयो । उहाँहरुको भनाइ थियो–देशको राजनीतिलाई सुपथगामी बनाउन तपाईंजस्तो व्यक्तिको आवश्यकता छ ।
    अर्को दोस्रो कुरा, प्रजातन्त्रले जनतामा चित्तबुझ्दो, प्रभावकारी र परिणाममुखी सेवा प्रवाह गर्नुपर्छ । अर्थात् आउटपुट दिनुपर्छ । गत पच्चिस वर्षको अवधिमा सन्तोषप्रद ढंगले देश चल्नसकेको छैन । देशलाई गतिशील तरिकाले विकासको मूलप्रवाहसँग जोड्ने काम कुनै पनि प्रजातान्त्रिक सरकारले गर्न सकेनन् । आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थ, साँघुरो घेरामा अल्झिने संकीर्णता र नातागोतावादकै प्रबृत्तिले राजनीतिक नेतृत्वलाई गाँजिरह्यो । जसले गर्दा देशमा लोकतन्त्रले स्थायीत्व पाउन सकेन । जनताका आधारभूत इच्छा, आकांक्षा र आशा प्रतिफलित हुन सकेन । यस्तो अष्ठ्यारो र जटिल परिस्थिति पनि एउटा कारक हो मलाई राजनीतिमा संलग्न हुन । कर्मचारीतन्त्रका उउटा हिस्सा हुँदा अझ भनौँ सरकारका सचिवका रुपमा पाँच वर्ष काम गर्दा मेरो सोच र कार्यशैलीलाई नियाल्ने धेरैजनाले मलाई राजनीति गर्नुपर्ने सुझाउन’शभयो । धमिलिएको राजनीतिलाई स्वच्छ बनाउन र राजनीतिमा सुशासनको पद्धतिलाई स्थाापित गर्ने कुरालाई ध्यानमा राखेर राजनीतिको यात्रामा लागेको छु ।

देशमा धेरै राजनीतिक दलहरु छन् । तर मूलभूतरुपमै तीमध्ये अधिकांश दलहरु विफल छन् । यी दलहरुका कामकाजबाट जनता सन्तुष्ट छैनन् । नत यिनका प्रयासले देशले विकासको बाटो समात्न सकेको छ । राजनीतिक प्रयासबाट आमजनताको चाहना प्रतिध्वनित र प्रतिफलित हुनुपर्छ । तर यसविपरित अहिलेसम्म ती दलहरुका कार्यशेलीले आमजनतालाई क्षुब्ध बनाएको छ । यसै बीचमा डा. बाबुराम भट्टराईको नयाँशक्तिको अभियान पनि आयो । मैले सोचेअनुसारको राजनीति यस प्लेटफर्मबाट अगाडि बढाउन सकिन्छ भन्ने सोचले नै यसमा आबद्ध भएको छु ।

राजनीति गर्नेहरु त जनतासँग प्रत्यक्षतः नजिक हुन्छन् । तर तपाईं सरकारी उच्चाधिकारीका रुपमा एउटा साँघुरो घेरामा सीमित काम गरेर जीवनका अधिकांश समय बिताउनुभयो । यस्तोमा जनतालाई आफूसँग कसरी जोड्नु हुन्छ ?

  • म सचिव हुनुभन्दाअघि एउटा चिकित्सकका रुपमा जनताका माझमा परिचय स्थापित गरिसकेको थिएँ । चिकित्सककै रुपमा जनतासँगको मेरो आत्मीय र निकट सम्बन्ध भइसकेको थियो । उहाँहरुको मप्रतिको सदभाव र स्नेह विछट्ट छ । स्वास्थ्य क्षेत्रको दायरा निकै फराकिलो छ । स्वास्थ्य सचिव वा स्वास्थ्यकर्मीका रुपमा काम गरिरहँदा पनि धेरै जनतासँग सम्बन्ध बिस्तार गर्ने औसर पाएँ । मेरो स्पष्ट सोच, पारदर्शी कार्यशैली र महत्ता तथा आवश्यकताका आधारमा निर्भिकतापूर्वक निर्ण गर्नसक्ने क्षमताका कारण ती जनताले मलाई धेरै नै माया गरेका छन् भन्ने अनुभूति मैले गरेँ । अब उहाँहरुले नै परिवर्तनका लागि मलाई राजनीतिमा आउनुपर्छ भन्ने कुरा गर्नुभयो । र, म राजनीतिमा आउने निर्णय पनि गरेँ । यसमा मौका पाए र कार्य गर्दै गएँ भने एउटा समर्पित कार्यकर्ताका रुपमा पनि आफ्नो निष्ठापूर्वक कर्म गर्ने राजनीतिकर्मीका रुपमा परिचय बनाउने छु ।

तपाईले राजनीतिमा आफूलाई सहयोगी चिन्तकका रुपमा स्थापित गर्नुभएको छ कि सक्रिय कर्ताका रुपमा ?

  • म कम उमेरमै सेवा निवृत्त भएँ । ५१ वर्षमा । अहिले म ५२ वर्षको छु । तर मसँग लामो प्रशासनिक अनुभव छ । सक्रियतापूर्वक काम गर्ने उमेर र क्षमता पनि । त्यसैले म आफूलाई सबै परिस्थितिका लागि तयार रहेको पाउँछु । अब कसरी बढ्ने भन्ने कुरालाई त समय, काल र परिस्थितिले निक्र्योल गर्छ ।

भनेपछि तपाई चुनावी राजनीतिमै हाम फाल्न खोज्नुभएको हो ?

  • समय आएपछि त्यसका लागि पनि तयार छु । तर यस्तो निर्णयको आधार भने देश र समाजको आवश्यकता हुनेछ । मेरो ध्येय भनेको चुनावी राजनीतिको माध्यमले सत्तामा पुग्नु चैँ होइन । सत्ताको मोह मभित्र रत्तिभर छैन । चुनाव नलडेर पार्टीभित्रका अर्को जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ । एउटा पूर्वप्रशासकका रुपमा मैले सबैखाले शक्ति र कमजोरी तथा चुनौति र अवसरलाई बुझेको छु । त्यसैले म आफूलाई जुनसुकै उपयुक्त कामका लागि तयार राखेको छु ।

तपाई पारिवारिक राजनीतिक र व्यक्तिगत पृष्ठभूमिकै कारण पनि अन्य ठूला दलहरुमा संलग्न हुन सक्नु हुन्थ्यो तर नवगठित नयाँशक्तिमा जानुभयो । कतै अन्य दलले आफूलाई स्वीकार गर्ने आत्मविश्वासका कमीका कारणले त होइन ?

  • त्यसो होइन, किनकी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा विभिन्न ठाउँबाट अफर नआएका होइनन् । तर मलाई यस कुराको हेक्का थियो कि ती दलहरुले गर्नसक्ने कुनै पनि काम गरेनन् , जुन काम जनताका हितका लागि अपरिहार्य थिए । व्यक्तिवादी, परिवारवादी र एउटा घेराभित्र अल्झिने प्रबृत्तिलाई प्रश्रय दिए । देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने इच्छाशक्ति भएको पाइनँ ती दलहरुमा । प्रमुख दलहरुले त मधेश आन्दोलनलाई दबाउन जुन नकारात्मक भूमिका निर्वाह गरे यसले पनि मलाई ती दलहरुप्रति विश्वास भएन । उहाँहरुले साँच्चिकै केही गर्नुहुन्छ भन्ने विश्वास भएन । देशलाई समस्याको भुवँरीमा पारिाख्ने अनि आफ्नो दुनो सोझ्याउने ती दलहरुका प्रबृत्तिका कारण पनि आज जनतामा वितृष्णा फैलिएको छ । देश अशिक्षा, गरीबी र पछ्यौटेपनबाट उब्रिन सकेको छैन । म यसबीचमा धेरै ठाउँमा पुगेँ । जनताका समस्या र गुनासाहरुलाई नजिकबाट साक्षात्कार गर्ने अवसर पाएँ र एउटा निष्कर्षमा पुगेँ कि परम्परागत राजनीतिक शक्तिले अब जनताका आधारभूत मागलाई सम्बोधन गर्न सक्दैन नत देशलाई नै उँभो लगाउन सक्छ । परिवर्तनका लागि दृढ इच्छाशक्ति र उदार सोचका आधारमा निर्देशित हुने संरचनाको आवश्यकता महसूश गरेँ । सामाजिक न्याय, समानता। सहभागिता र समानुपातिक ढंगले मुलुकको विकास गर्ने कुरामा पुराना दलहरु चुकेको पाएँ । अझ जनताका आवाजलाई दबाउने र अन्याय थोपर्ने प्रबृत्ति पाएँ ती दलहरुमा । त्यसैले नयाँ अवधारणा, सोच र कार्यशैलीबाट अघि बढ्ने नयाँ शक्तिमा संलग्न हुने निर्णयमा पुगेँ ।

तर  तपाईका लागि विकल्पका रुपमा परिवर्तकारी शक्ति मधेशवादी दल पनि त थिए नि । यस विकल्पलाई तपाईंले किन रोज्नुभएन ?

  • मैले जुन नेपालको कल्पना गरेको छु । सोचेको छु । त्यसका लागि राष्ट्रिय चासोको पार्टी आवश्यक छ । क्षेत्रीय पार्टीले सम्भव छैन । म अझ भन्छु, मधेशकै विकासका लागि पनि राष्ट्रिय चासोकै पार्टीको जरुरत छ । विकासको कार्ययोजना र बिजेट विनियोजनका लागि त शक्तिशाली र निर्णायक शक्ति केन्द्रमा हुनुपर्छ नि । राष्ट्रिय कार्यक्रममा पनि मधेश विकासको रुपरेखा अँटाउनुपर्छ । नयाँ शक्तिले हिमाल, पहाड र मधेश तीनओटै भूभागको प्रतिनिधित्व गर्छ । तीनओटै भेगका सामथ्र्यलाई उपयोग गरेर सबैतिरको विकासले नै देशको भविष्य बन्छ । मधेशको विकासले नेपाल आर्थिकरुपमा मजबूत बन्नेछ भने मधेशकै सामथ्र्यबाट हामी हिमाली र पहाडी क्षेत्रको विकासमा बल पुर्याउन सक्छौं । हिमाल र पहाडको सहकार्यले समृद्ध र सम्पन्न मधेशको आधारशिला तयार गर्नसक्छौं । नयाँशक्ति आर्थिक क्रान्तिलाई मजबूत कडीको रुपमा लिएको छ । सहभागितामूलक, समावेशी समुन्नत , समावेशी र सामाजिक न्यायका आधारमा आर्थिक परिवर्तनमा जाने सोच लिएको शक्ति हो यो । उत्पीडन, सामाजिक अन्याय र विभेदमा परेकाहरु लागि लडिरहने यस शक्तिले ग्रासरुटका जनताका आकांक्षाअनुसार देशलाई अगाडि बढाउने हो । म सामाजिक न्यायको पक्षधर, प्रजातान्त्रिक मूल्य र मान्यतालाई अक्षरशः आत्मसात गर्ने र विकासको कार्ययोजनालाई जनताका आवश्यकताअनुरुप पादरर्शी ढंगले बढाउने शक्तिको रुपमा नयाँशक्तिलाई लिएको छु । त्यसैले यसमा संलग्न भएको हुँ ।

भनिन्छ, नयाँ शक्ति त नयाँ बोतलको पुरानै रक्सी हो रे ?

  • मलाई नयाँशक्तिको नेतृत्व गर्ने डा.बाबुराम भट्टराईको सोच, विचार र व्यवहारबाट यस्तो लागेन । नयाँ अवधारणा र नयाँ अनुहार भएकाहरुको यो शक्ति विश्वासिलो छ । यदि यो शक्ति पनि भोलिका दिनमा विचलित भयो भने सच्चयाउनुपर्छ । सच्चिएन भने यसमा पनि हामी बस्नुको औचित्य रहँदैन । तर अहिले यस्तो सोच्नु हतार हुनेछ । विश्वास गर्नुस, यथास्थितिवादीहरभन्दा यो साँचिचकै फरक हुनेछ ।

भनिन्छ, नयाँ शक्तिमा संलग्न भएकाहरुमा आधिकांश राजनीतिक मूलाधारबाट अलग्गिएका र काम नपाएर भौतारिएकाहरु छन् ?

 

  • मलाई लाग्दैन कि नयाँ शक्तिमा काम नपाएका र भौतारिएकाहरु छन् । देश विकासको एउटा नयाँ रणनीतिलाई कार्यान्वयन गर्ने अनुभवी, सिपालु र बेदागीहरु छन् यस शक्तिमा । जोहरुसँग सिर्जनात्मक उर्जा र सार्थक काम गर्ने कुशलता छ । केही गर्नुपर्छ भन्ने आँटिलाहरु हुनुहुन्छ । तर पहिलो दिनमै सबैथोक हुन्छ र सबैजना यसमा सम्मिलित हुनुपर्छ भन्ने छैन । अहिले धेरै ठूलो समूह भइसकेको छैन् । क्रमिकरुपमा ठूलो सँख्यामा व्यक्तिहरु इसमा आबद्ध हुनेछन् । तर अहिले पनि नयाँ सोच भएका र नयाँ अनुहार भएकाहरु छन् । परिवर्तनकारी जनताका चाहनाको संवाहकका रुपमा आएका छन् यसका अभियन्ताहरु ।
    कुनै बेला चुटकीमा र कुनै बेला मुठ्ठीमा चल्ने राज्यससत्तालाई सहभागितामूलक बनाएर व्यापक बनाउने अभियान सुरु हुँदा धेरै शक्तिहरु आत्तिएका छन् । त्यसैले यस शक्तिमाथि धेरै प्रहार छ । राजनीतिकदेखि सञ्चारबृत्तसम्म आलोचना गर्नेहरु छन् । हामीले यसलाई हाम्रो सशक्त उपस्थितिले अरुहरुलाई पुगेको धक्काका रुपमा लिएका छौं । यस्तो हाम्रो चुनौतिलाई बढाएको छ ।

तपाई पटकपटक सामाजिक न्यायको कुरा गरिरहनुभएको छ । ठूला दलहरुले मधेशको सबैभन्दा पीडा स्थानीय जमिनदारहरुको हालीमुहालीलाई नै बताउँदै आएका छन् । राजनीतिमा तपाईंको उपस्थिति पनि कतै एकजना जमिनदारको प्रभाव बिस्तारको रुपमा त भएको होइन ?

  • मैले होस सम्हाल्दा मधेशमा जमिनदारी प्रथा थिएन । मेरो बुवा आफैँ पनि कुशल चिकित्सक हुनुहुन्थ्यो । उहाँमा जमिनदारीको जलप पाइँन । म राजतन्त्रका विरुद्ध विद्यार्थीकालबाटै लडेँ । सामाजिक न्यायका पक्षमा भएका सबैखाले आन्दोलन र विद्रोहहरुमा मेरो व्यक्तिगत र पारिवारिक संलग्नता रह्यो । प्रजातान्त्रिक ढंगले राज्यसत्ता सञ्चालन हुनुपर्छ भन्ने मेरो मान्यता रहँदैआयो र यसको चर्को वकालत मैले गर्दै आएँ । सामाजिक न्यायलाई शब्दमा होइन व्यवहारमा उतार्नुपर्छ भन्ने मेरो बुझाइले गर्दा नै होला म सधैँभरि उत्पीडनमा परेका जनताहरुको पक्षपोक्षण गर्थे । म प्रशासकका रुपमा पनि सही कामका लागि मन्त्रालयको राजनीतिक नेतृत्वका अगाडि अडान लिन्थे । दलहरुले सामाजिक न्यायका कुरा गरे, नेताहरुले सामाजिक न्यायलाई भाषणका मुख्य विषयवस्तु बनाए । तर व्यवहारमा भने उनीहरुले सामाजिक न्यायलाई उपेक्षा गरेर जनतालाई दच्काए । त्यसैले गर्दा अहिले आएर ती दलहरुको सामाजिक आधार खस्किँदैगएको छ । राजनीतिक दलले राजनीतिक धर्म र पत्रकारले पत्रकारिताको धर्म निर्वाह गरेनन् , बरु सक्दो बेइमानी गरे । ठूला दलहरुले देशलाई बिर्सेर समुदाय र क्षेत्रविशेषको राजनीति गर्न थाले । मधेशबाट भोट लिने तर मधेशी जनतासँग बेइमानी गर्ने, आफ्ना हकअधिकारका लागि आवाज उठाउने जनतालाई दमन गरेर मुखमा बुजो लगाउने र प्रताडनालाई अझ कसिलो बनाउँदै लैजाने काम गरे ती दलहरुले । म त यस प्रबृत्तिको विरुद्धमा रुपान्तरणका लागि राजनीतिमा आएको हुँ । जमिनदारी भन्ने शब्दको मेरो जीवनमा कुनै प्रभाव छैन ।

साँच्चिकै, मधेश आन्दोलनको बारेमा नयाँशक्तिको धारणा के छ ?

  • मलाई लाग्छ , यस विषयमा बाबुरामजी र नयाँशक्ति प्रष्ट छन् । अन्तरिम संविधानले सुनिश्चित गरेका अधिकारहरुको कटौती गरेर संविधान जारी भइसकेको अवस्थामा आफ्ना हकअधिकारलाई पुनसर््थापित गराउने मधेशी जनताको आन्दोलन विभेदका विरुद्धमा हो । हामीले पनि संविधानमा विभेद गर्न पाइँदैन भन्ने कुरा भनिरहेका छौं । मधेशले त कुनै कालमा प्रधानमन्त्री पाएको छैन । तर पूर्वप्रधानमन्त्रीहरुमध्ये बाबुरामजीलाई हामीले मधेशी जनताका हकअधिकारको वकालत गर्ने र मधेशी जनतासँग कदममा कदम मिलाएर अघि बढ्ने व्यक्तित्वका रुपमा पाएका छौं । मधेशप्रतिको उहाँको सदभावलाई मधेशी जनताले पनि बुझेका छन् । हामी सामाजिक र प्राकृतिक न्यायविपरित जारी संविधानका विरुद्धमा मधेशी जनताको आवाजसँगै छौं ।

आन्दोलनलाई अहिले सुरक्षित अवतरण गराउने प्रयासहरु भइरहेका छन् । यसबारे तपाईहरुको बुझाइ के छ ?

  • सुरुमा सत्तारुढ दलहरुले आन्दोलनलाई हत्याहिँसाका भरमा दबाउन खोजे र यसलाई बदनाम गराएर निस्तेज पार्न अन्यत्रबाट परिचालित भएको आरोपलाई पनि स्थापित गर्न खोजे । प्रधानमन्त्री स्वयं नै नाकाबन्दीको कुरा गरेर आन्दोलन भारतसमर्थित भएको आरोप लगाए । यो हतकण्डाले कुनै काम लागेन । कामतर अन्तर्राष्ट्रिय जगतमै सरकार नाङ्गोझार भयो । देशमा जारी संविधानलाई छिमेकीलगायत कुनै पनि राष्ट्रले हृदयले स्वागत गरेनन् । अनि त्यसपछि मात्र आन्दोलनलाई सुरक्षित अवतरण गराउने ध्याउन्नमा सरकार लागेको छ । तर समस्या नीतिभन्दा नियतको छ । व्यवहार र कर्ममा सरकार प्रष्ट छ जस्तो मलाईं लाग्दैन । सत्तारुढ दल अहिले पनि विभिन्न किसिमका जालझेल र प्रपञ्च गरेर मधेशी जनताका अधिकारलाई कटौती गर्न चाहेका छन् । समानुपातिक समावेशी र सहभागितामूलक शासनपद्धति र समतामूलक सहकार्यका आधारमा देश विकास गर्ने उद्देश्यलाई केन्द्रमा राखेर मधेश आन्दोलनलाई सुरक्षित अवतरण गराउनुपर्छ । तर यसमा सत्तारुढ दलहरुको नियत म प्रष्ट हेदिनँ ।

नयाँ शक्तिको अबका कार्यक्रमहरु के के छन् ?

  • औपचारिकरुपमा नयाँशक्तिलाई राजनीतिक दलमा परिणत हुन बाँकी छ । हाम्रो निर्देशक सिद्धान्तहरुमा समुन्नत, समावेशी , समातामूलक र सहभागितात्मक देशलाई अघि बढाउने कुरा छ । देशले पच्चिस वर्षमा जुन दुर्गति भोग्यो, त्यसबाट उबार्न आर्थिक क्रान्तिको आधारशिला तयार गरेर छिटोभन्दा छिटो देशलाई अति कम विकसित देशबाट विकासशील हुँदै विकसित देशमा परिणत गर्ने तर्फ हामी अग्रसर हुनेछौं । सबैको बराबरी अधिकार र अवसरमा पहुँचबाट यस्तो लक्ष्य प्राप्त गर्न सकिन्छ भन्ने कुरामा हाम्रो दृढ विश्वास छ । हाम्रो देश कृषि प्रधान हो भन्ने कुरा म सानैदेखि सुन्दै आएँ । तर कृषि क्षेत्रलाई कहिल्यै प्राथकितामा प्रधान बनाइएन नत प्राथमिकतामा नै राखियो । देशमा हरित क्रान्ति आवश्यक छ । यसका लागि पूर्वाधार चाहिन्छ । साधनस्रोतको आवश्यकता पर्छ । औद्योगिक क्रान्तिका लागि पनि यी कामहरु गर्नुपर्ने हुन्छ । सेवा प्रवाहको गुणस्तर र तीब्रतासँगै स्वरोजगारको चुनौति पनि छ देशमा । तर यी जम्मै कामहरु गर्नका लागि मुलुकमा शान्ति र स्थायीत्व चाहिन्छ । यसका लागि जनअसन्तोषलाई सम्बोधन गर्नुपर्ने हुन्छ । सामाजिक न्यायको सुनिश्चितताले नै यसो हुनु सम्भव छ । नयाँशक्तिले मौका पायो भने राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक न्यायलाई जनतामा प्रत्याभूत गराएर देशलाई समृद्धिको बाटोमा अग्रसर बनाउनेछ ।

तर नयाँशक्तिले नै खाली स्पेसलाई कसरी ओगट्न सक्छ ?

  • मधेश आन्दोलन कुनै पनि दलको नभएर मधेशी जनताको आन्दोलन हो । आन्दोलनमा जनताको संलग्नतापछि मधेशकेन्द्रित दलहरुले मोर्चा वा गठबन्धन बनाएर सडकमा पुगेका हुन् । ६२ र ०६४ को पृष्ठभूमिबाट मधेशी दलहरु सत्तामा आए । तर मधेशी जनताका चाहनाअनुरुप आन्दोलनबाट स्थापित मागहरुलाई संस्थागत बनाउने कामलाई पूर्णता दिन सकेनन् । राजनीति केवल सत्तामा जानु होइन नि । विगतको मधेश आन्दोलनमा ५४ जना मारिएका थिए आज अभी ५८ जनाको मृत्यु भएको छ । विगतमा स्थापित कुराहरु हामीबाट लुछिए । उनीहरुको सहादतमा र ती सबै कुराहरु लुछिनुमा मूलभूतरुपमा ठूला दलहरु जिम्मेवार छन् र दोषी पनि । अब काँग्रेस, एमाले र एमाओवादीका लागि मधेशमा स्थान छैन । यसलाई वैकल्पिक शक्तिका रुपमा भर्न मधेशी जनताहरु पनि उत्सुक छन् । मैले पहाडका जिल्लाहरुलाई पनि नजिकबाट नियाले । मधेशीहरुको धेरै शोषण भएको छ तर ठूला दलहरुले पहाडी र हिमालीहरुलाई पनि शोषण गरेको छ । पहिले पञ्चायती व्यवस्थामा चुट्भर मान्छे थिए जसले देशको शोषण गरिरहेका थिए र मधेशको पनि । आज लोकतन्त्र वा गणतन्त्रमा पनि मुठ्ठीभर मान्छे छन् जसले शोषण गरिरहेका छन् । पहिलो तहमा चालिसदेखि पचासजना छन् । दोस्रो तहमा चार सयजनादेखि पाँचसय जना छन् । तेस्रो तहमा चारहजारबाट पाँच हजार जना छन् । जोहरु गत पच्चिस वर्षबाट देशको शोषण गरिरहेका छन् । पहाडमा पनि गरीबी छ । यी व्यक्तिहरुले सबैभन्दा बढी मधेशीहरुको शोषण गरेका छन् तर पहाडी और हिमालीलाई पनि बाँकी राखेका छैनन् । उनीहरुले रगत चुस्ने काम गरिरहेका छन् । उनीहरुले कहिल्यै पनि चाहँदैनन् कि मधेशी, जनजाति र पछिडिएकाहरुलाई आफ्नो अधिकार प्राप्त होस भनेर । यिनीहरुले नै रक्तरिञ्जित संविधान ल्याए । संविधान आउने दिन कालो दिवस नै रहन्छ । मधेशीमाथि दमन भइरहेको बेला र आन्दोलनलाई बदनाम गराएर तुहाउने षड्यन्त्र भइरहेको बेला कसैले केही बोलेनन् । यस पृष्ठभूमिमा एउटा राजनेता चाहिएको छ । नेपालको सही तस्बीर देखाउने मधेश बनाउन र हिमाल तथा पहाड बनाउन । देशलाई एउटा सुन्दर राष्ट्र बनाउन । डा. बाबुराम भट्टराई यसका लागि एकजना सुयोग्य पात्र हुनुहुन्छ । विषयवस्तुलाई गम्भीरतापूर्वक बुझ्ने र कार्यान्वयनका लागि इमानदारी प्रयत्न गर्ने दूरदर्शी व्यक्तित्व हुनुहुन्छ उहाँ । यस अर्थमा नयाँ शक्तिका रुपमा हामीले देशमा एउटा राजनेता प्राप्त गरेका छौं । मलाई लाग्छ अब देशमा ठूला दलहरुको साँघुरिँदै गएको स्पेसलाई हामीले ओगटने छौं ।
    प्रजातन्त्रमा संसदलाई मन्दिर मानिन्छ । तर मन्दिरका पूजारीहरुले मन्दिरलाई नै मजाक बनाइ दिए दुई दिनमा २६२ धारा पारित गरेर । पाँचजनाको मुठ्ठीमा कैद भयो प्रजातन्त्रको मन्दिर । अब यसलाई सही अर्थमा जनताको आस्था र विश्वासको केन्द्र बनाउनु छ । जसका लागि जनताका आवाजलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने हुन्छ । नयाँशक्तिको यस्तै महतवपूर्ण कुराहरुमा ध्यान केन्द्रित हुनेछ ।
%d bloggers like this: